मन परे लाइक

Sunday, September 8, 2013

दुई हाइकू

 सन्तान

मधुस् फोरेर 
रैयाँ र हमेलबाट 
छेडिन्छ नाइटो।।१।। 

अँधेरी रात 
बुढी औंला त्रासमा
नींद भत्कन्छ।।२।।

पेट उध्रेर
जन्मेको सन्तानबाट
मुटु उध्रिन्छ।।३।।

परदेशी

चिठी हेरेर 
सिरानीमा लेखेछ 
आँखाले चिट्ठी।।१।। 

गिध्द ओर्लिन्छ 
करेसा पछाडीको
केरा घारीमा।।२।।

अरबको खाडी
कफनवाला खुशी छ
बेपार बढेर।।३।।

-जूलाइ २, २०१३ राती २ बजे
सान सेबाष्टियन, स्पेन



बिडाल-मुषिक मिलाप

बिडाल-मुषिक मिलाप (बिरालो र मूसोको मिलन)
...............................................................

आँधिहुरी सहेका क्यै बिरालाहरू भेटियो।
म्याऊँ म्याऊँ गरेका थे, टिठाई घर ल्याइयो।।
आगोको मधुरो राप, दिएरै पनि सेकियो।
उपियाँले घेरेका थे, सफाई पनि पो भयो।।१।।

मार्लान् मूसा भनी तिनै, बिरालाहरू पालियो।
बनढाडे बने उल्टै, चल्लाको त बिनाश भो।।
बच्चाको मुख मारेर दूधभात खुवाइयो।
ओछ्यानैमा गरे बिष्टा, हाम्रै कन्तबिजोग भो।।२।।

कुँडेको तर चोरेर छानामा गइ ढल्किए।
काला-सेता सबै मिले, भन्डारैतिर  पल्किए।।
आफू आफू जुधी फेरी, ङ्यार्रङुर्र कराउँछन्।
घरको जगमा मूसा, देख्दा खेरी डराउँछन्।।३।।

मुसेरीमा कुनै मूसा, झुक्किएर पर्‍यो भने।
यो हो मेरै ठूलै मित्र, भन्दै जाइ छुटाउँछन्।।
साँझ मूसा बिरालाको, देखिन्छ सह-भोजन।
मित्रता दह्रिलो पार्ने, गर्दछन् नित्य चिन्तन।।४।।

साउन २, २०७०
सान सेबाष्टियन, स्पेन

स्मृतिका तरेलीमा आँशुका फूलहरु

स्मृतिका तरेलीमा आँशुका फूलहरु


पहिले पहिले
औंला खुबै भाँचिन्थ्यो
गन्नका लागि केवल
दशैं, तिहार, औंसी, संक्रान्ति
पैंचो र पर्मका हिसाबहरू।

तर अहिले
औंलाको टुप्पो ठोसेर
मोबाइल क्यालकुलेटरका टुटिल्कामा
गन्छन्-
अरब, मलेशिया, साउदी र कतारबाट
हड्डी मक्याएर, शरीर निचोरेर
आगोको भुंग्रोमा पसेर झिकेका
दिराम, रियाल र दिनारहरू
कहिले आउला र किनुँला
शान झार्ने गरी छिमेकको
आइफोन, एलसिडी टिभी
अनि भाले मोटरसाइकलहरू।

चाड आउँथ्यो,
एक हर्पे घ्यू, एक चौंठी तेल
एक कोर्को सिन्की
केही सेल, ठोकने, फिनी र अनरसाहरू
सोली भरेर
छोरीका लागि पाहुर हुन्थे
घर फर्कँदाको साँझ
माइतीको पाहुर गर्वले बाँड्थी छोरी
अहिले ऊ आउँछे
हाम्रा हातगोडा चल्दैनन्
फर्कँदाको दिन
एक कार्टुन चाउचाउ
एक पाकेट किटक्याट
केही लेजका पोकाहरू
प्लाष्टिकमा झुन्डाएर फर्कन्छे।

दिनभर रोपाइँ गरेर
हामीले अर्नि खाने
सेराको चाक्लो ढुङ्गामा
केही हिले गिद्धहरू
गँडेला माछा र गँगटाको शिकार गर्छन्,
जुन खेतका भङ्गाला थुन्न
मैले ढुङ्गा बोक्दा
ढाड सड्काएको थिएँ
खुट्टाको गोलीगाँठा फुटाएर
आफैलाई कुँज्याएको थिएँ
त्यसै खेतको
पाँच मुरे गरोमा
बुकीहरू फुस्रै फुल्दै
मलाइ नै गिज्याउँछन्।

बाटो भाट्टिएको छ
बगरमा बयर लदाबदी छ
अचेल कसैको पछ्यौरी अड्कन्न त्यहाँ
डमराइ, ऐँसेलु र खजुरीहरू
पाक्छन् र फ्यातफ्यात खस्छन्
कसैका छाला चिमोट्न
पाउन्नन् अचेल तिनीहरू।

तीस हाते कटेरोको
एउटा छेउमा
एउटा भैँसी छ, एउटा गोरू छ
भोकले दाम्ला छिनाल्न खोज्छन्
तर घरकी बुहारी
मोबाइलमा भिडियो क्लिप हेर्न
दिउसै ढोका थुनेर बस्छे,
अर्की एक बेत ब्याउने बित्तिकै
पहिली नातिनी
हामीले राम्ररी सुमसुम्याउन नपाउँदै
शहर पसी, नानी च्याँपेर
पढाउन लगेकी रे
मानौं ऊ
आमाको पेटबाट
स्कुल जान दगुर्दै झरेकी होस्
घर बाख्रो व्याएको छ
आँगनमा पाठापाठी उफ्रँदा
तिनैलाई  सुम्सुम्याउँदै हामी
नातिनातिनीको अत्यास मेट्छौं।

घर रित्तिएपछि
मुसाहरुको जुलुस
भित्रै आएर तोडफोड गर्छ,
बिरालाहरु  तर चोर्छन
अनि छानामा गएर
रापिलो घाममा सुत्छन्
हाम्रो नीद समेत खोसेर।

अस्ति भर्खरै
टाकुरे  बुढा खसे
गाउँमा
मुस्किलले पाँच-जोर बूढाबूढी
र दुई बुहारीहरू जुटे
मलामी जाँदा बाटैमा
ठूलाघरे बुढा लोटे
घाटबाट फर्कँदा पनि
हाम्रा काँधले फुर्सद पाएनन्
छोरो अम्रिका छ रे
उसको डलरले थाप्दैन काँध
अस्पत्ताल पु-याउने छैन कोही
कुँजिएका छन् बुढा
छोरो विदेशमा
डलरका पछिपछि
आँधी झैं कुँदिरहेछ।

अघि आसिक दिन्थे-
सन्तानले डाँडाकाँडा ढाकून्
अहिले गाउँमा को नै जन्मन मान्छ र?
गाउँमै बस्ने दुई तीन जोडी छन्
दशैंको टीकामा सबैले आसिक दिन्छन्-
सन्तानले अम्रिका, बेलायत ढाकून्।

फेरी चाडबाड आउँदैछन्
हामी बूढाबूढी
पालीमुनि चकटी ओछ्याएर
बलेनीसम्म खुट्टा पसारेर
पुराना दिनहरू सम्झन्छौं
बुढी औला भाँच्दै के के बरबराउँछे
म त त्यति पनि गर्न सक्दिन
किनकी
जिन्दगीको हिसाबमा
औंला भाँच्दा भाँच्दै
आँख्लामा बाथ पसिसकेछ।

-सान-सेवास्टीयन, स्पेन
२५ जुलाई, २०१३ 

सबै भन्दा विषालु प्राणी

सबै भन्दा विषालु प्राणी


फूलले भन्यो-
"मेरो सुगन्ध
मेरो सौन्दर्य
सुँघ र हेर परैबाट
जीवनको रङ छाम्नेछौ हृदयले"।
मैले भनें- "तिमी मेरै ह्वौ"
र दिएँ एक विषालु चुम्बन
फूल मुर्झायो, झुक्यो र लत्र्यो
सौन्दर्यको हत्या गरेर
रङहरूलाई रूवाएँ
अनि
परपीडक मुस्कान
अनुहारमा बोकेर हिंडे,
मान्छेले मात्र गर्छ
सपना, फूल र रङका
असंख्य हत्याहरू।

पहाडले भन्यो-
आरोह-अवरोहबीचको
अटल आस्था हुँ म
लेऊ , लक्ष्य सार्थक जीवनको
स्वीकार सधैं उतारचढावहरू
अनि भेदन गर लक्ष्य आफ्नो
मैले सोचें-
मैले उकालो ओरालो गर्ने पहाड
मेरा लागि हो, मेरै हो
अनि उखेलें रूखहरू, बेचें ढुङ्गाहरू
ताछेर भित्ता पहाडको
चोक्ट्याएँ कित्ताकित्ताहरूमा
पहाडको आत्मा भत्केपछि
आलो घाउका पाप्राहरू
नदीको मुखमा बिसायो पहाडले
नदी फुट्दाको रात
बस्तीहरू सहित
जलसमाधि भयो गरिबहरूको
गुलाबी जामा पहिरेकी
सुकोमल केटी
जोर्ते ढुङ्गाको चेपमा भेटिई।

नदीले भन्यो-
मेरा तरङ्गहरू
मेरा प्रवाहहरू
आधार हुन् मानव सभ्यताका
आश्रय हुन् जलथलचरका।
मैले भने-
"तिम्रा तरङ्गहरू
मेरै जीवनका तरङ्ग झैं त हुन्
त्यसैले तिमी मेरै दास ह्वौ"
उसले प्राण दिएथ्यो
बदलामा
मैले दिएँ-
मयल, मलमूत्र, बेपारी रसायन
अनि सबै मेरा विकारहरू
नदी शहीद भएपछि
ढलको अवतार लियो
सबैका घाँटीहरू
प्यासले निचोर्दा
मैले बेचिरहें-
मिनरलका ल्याउयुक्त बोत्तलहरू।

जूनले भन्यो-
म मोहनी हुँ रातकी
म प्रेरणा हुँ कविहरूकी
मेरै अनुहार लगेर
प्रेयसीका मुखमा टाँसी माग्छन्
बैशालु जीवनहरू।
मैले भने-
"ए! तिमी त मेरै प्रेयसी ह्वौ
मेरै हक लाग्नुपर्छ तिमीमाथि"
अर्बौं भोकाहरूको पेट काटेर
खर्बौ खर्चेर पठाएँ रोबोट
तिमीमाथि धावा बोल्न
अन्तरिक्ष यानको नङ्ग्राहरूले
तिम्रा गालाहरूमा चिथोर्दै
रक्ताम्य पारेको रात
म हाँसे दाह्रा देखिने गरी
र उफ्रें विजयोन्मादले
अनि आफै पुरस्कार घोषणा गर्दै
आफै लिएँ र अट्टहास गरें
शायद,
ईश्वरको सृष्टिको
सर्वाधिक बिषालु प्राणी
मै हुँ, मान्छे नै हुँ।

२ अगस्ट, २०१३
सान सेबाष्टियन, स्पेन।

बाचा- जागरण गीत

बाचा
बाचा गर्छु कमिशन र घुस खान्न म - २
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म --२
                असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्माऽमृतं गमय ।। (कोरस)

कर्णालीका लहरमा भाग्य खोजुँला - २
सुनकोशीको बगरमा सुन खोजुँला -२
दाजुभाइका पसिनाले नुहाउन्न म,
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।१।।   बाचा.....

हत्केलामा हिमालको हाँसो पोतुँला-२
तराईमा हाँसीखुसी खेत जोतुँला -  २
भाग खोसी निमुखाको अन्न खान्न म,
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।२।। बाचा.....

कर तिर्छु राज्यलाई ग्राहक ठग्दिन -२
पाखुरामा विश्वास गर्छु भीक्षा माग्दिन -२
जनतालाई कंगाल पारी चैन लिन्न म,
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।३।। बाचा.....

नियम पैले आफू मान्छु अनि पढाउँछु-२
चरित्रलाई रोज्छु स्वाभिमान बढाउँछु -२
अरुको बास उठाएर धनी हुन्न म
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।४।। बाचा.....


सान सेवाष्टियन, स्पेन

भन्छिन नेपाल आमा -जागरण गीत

भन्छिन नेपाल आमा

घर कहाँ घर हुन्छ आफ्नै भाइ फुटेपछि  
छिमेकीको गाई चर्छ बारबन्धन टुटेपछि 
                              अब आँखा उघार 
                              भन्छिन नेपाल आमाले -२, 
                              सन्तान हो आफ्नो घर आफै सिंगार ।।१।।

घर कहाँ रहन्छ र डाँडाभाटा थुत्यो भने 
घरमूलीले लुकिछिपी ढुकुटी नै लुट्यो भने 
                             खै त विवेक विचार ?
                             भन्छिन नेपाल आमाले -२,
                             सन्तान हो आफ्नो घर आफै सिंगार ।।२।।

घरको जग खोक्रो पारी धूरीमाथि चढेपनि
आफ्नै संस्कृतिलाई मासी विदेशी मात चढेपनि
                              नेपाली त्यो हुन्छ र?
                              भन्छिन नेपाल आमाले -२,
                              सन्तान हो आफ्नो घर आफै सिंगार ।।३।।

ठाँटिएरै हिंडेपनि लथालिंग घर हुनेलाई
नेपाली भै ठाडो शिर गरी बोल्न डर हुनेलाई
                               इज्जत कसले दिन्छ र?
                               भन्छिन नेपाल आमाले -२,
                               सन्तान हो आफ्नो घर आफै सिंगार ।।४।।

जेठा छोरा इटा बोक, कान्छो खाँवा बोकी आओस्
माहिलोले बार बाँध, साहिंलोले छाना छाओस् ।
                               छोरी घर सिंगार ।
                               भन्छिन नेपाल आमाले -२,
                               सन्तान हो आफ्नो घर आफै सिंगार ।।५।।

१ फेब्रुअरी २०१३
सान सेवाष्टियन, स्पेन

परदेशीको आवाज

परदेशमा

अगणित सुविधा छन् यन्त्र झैँ दिन् चल्याछन् ।
झलमल बिजुलीले रात धप्पै बल्या छन् ।।
सुलुलुलु सलहै झैं मार्ग ढाक्छन् सवारी।
हरपल समयमै हुन्छ सप्पै तयारी।।१।।

बुरुबुरु हिंउ होस् या घाम होस् या  असीना ।
खुरुखुरु गरिराख्छन् काम झार्दै पसीना।।
हरपल गणना भो, आजको काम के भो?
अब अरु कति गर्दा काम फत्ते हुने हो? ।।२।।

चमचम मधुशाला, दीपमा चम्किएका ।
अलि पर मद-होशी , प्रेममा छन् डुबेका ।।
सब सुख धरतीको, प्युनुमै रम्नु मै छ ।
तर पनि अझ फेरी, चाहना शान्तिकै छ ।।३।।

तर म भने
कति कति कति टाढा देश छोडेर आएँ।
पिल पिल गरि रुन्छिन, प्रेमकी मुर्ति जाया।।
अब कति दिन बाँकी फर्कने हो भनेर ।
हरपल जननी ती बस्दछिन् दिन् गनेर।।४।।

अब कति दिन बस्दा लाख होला कमाई?
अनि घर तिर फिर्थे, साहू तिर्थें रमाई ।।
छुनुमुनु गरि हिड्ने प्रेमका ती निशानी ।
पढ पढ पढ भन्थें, बन्दथे कि त ज्ञानी।।५।।
निशि-दिन अझ उस्तै काममा जोतिइन्छु।
भतभत मन पोल्छ, देश सम्झेर रुन्छु ।।
म पनि त कति रम्थें, चाडमा गाउँ जाई।
अब दिनदिन भा'छन् आफनै ती पराई।।६।।

तीजमा 
 घिन घिन घिन ताङ् ताङ् तीजमा बज्छ मादल्।
फुरुफुरु अरु नाच्छन् छङ्ग खुल्या छ बादल्।।
तर पनि बहिनीको दाजूका सम्झनामा।
धरधर मन रून्छ गास रूक्छ गलामा।।७।।

चमचम चमकिँदो, रेशमी छैन सारी ।
मन पनि अमिलो भो, गर्नु के को तयारी ?
भनिकन सल टोकी आँशु मात्रै बगाई ।
दर पनि नपकाई भुल्दछिन् तीजलाई।।८।।

 दशैंमा 
जल छर जमरामा, अक्षता मोल राता ।
अब झिक टपरीमा, माल्पुवा सेल ताता ।।
अलिकति त चढाओ, देवता पितृलाई ।
भनिकन अब आमा, भन्दिहौ, नातिलाई ।।९।।

अनि त मकन  सम्झी बर्र आँशु खसाली ।
हतपत पुछि आँशु फूल राखेर थाली ।।
चुटुचुटु जमराका पात टिप्दै चढाई ।
तनमन म तिरै छ, पुज्दछ्यौ देवलाई ।।१०।।

तिहारमा 
मुसुमुसु अब हाँसे, फूलमा मख्ख साना ।
टलपल गरि टल्के शीतका गोल दाना ।।
मगमग कति मीठो वास घोल्दै तिहार ।
लुकिकन म त रोई, छाम्छु आफ्नै निधार ।।११।।

झिलमिल घर हुँदा, चम्किंदा झ्याल कौशी ।
घरघर कति डुल्थें, भैलिका साथ रौशी ।।
कति मन छ अँध्यारो, देख्न ता हाँसिरा'छु।
भनन भन बहीनी!, नाक पुच्छ्यौ कि आँशु ? ।।१२।।

अपेक्षा 
 म पनि त घर हुन्थें, चुम्दथें आफ्नु माटो ।
तपतप पसिनामा, रम्दथें खन्न बाटो।।
रगत र पसिना यी, हेर चुस्छन् पराइ ।
अझ पनि किन नेता, बस्छ कुर्सी समाइ ।।१३।।

नहर र बिजुली होस्, होस् कुनै रोजगार ।
बरु निशिदिन कामै, गर्न हुन्छौं तयार ।।
सुन सरह भुमीमा, क्यै गरी बाँच्न देऊ ।
अलिकति पुछि आँशू, देशमै हाँस्न देऊ ।।१४।।

सान सेबाष्टियन, स्पेन
२० अगष्ट, २०१३
श्रावण शुक्ल पूर्णिमा, २०७०

समय-चक्र

(कमलरी, कमैया, हलिया लगायतका सबै किसिमका अमानवीय दासता बिरूध्द संघर्षरत सबै मुक्तियोध्दाहरूमा समर्पित)

समय-चक्र

वर्षौं वर्ष
तिम्रा छायाँले तर्सियौं हामी
मानौं तिमी बाज थियौ
हामी प्वाँख नभएका चल्ला थियौं
तिम्रा पखेटाका छायाँमा
हाम्रा क्याँकक्याँकहरू
तिम्रा लागि केवल
मनोरञ्जक संगीतका धून हुन्थे।

त्यो पहाडको उकालोमा
तिमी बिसौनीमा थियौ
हामी हातखुट्टाका नङ गाडेर
ढुंगेभीर उक्लन खोज्दा
तिमीले पल्टाएका ढुङ्गाले
थिचिएका
आलै छन् यी नङका घाउहरू।

हामी बाख्रा थियौं
मुहानको पानी पिउंथ्यौ तिमी
र आरोप लगाउथ्यौ-
"तिमीहरुले तल बसेर
माथिको मूल धमिल्याएका हौ ।"

हरेक बिहानले घाम ब्याउँथ्यो
तर त्यो घाम हाम्रो थिएन
प्रत्येक घामको झुल्को
तिम्रै छानामा मात्र
पुस्तौं टल्किरह्यो
पहाडको यस अँध्यारो खोंचमा
हाम्रा भागमा थिए
केवल ठिहिराउने सिरेटोहरू।

टुकी तिम्रै घरमा बलिरह्यो
बिजुली तिम्रै कोठामा पोखियो
हाम्रा स्याउले छाप्रामा
पुत्पुताइरहे काँचा सिठाहरू
हाम्रा छानाको धुँवाकै पनि
बिरोध गर्यौ तिमीले
र थुनायौ बनमाराको आरोपमा।

मानौं यो संसारको हाँसो तिम्रो पेवा हो
यी उब्जाउ पाटाहरूका लालपूर्जाहरू
तिमीले चितामा सँगै लैजाने छौ
तिम्रा सन्तानहरू बाबु-नानी हुन्
हाम्रा बच्चा केवल गोब्रेकीराहरू !?

हामी शीत निद्राबाट ब्यूँझेका छौं अब
ए पहाड! हामी उक्लँदै छौं चुचुरोमा
फुटेका बुढी औंलाहरू
फाटेका पाइतालाहरू
रगतपच्छे किन नहोउन्
रोक्दैनौं हामीले यो यात्रा
हाम्रा पाखुरीहरू पगालेर
सम्याउने छौं त्यो चुच्चे थुम्को
र ठड्याउने छौं खाँवाहरू
जहाँ
हाम्रो आफ्नै घाम हुनेछ
हाम्रा नानीहरूका आँखामा
उदाउने छ कलिलो सूर्य।

अझै पनि
कसैले यी थुम्काहरू
मेरै हुन् भन्छ भने
भत्कने छ त्यो पहाड
र हामी सम्याउने छौं सबै
धुलाम्मे आँखाका परेलीमा
हामीले कोरल्ने छौं नयाँ जून
अब छिर्ने छैन त्यो जून
हाम्रो भत्केको छानाबाट
हाम्रो इज्जतको चियो गर्न
अब हाम्रा नानीहरू छानामै खेल्दै
हत्केलाले जूनको क्षेत्रफल नाप्नेछन्।

त्यस बेला
नदीको बगरमा
तिमी थोत्रो लालपूर्जा
खोज्दै हुनेछौ
जतिबेला हामी
पसीनाका मोतीसँग
धर्तीको सुगन्ध साट्नेछौं
भो कति ओढ्छौ?
त्यो धुइँसो परेको
खानदानी बाघको छाला
मिल्काऊ अब त्यो
ब्वाँसाको देहबाट।

अब त
गोब्रेकीराहरूको
मेटामोर्फोसिस भएको छ
तिनले चिन्नेछन्
तिनका पुर्खाका पसिनाको गन्ध
र खोज्नेछन्
मक्किएका हड्डीहरू
जो बिस्तारै,
दधिचिका हड्डी बन्नेछन्
बन्द गर तिम्रा आसुरी कृत्यहरू।

२५ अगस्त, २०१३
सान सेबाष्टियन, स्पेन।

Sunday, June 30, 2013

बोक्सी

बोक्सी
''आमा ! तिमीलाई सबैले बोक्सी भन्छन्
बोक्सी कसरी भइन्छ आमा?''

छोरी !
बोक्सी हुन केही गर्नु पर्दैन बा,
दशा लागे पुग्छ,
जुन दिन तेरा बा खसे,
हाम्रा गाँस छिनिए, बास भत्किए
म रातारात बोक्सी भएँ।

अपशब्द, घृणा र आरोपको बर्षामा
म निरन्तर रूझिरहें
रगत भन्दा घाउहरू धेरै भए
आँशु भन्दा डसाइहरू बढ्दै गए
समाजले मेरो वाणी खोस्यो
र म बरबराएँ बिरहका आलापहरू
अनि मान्छेले भने
ल हेर! बोक्सी मन्त्र फुक्दैछे।
बचनका बाणले आहत भएर
अरूको सामुन्ने नपर्न
जब म आधा रातमा
खोलामा पानी भर्न गएँ
तिनले भने-
"देख्यौ ! त्यसले त मसान खेलाउँदै छे।"
एकसरो न्यानो लुगाको अभावमा
एउटा बाक्लो सिरकको अभावमा
आधा उध्रेको छानामुनि
शिशिरको सिरेटोको प्रहारले
जब म जाडोले काम्दै थिएँ
तिनले भने-
"ल हेर ! बोक्सी काम्दै छे।"

रूनुको सीमा पार गरेपछि
जब मेरा आँखा फुस्रा भए
तिनले भने-
"त्यसका आँखा बोक्सीका जस्तै कैला छन्।"
सुहाग खोसिएको कपाल
बिरहको जंगल बनाएर
नकोरी के छोडेकी थिएँ,
तिनले भने-
ल हेर, बोक्सी झाँक्रो फिंजाएर बसेकी छे।

मदिरा मत्त ड्राइभरले
जब गाडी खोलामा खसाल्यो,
बचनका तीर तिनले मैतिर ताके र भने-
''साइतको बेला
त्यै नकच्चरी राँड मुन्टेकी थिई"
जसको आफ्नै साइत
चौबिसै  घण्टा बिग्रेको छ
कहाँ लुकेर तिनका साइत बनाइरहूँ?

कतै लाग्छ, कोही हुनसक्छ बोक्सी भने
म बनूँ र यिनीहरूलाई छानीछानी बदला लिउँ
तर अपसोच,
साँवा अक्षर नचिनेर त मजदूरकी स्वास्नी भएँ
कसरी जान्दी हुँ र त्यो घातकी विद्या?

मेरो स्वर्गवासी खसम्
भन मलाई,
मलाइ बोक्सी बनाउने
यो समाज हो या हो तिमीले खोसेको सिन्दूर?
तिम्रो सिन्दूर यति महँगो हुन्छ भने
अबका बेहुलीले यसको निषेध गरून्
तिमीले दिएको वैधव्य दान भन्दा महंगो भो खसम

तिम्रा सिन्दुरले छाडेको यो वोक्सीको दानप्रतिष्ठा ।

Friday, June 21, 2013

मधुशाला

मधुशाला 

पहिले पहिले
जब साँझ ढल्थ्यो,
धर्मराज- मेरो आत्मिय साथी
मलाई फकाई फकाई भट्टी लैजान्थ्यो
भट्टीकी पुतली साहुनी मसक्क मस्किन्थी
म लाजले रातो हुन्थें,
उसको मुस्कानले मेरो हृदयमा भुईचालो जान्थ्यो
साथी मलाई निशुल्क मदिरा पियाउँथ्यो,
मलाई इज्जतको एक पित्को भए पनि डर थियो ।

अहिले,
म धर्मराजलाई भट्टी लैजान्छु
म पुतलीलाई देखेर मसक्क मस्किन्छु
पुतली उपेक्षाभावले घृणापूर्ण दृष्टि फ्याँक्छे
म लाजलाई एक तुर्को मदिरासँग सुलुक्क निल्छु
मेरो स्वभावले मेरा लालाबालाको हृदयमा भुइचालो जान्छ
मेरो साथी मेरो बारी बेचेको पैसाले मदिरा पिउँछ
मलाई स्वास्नीको बुलाकी बेच्न नपाउँलाकि भन्ने डर छ ।

जब एक प्याला पिउँछु
त्यो प्यालामा प्रतिविम्व हेर्छु
हाँडीमुखे भट्टीकी साहुनी चन्द्रमुखी देखिन्छे
(किनकी ऊ सप्रेम पियाउँछे )
चन्द्रमुखी मेरी स्वास्नी ग्रहणकी जून बन्छे
(किनकी ऊ मलाई टोकसिरहन्छे)
म थुक्छु थुइक्क गर्दै घृणाले
फ्यात्त गर्दै त्यो मेरै तिघ्रामा खस्छ।


टेबुल उही छ
पुतलीले नयाँ सुन्दरी ल्याएकी छे,
उसको भट्टीलाई उज्यालो पार्न
लालटीनको मधुरो प्रकाशमा
म एक घुट्को मदिरा र एक घुट्को थुक पालैपालो निल्छु
म प्रति पुतलीको मुस्कानको आयतन शुन्य बिन्दुमा ओर्लेको छ
मेरो बहीखाताको उर्लंदो अंक हेर्दै
ऊ मेरो च्यात्तिएको खल्ती हेर्छे
र मुखमा अमिलो चूक उमार्छे।

मेरो साथी उही छ
केबल उसको परिजीविपनाको क्षेत्रफल बढ्दो छ
ऊ अहिले मलाई नै सिरानी र डसना बनाउँछ
मेरो कमिज फेरिएको छैन, मेरो सुरुवाल फेरिएको छैन
केबल आँखाको रक्तिमता मात्र फेरिएको छ ।

जब रात ढल्दै जान्छ
दुनियाँ मीठो निद्रामा लुटपुटिन्छ
केवल मेरी स्वास्नीको नींदमा खडेरी पर्छ
गल्लीको बाटो कुकुर भुकाउँदै
जब मेरो पुरुषार्थ घरतिर बढ्छ
संसारिक मोहबाट पर भएर
म नालीमा टाउको घुसाउँछु
कुकुर मेरो गन्हाएको इज्जत सुँघेर
एक तुर्को जलसेचन गर्छन् मेरो कपालमाथि
र शायद आफूलाई म पवित्र पार्छु ।

यी रातहरुमा
मेरी स्वास्नी तारा गनेर आँसु बगाउँछे
छोराछोरीहरु
सपनामा पनि बाबु देखेर झस्किन्छन्
नाङ्गो आकाश मुनि म न्यानो मानेर बेहोसी कटाउँछु
स्वास्नीलाई अँगेनाको आगोको रापले कम पोल्छ बरु
तर म भन्छु, मैले कसको के खाएको छु र ?
त्यही एक फकटो पुख्र्यौली खेत न हो,
त्यही एक कान्लो बारी न हो,
त्यही एक जोर ढुङ्ग्री र पाँच लालको बुलाकी  न हो।

आफ्नो पति परमेश्वर बहुलाएको देखेर
ऊ दिनहुँ गणेशस्थान धाउँछे
गणेशजी सुन्दैनन् किनकी
पूजारीले लड्डु कोचिदिएको छ उनको लामा कानमा
चुप लागेर टोलाउँछन् उनी
किनकि हरेक रात
म  भट्टीबाट फर्कंदै गर्दा
एक घुट्को रक्सी
उनको मन्दिरमा चढाउन भुल्दिन
मेरो चाकरीबाट गणेशजी
प्रसन्न छन् वा वेहोस् छन्
 जे होस् उनी
स्वास्नीको पुकारा सुन्दैनन्


फेरी
अर्को रात खस्छ
सँगै खस्छन्–
छोराछोरीका खुसीहरु
स्वास्नीका आँसुहरु
इज्जतका टुक्राहरु

घरका छानाहरु ।

-भीष्म कुमार भूसाल 
योकोहामा, जापान 
२०६४ भाद्र १४ 

Friday, May 10, 2013

यो चाहीं आफ्नैबारेको समाचार

यो चाहीं आफ्नै बारेको समाचार (हेम-सरिता अन्तराष्ट्रिय साहित्य पुरस्कारबारेको)
पढ्न मन लागे यो सँगैको ह्वाइटहिमालटिभि भन्ने लिंकमा थिंच्नुहोला।
http://whitehimal.tv/kabit/

Wednesday, May 8, 2013

आमा , औला र वाणीहरू


आमा , औला र वाणीहरू

आमा !
म जति वाचाल होऊँ, विद्वान होऊँ
एक चित्कार च्याहाँ बाहेक के लिएर आएँथें र?
तिमी त हौ, जसले पहिलो वाणी दिएकी थियौ
मैल जुनसुकै व्यञ्जनको धक्कु दिएपनि
तिमी त हौ, जसले आफ्नै शरीर निचोरेर
जीवनदायी दूग्धामृतसँग
पहिलो स्वादको चिनापर्ची गराएकी थियौ
म आफूलाई जति शक्तिशाली सम्झूँ
तिमी नै त हौ, जसले कमजोर-कोमल कायालाई
पेटमा लुकायौ, काखमा सुतायौ र आँचलमा छुपाएथ्यैा
मेरा कलिला औंला समाएर
तिम्रा थिरीथिरी र तातेतातेको प्रेमिल उर्जाले
हजार माइलको यात्राका लागि गतिशील बनाएथ्यैा।

आमा !
तिमी जति बेला आधा ज्यान नछोप्ने
छोटो ओढनीमा मलाई लुपुक्क पार्दै
जाडोले लुगलुग काम्दै अनिंदा रात छाम्थ्यौ
मेरो पिसाबले भिजेको थाङ्नो आफ्नो शरीरले तताउँथ्यौ
र पेटीकोटको ओभानोमा मलाई लुटपुट्याउँथ्यौ
तिम्रो छातीको न्यानो तापले म मीठो निद्रा सुत्थें
र सपनामै हाँस्थे परीहरूसँगको थैयाथैयामा
त्यो मुस्कानमा सहस्र दुख भुल्ने तिमी त थियौ
शब्दजाल बुन्न आज म जति नै खप्पिस  होउँ
तिम्रो त्याग, समर्पण, स्नेह र श्रद्धाको चर्चा गर्न
मेरा शब्दहरू निरीह-निर्धा भएका छन्।

आमा !
मीठो चोखो पाकेको दिन
थुप्रै मधुरा साँझहरूमा
हामीलाई खुवाउनमा खट्थ्यौ
हाम्रा प्रसन्नचित्त गाँसहरू हेरेरै अघाउथ्यौ
आफ्नो भोकलाई वात्सल्यसँग साट्थ्यौ
रित्तो कराही पछाडी लुकाउँदै भन्थ्यौ-
"मलाइ छ, खाओ, खाओ"
तिमी नै त हौ, जो
सन्तानको हाँसोका लागि दुखमा रून बिर्स्यौ
हाम्रा बिरामीका कहर तिमीले काट्यौ
हाम्रा खुशीसँग साट्यौ- कष्ट, अभाव र मीठा नीदहरू
अपरिमेय त्यागको अतुलनीय प्रतिमूर्ति तिमी त हौ ।

आमा !
जब तनाव, थकाइ र हारहरूले म गलेर आउथें
तिम्रो एक स्पर्श मेरो शिरमाथि पर्दा
ती सबै भाग्थे कता हो कता
र म उर्जाशील हुन्थें- नयाँ यात्राका लागि
तिम्रा ती तिलस्मी हातहरूले
पुष्ट्याइदिएको  देह त हो यो
जसलाई म प्रत्येक बिहान
ऐनामा हेर्छु र गमक्क पर्छु
रक्त र मांशपिण्डमात्र तिम्रा अंश कहाँ हुन् र?
मेरा चालहरू, मेरा वाणीहरू, मेरा स्वादहरू
सबै तिमीले नै त सापटी दिएकी हौ
कहिल्यै फर्काउन नपर्ने गरी
स्नेह, समर्पण, श्रद्धा र सम्पूर्णताका प्रतिमूर्ति
आमा ! सयौं जुनी तिम्रो यो स्नेह पाइरहूँ।



सान सेबाष्टियन, स्पेन
पूर्वसन्ध्या- मातृदिवस
२०७० बैशाख कृष्णचतुर्दशी, राधाष्टमी

Tuesday, April 23, 2013

फूलहरू, शहीदहरू र नेताका गर्धनहरू


फूलहरू, शहीदहरू  र नेताका गर्धनहरू

मालाले तिमी छोपियौ
तिम्रो शीर फूलको थुम्कोबीच पुरियो
क्यामराहरूले आँखा सन्काएः झिमिक्-झिमिक्-झिमिक्
केही बेर पछि नै हामी मालाहरू
सडक छेउका नालीमा मिल्कियौं  ।

जब हामी बगैँचामा थियौं
भ्रमर- नृत्यसँगै हामी हल्लन्थ्यौं
नानी फूलहरू मस्कँदै आउँथे
त्यहाँ जीवन थियो, आकर्षण थियो
माटोको सुवासमा बतास लुटपुटिन्थ्यो,
तर पनि जब हाम्रा घाँटी निमोठिए
त्यो प्राणान्तक वेदनाभित्रका पीडाका  सिर्काहरू
तिम्रा गर्धनमा आएर पोखिए,
हामीले ठान्यौ, हामी धन्य भयौं ।

कापालिकहरूका भिक्षापात्र सरह
उत्सर्गका प्रतिमूर्ति शहीद- खप्परहरू देखाउँदै
तिमीहरूले जनतासँग भिक्षा मागिरह्यौ र भन्यौ-
"हामी मुक्तिदाता हौं
माग्छौं केवल तपाइँका त्याग र समर्पणहरू
जुन हतियारले हामी
यिनका अधुरा सपनाहरू
यसै माटोमा  जिउँदा र मूर्त  बनाउनेछौं ।"

तिनका पनि स-साना फूलबारी थिए
जहाँ हाँस्थ्यो तिनको
भर्खर एउटा दाँत पलाएको छोरो
स्वास्नी सिउँदो कोर्थी  र
त्यही धर्कोले पुरिदिन्थी दुख, अभाव र आला सपनाहरू
गोधूली साँझमा टोपीले पसिना पुछ्दै
 जब ऊ आँगनमा झुल्कन्थ्यो
उसका औंला समात्थी- पुतलीफ्रक लगाएकी सानी छोरी
दैलाबाट चियाउँदै मुसुक्क मुस्काउँथी
अँगेनामा आगो ठोस्दै गरेकी स्वास्नी
हो, तिनका स्याना र मधुरा सपना थिए
कल्पिन्थे- स्वर्गको  एक सानो टुक्रो
तिनले आफ्नै आँगन होस् ।

त्यो दिन,
जब तिमीले यही गर्धन फुलाउँदै भन्यौ-
"जूनकीरीको उज्यालोमा नअल्मलिउ
जाग, उठ र हिंड- आँगनभन्दा बाहिर
अधिकारको, न्यायको र विकासको त्यो राँको
हामीले खोसेर तिम्रो घर उज्यालो पार्नेछौं "
उसले पत्याएको थियो र
स्वास्नीका सुँकसुँक्याइ हत्केलोले छोप्दै
दौराको फेरो समातेकी छोरीको हात छुटाउँदै
तिम्रो पछि लागेको थियो
गोहीका मुखमा पुग्ने बेला तिमीले भन्यौ-
"हार्नका लागि एउटा फ्याङ्ले शरीर न हो
जित्नका लागि पुरै संसार छ,
अघि बढ, झम्ट र खोस।"

जब एउटा गोलीले उसको पातलो छाती छेड्यो,
तिमीले झण्डाको कात्रो ओढायौ
र मकर-पीडाको अनुभूति गर्दै खोक्यौ,-
"तिम्रा सपनाहरू नै हाम्रा शीरका कफन हुनेछन्।"
हो, त्यसै दिन देखि खोसिए
घुर्मैला सपनाहरू ती स्वास्नीमानिसका
भर्खर ताते गर्ने एकदन्ते बच्चाका
दुई  चुल्ठीमा सजिएकी पुतलीका ।
त्यो स्वास्नी मानिस, अब पोइटोकुवा भइ
उसको सिउँदोसँग पखालिए
उसका इज्जत, मान र अस्तित्वहरू,
जव  आँशु सुकेर उसका आँखाहरू
चैतको डढेलो जस्ता देखिन्छन्
यो समाज भन्छ-
"हेर त्यसका आँखा बोक्सीका जस्तै छन्"
त्यही समाज,
त्यो एकदन्ते बच्चोको दाँतलाई
बाबु चपाउने दाह्रा देख्छ
जब स्कूलमा कसैको पेन्सिल हराउँछ
त्यो टुहुरी केटी नै चोर करार गरिन्छे ।

कतै कहिल्यै शुष्क स्वरमा त्यो आइमाई भन्छे
कि ऊ त शहीदकी जहान हो
तब सोधिन्छ-
"तिम्रो लोग्ने कसरी शहीद भएको "?
"गाडी दुर्घटनामा या ग्याङफाइटमा?"
हिजोको स्वर्गको सानो आँगन
आज गाली, हेला र अपमानमा
तैरिंदै डुब्दै गरिरहन्छ,
प्रत्येक गोधूली साँझमा
पारी बाटोको कुइनेटोमा
जब कसैको छायाँ देखिन्छ
छोरी भन्छे- "आमा हेर त हाम्रा बा !"
तर त्यो छायाँ अँध्यारो बाक्लिदैं जाँदा
केवल त्रासको प्रतिविम्ब बनेर
तिनका आँगनको बाटो हिंड्छ ।

बिचरा ! तिनका सपना
तिम्रा गर्धनबाट मिल्किइएका
तर, शहीदको गर्धनसँग साटिएका
हामी फूलहरू झैं
फोहोर नालीमा तबसम्म सुताइन्छन्
जबसम्म अर्को चुनाव आउँदैन,
जब तिमीहरूको कुर्ची धरापमा पर्छ
तब शहीदको बिस्कुन सुकाउन
शब्दका इन्द्रजाली मोहनी अवतारहरू
भाषण बनेर तिम्रा मुखबाट ओर्लिन्छन् ।

हामी बिर्सन्थ्यौं चुँडिनुको पीडा
यदि त्यो विधवा आइमाई
मुहारमा तानेर मुस्कान
द्वितीयाका चाँद जत्ति मात्रै भएपनि
पहिराउँदी हो  तिम्रा गर्धनमा
एउटा माला आस्थाको
ती टुहुरा देख्दा हुन्
तिनका बाबुका प्रतिच्छाया तिम्रा आँखाका नानीमा
हामीलाइ अफसोच छ-
तिम्रा गर्धनका लागि
फूलको शहादत र शहीदको शहादत
उस्तै उस्तै छ, तर पनि
ती शहीदका आँगनको छायालु कुनामा
तिनका आँशुको बरसातमा
हामी केवल रोइरहन्छौं
भरोसाको मृत्यूशोकमा ।
सान सेवाष्टियन, स्पेन
२१ अप्रिल, २०१३

Popular Posts (लोकप्रिय रचनाहरू)