मन परे लाइक

Sunday, April 8, 2012

बालकथा- आमाको माया


आमाको माया
हिजोसम्म रमिलालाई आमाले यसो नगर, उसो नगर भनेको फिटिक्कै मन पर्दैनथ्यो । यो खाउ, त्यो नखाउ भनेको पनि मन पर्दैनथ्यो । "मैले आफूले मन लागेको गर्न पनि नपाउँने? यस्तो आमा त कसैको हुँदैन" - ऊ फत्फताइरहन्थी ।
"आमा ! तपाईंले पनि खाने भएमात्र म हर्लिक्स खान्छु, नत्र खाँदै खान्न । अब जे पनि हामीले सँगै खाने है आमा ! तपाईंले कति माया गरेर खानेकुरा बनाउनु हुन्छ । मीठोमीठो जति मलाई नै दिनुहुन्छ, तर पनि मैले तपाईंलाई कहिल्यै जस दिइन । मलाई माफ गर्नुस है आमा !"- रमिलाले निन्याउरो अनुहार पार्दै आमाको अनुहारमा हेरिरही ।
आमालाई रमिलाको कुरा सुनेर अचम्म लाग्यो । मनमनै आफ्नी छोरीले आफूलाई माया गरेर देखेर मख्ख भइन् । तर किन आज छोरीले यस्तो कुरा गरेकी होली भनेर उनलाई अचम्म लाग्यो । "हैन के भयो छोरी आज तिमीलाई ? हिजोसम्म त यस्ता कुरा गर्दैनथ्यैा त !"
" छ नि आमा, त्यो हाम्रो मूलढोकामाथि गुँड बनाएको गैांथली थियो नि, हो त्यसको माउलाई बिरालाले खायो नि आज ।"- रमिलाले आँसु खसाल्दै भनी । रमिलाका आँखामा आँसुका ठूला ढीक्का भरिए । उसले सम्झी -

गैांथलीले कत्रो मिहिनेत गरेर हिलो बोकेर गुँड बनाए । त्यस गुँडमा तिनले फुल पारे । ५ वटा बच्चा काढे । जब ती बच्चाका पँखेटा पनि उम्रेका थिएनन्, आँखा पनि देख्दैनथे, त्यसबेला माउ चाहींले झरी, बादल नभनी चारो खोजेर ल्याउँथे । चारो लिएर आएकी आमाको चाल पाएर सबै बचेरा आँ आँ गर्थे एक्कै चोटी । सबै बच्चा उस्तै थिए तर आमाले कसरी चिनेकी सबैलाई ? एकपटक ल्याएको चारो एउटा बचेरालाई दिन्थी, फेरी ल्याएको चारो अर्कोलाई दिन्थी । कस्तो बराबर माया गरेकी नि सबैलाई ! दिनभरी बच्चालाई नै चारो खोज्न जान्थी, कतिबेला आफूले खाँदी हो? निकै दुब्लाएकी थिई आमा गैांथली । तर पनि कहिल्यै थाकेजस्तो गरिन उसले ।
 पखेटा राम्ररी पलाएपछि त्यस बिहान बचेराहरू फुत्रुकफुत्रुक गुँडबाट ओर्ले । भुईंमा खस्ने बित्तिकै उड्न खोजे । धेरै जसो उडिहाले । तर एउटा चाहींलाई बिरालोले च्याप्पै समात्यो । माउचाहीं तुरून्तै बिरालो माथि झम्टी र बिरालोलाई ठुङ्न थाली, उसले बचेरालाई छोडिदियो र माउलाई समात्यो । बचेरो अत्तालिँदै उड्यो । बचेरालाई फेरी बिरालाले समाउँला भनेर ऊ निकै पिरोलिएकी थिई । बिरालोले आफूलाई मुखमा हाल्दासम्म पनि  ऊ बचेरो रूखसम्म पुग्न सक्यो कि सकेन भनेर हेर्दै थिई ।
"आमा ! सन्तानका लागि पशुपन्छीका आमाले पनि कति दुख उठाउँछन् हगि ? ज्यानै दिन पछि पर्दैनन् । तर बच्चाबच्चीहरू भने आमाको माया कति छिटो बिर्सन सकेका ?"- रमिलाले सुँकसुकाउँदै भनी ।
"नरोउ छोरी ! तिमी कति समझदार भइछ्यैा ।"- आमाका आँखामा पनि आँसु डबडबाए । उनका आँसु गैांथलीको पीरले पनि आएको थिए र समझदार छोरीको मायाले पनि ।

ईष्टर, ८ अप्रिल, २०१२
चैत्र २६, २०६८
सान सेबाष्टियन, स्पेन

यादहरू

यादहरू                                                                        (छन्दः शिखरिणी)
उदासी यो सन्ध्या, अझ कति उदासी मन छ यो
फगत् देहै याहाँ, तर मन तिमी मै पुगिगयो ।
दिनै बित्दो होला, अलि सहजले दुर्धर निशा
चिथोर्दो सन्ताप्ले, भिजिभिजि हुँदा हुन् गह चिसा ।।१।।

अत्यासै लाग्दो हो, तिरिरि मुरलीको धुन पनि
परेली भिज्दा हुन्, अझ कति छचल्की ति नयनै ।
निकै टाढाटाढा, क्षितिजपरका ती चुलीहरू
अठ्याई राख्दा हुन्, उकुसमुकुसको मन चरी ।।२।।

मुखैमा छ हाँसो, तर मन रूँदो छ धरधरी
चुलोमा छ भोजन् तर मन डढेको चरचरी ।
तिनै लालाबाला, रमझम गरी हुन् खुश भनी
सबै गर्छ्यैा प्यारी !  तर मन पियाको सँग छ नि ।।३।।

बसन्ती आशामा, कठिन शिशिरादि पनि सहू
म पग्लेको मायाँ, अति छ बलियो निर्भय रहू ।
तिमी नै उर्जा हैा, तपजप सबै हैा सुखमयी
म फर्कुँला छिट्टै, नवरवि सुनैाला सँग लिई ।।४।।

ईष्टर, ८ अप्रिल, २०१२
२६ चैत्र, २०६८
सान सेबाष्टियन, स्पेन

Popular Posts (लोकप्रिय रचनाहरू)