मन परे लाइक

Sunday, January 8, 2012

आमा र सन्तानहरू



आमा र सन्तानहरु
सुदुर पहाडको एक थुम्कोमा
शुक्रतार उदाएहोला
आमाले झिसमिसे भन्दा दुई प्रहर पहिल्यै
अँगेनामा कुँडो बसाल्दै होलिन्
पुत्ताउँदै होला पानीसाजको दाउरो
आमाको आँखा पीरो पार्दै ।

एउटा ताराले बोकेर आउँछ सधै भुक्भुके उज्यालो
एउटा भालेको डाँकोले गर्छ नयाँ दिनको स्वस्ति
एउटा आटोको फत्कोले ल्याउँछ प्राणको सञ्चार
उकाली ओरालीले खोस्छन् पैतालाका छालाहरु ।
जुनकिरीको पिलपिल त हो रातको उज्यालो
झ्याउँकिरीको झ्याउँझ्याउँ त हो संगीतको आनन्द
भालेको डाँक त हो घण्टाघरको घडी
तर पनि मेरी आमा गुनासो गर्दिनन् ।

“बलेनी थाप्नुपर्छ बाबै !
पँधेरा पुग्दा त दुई प्रहर बित्छ
साउनमा थोरे पाडी व्याउला
गोरससँग निलिएका आटो
खाओ बाबै हो चारपाँच महिना नूनसितै खाओ ।”

हामी साउन आउने दिन औंला भाँच्दै गन्छौं
हरेका पटक थोरेपाडी
कि ब्याउनै नसकेर मर्छ
कि त बिगौती खान नपाउँदै साहूले दाम्लो फुकाउँछ

आमा अर्को पाडी हुर्काउँछिन्
हामी पाडी ठूलो भएका र एकदिन व्याएको कल्पनामा
नूनको ढीको लसक्क पिस्छौं र आटोको डल्लो कुप्लुक्क निल्छौं
एउटा जीवन यसरी शुरु हुन्छ र
एक पछि अर्को आशाको त्यान्द्रोमा कपाल फुलाउँछ र सकिन्छ ।



हाम्रै नाममा देशमा परियोजना बन्छन्
केही पढैयाहरुको गरिबी निवारण हुन्छ
नेताले घोक्रो फुलाएर भाषण गर्छ
र ल्याण्डक्रुजर चढेर तारे होटल पुग्छ,
र सुरा सुन्दरीमा लुटपुटिन्छ,
धेरैजसो त बापतिले नै शासन गर्छन्

म र मेरी आमा जस्ता त हौं तिनका जनता
जो बोल्न सक्दैनन्
जो बोलेको कसैले सुन्दैनन्
बोल्न सक्ने त उनैका कार्यकर्ता त हुन्
भदैारे छाडा राँगोजस्ता
ती त कहाँ जनता हुन् र
हामी जनताका झ्याउँकीरी आवाजहरू
केवल नदी किनाराको संगीतमा ती आवाज बिलाएर जान्छन्
मेरी आमा भन्छिन्—
“आज त हल्हलेको सागसित कति सइल्लेरी आटो निल्यो ।”

सान सेबाष्टियन, स्पेन
नोभेम्बर २, २०११

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)