मन परे लाइक

Sunday, June 30, 2013

बोक्सी

बोक्सी
''आमा ! तिमीलाई सबैले बोक्सी भन्छन्
बोक्सी कसरी भइन्छ आमा?''

छोरी !
बोक्सी हुन केही गर्नु पर्दैन बा,
दशा लागे पुग्छ,
जुन दिन तेरा बा खसे,
हाम्रा गाँस छिनिए, बास भत्किए
म रातारात बोक्सी भएँ।

अपशब्द, घृणा र आरोपको बर्षामा
म निरन्तर रूझिरहें
रगत भन्दा घाउहरू धेरै भए
आँशु भन्दा डसाइहरू बढ्दै गए
समाजले मेरो वाणी खोस्यो
र म बरबराएँ बिरहका आलापहरू
अनि मान्छेले भने
ल हेर! बोक्सी मन्त्र फुक्दैछे।
बचनका बाणले आहत भएर
अरूको सामुन्ने नपर्न
जब म आधा रातमा
खोलामा पानी भर्न गएँ
तिनले भने-
"देख्यौ ! त्यसले त मसान खेलाउँदै छे।"
एकसरो न्यानो लुगाको अभावमा
एउटा बाक्लो सिरकको अभावमा
आधा उध्रेको छानामुनि
शिशिरको सिरेटोको प्रहारले
जब म जाडोले काम्दै थिएँ
तिनले भने-
"ल हेर ! बोक्सी काम्दै छे।"

रूनुको सीमा पार गरेपछि
जब मेरा आँखा फुस्रा भए
तिनले भने-
"त्यसका आँखा बोक्सीका जस्तै कैला छन्।"
सुहाग खोसिएको कपाल
बिरहको जंगल बनाएर
नकोरी के छोडेकी थिएँ,
तिनले भने-
ल हेर, बोक्सी झाँक्रो फिंजाएर बसेकी छे।

मदिरा मत्त ड्राइभरले
जब गाडी खोलामा खसाल्यो,
बचनका तीर तिनले मैतिर ताके र भने-
''साइतको बेला
त्यै नकच्चरी राँड मुन्टेकी थिई"
जसको आफ्नै साइत
चौबिसै  घण्टा बिग्रेको छ
कहाँ लुकेर तिनका साइत बनाइरहूँ?

कतै लाग्छ, कोही हुनसक्छ बोक्सी भने
म बनूँ र यिनीहरूलाई छानीछानी बदला लिउँ
तर अपसोच,
साँवा अक्षर नचिनेर त मजदूरकी स्वास्नी भएँ
कसरी जान्दी हुँ र त्यो घातकी विद्या?

मेरो स्वर्गवासी खसम्
भन मलाई,
मलाइ बोक्सी बनाउने
यो समाज हो या हो तिमीले खोसेको सिन्दूर?
तिम्रो सिन्दूर यति महँगो हुन्छ भने
अबका बेहुलीले यसको निषेध गरून्
तिमीले दिएको वैधव्य दान भन्दा महंगो भो खसम

तिम्रा सिन्दुरले छाडेको यो वोक्सीको दानप्रतिष्ठा ।

Friday, June 21, 2013

मधुशाला

मधुशाला 

पहिले पहिले
जब साँझ ढल्थ्यो,
धर्मराज- मेरो आत्मिय साथी
मलाई फकाई फकाई भट्टी लैजान्थ्यो
भट्टीकी पुतली साहुनी मसक्क मस्किन्थी
म लाजले रातो हुन्थें,
उसको मुस्कानले मेरो हृदयमा भुईचालो जान्थ्यो
साथी मलाई निशुल्क मदिरा पियाउँथ्यो,
मलाई इज्जतको एक पित्को भए पनि डर थियो ।

अहिले,
म धर्मराजलाई भट्टी लैजान्छु
म पुतलीलाई देखेर मसक्क मस्किन्छु
पुतली उपेक्षाभावले घृणापूर्ण दृष्टि फ्याँक्छे
म लाजलाई एक तुर्को मदिरासँग सुलुक्क निल्छु
मेरो स्वभावले मेरा लालाबालाको हृदयमा भुइचालो जान्छ
मेरो साथी मेरो बारी बेचेको पैसाले मदिरा पिउँछ
मलाई स्वास्नीको बुलाकी बेच्न नपाउँलाकि भन्ने डर छ ।

जब एक प्याला पिउँछु
त्यो प्यालामा प्रतिविम्व हेर्छु
हाँडीमुखे भट्टीकी साहुनी चन्द्रमुखी देखिन्छे
(किनकी ऊ सप्रेम पियाउँछे )
चन्द्रमुखी मेरी स्वास्नी ग्रहणकी जून बन्छे
(किनकी ऊ मलाई टोकसिरहन्छे)
म थुक्छु थुइक्क गर्दै घृणाले
फ्यात्त गर्दै त्यो मेरै तिघ्रामा खस्छ।


टेबुल उही छ
पुतलीले नयाँ सुन्दरी ल्याएकी छे,
उसको भट्टीलाई उज्यालो पार्न
लालटीनको मधुरो प्रकाशमा
म एक घुट्को मदिरा र एक घुट्को थुक पालैपालो निल्छु
म प्रति पुतलीको मुस्कानको आयतन शुन्य बिन्दुमा ओर्लेको छ
मेरो बहीखाताको उर्लंदो अंक हेर्दै
ऊ मेरो च्यात्तिएको खल्ती हेर्छे
र मुखमा अमिलो चूक उमार्छे।

मेरो साथी उही छ
केबल उसको परिजीविपनाको क्षेत्रफल बढ्दो छ
ऊ अहिले मलाई नै सिरानी र डसना बनाउँछ
मेरो कमिज फेरिएको छैन, मेरो सुरुवाल फेरिएको छैन
केबल आँखाको रक्तिमता मात्र फेरिएको छ ।

जब रात ढल्दै जान्छ
दुनियाँ मीठो निद्रामा लुटपुटिन्छ
केवल मेरी स्वास्नीको नींदमा खडेरी पर्छ
गल्लीको बाटो कुकुर भुकाउँदै
जब मेरो पुरुषार्थ घरतिर बढ्छ
संसारिक मोहबाट पर भएर
म नालीमा टाउको घुसाउँछु
कुकुर मेरो गन्हाएको इज्जत सुँघेर
एक तुर्को जलसेचन गर्छन् मेरो कपालमाथि
र शायद आफूलाई म पवित्र पार्छु ।

यी रातहरुमा
मेरी स्वास्नी तारा गनेर आँसु बगाउँछे
छोराछोरीहरु
सपनामा पनि बाबु देखेर झस्किन्छन्
नाङ्गो आकाश मुनि म न्यानो मानेर बेहोसी कटाउँछु
स्वास्नीलाई अँगेनाको आगोको रापले कम पोल्छ बरु
तर म भन्छु, मैले कसको के खाएको छु र ?
त्यही एक फकटो पुख्र्यौली खेत न हो,
त्यही एक कान्लो बारी न हो,
त्यही एक जोर ढुङ्ग्री र पाँच लालको बुलाकी  न हो।

आफ्नो पति परमेश्वर बहुलाएको देखेर
ऊ दिनहुँ गणेशस्थान धाउँछे
गणेशजी सुन्दैनन् किनकी
पूजारीले लड्डु कोचिदिएको छ उनको लामा कानमा
चुप लागेर टोलाउँछन् उनी
किनकि हरेक रात
म  भट्टीबाट फर्कंदै गर्दा
एक घुट्को रक्सी
उनको मन्दिरमा चढाउन भुल्दिन
मेरो चाकरीबाट गणेशजी
प्रसन्न छन् वा वेहोस् छन्
 जे होस् उनी
स्वास्नीको पुकारा सुन्दैनन्


फेरी
अर्को रात खस्छ
सँगै खस्छन्–
छोराछोरीका खुसीहरु
स्वास्नीका आँसुहरु
इज्जतका टुक्राहरु

घरका छानाहरु ।

-भीष्म कुमार भूसाल 
योकोहामा, जापान 
२०६४ भाद्र १४ 

Popular Posts (लोकप्रिय रचनाहरू)