मन परे लाइक

Sunday, September 8, 2013

स्मृतिका तरेलीमा आँशुका फूलहरु

स्मृतिका तरेलीमा आँशुका फूलहरु


पहिले पहिले
औंला खुबै भाँचिन्थ्यो
गन्नका लागि केवल
दशैं, तिहार, औंसी, संक्रान्ति
पैंचो र पर्मका हिसाबहरू।

तर अहिले
औंलाको टुप्पो ठोसेर
मोबाइल क्यालकुलेटरका टुटिल्कामा
गन्छन्-
अरब, मलेशिया, साउदी र कतारबाट
हड्डी मक्याएर, शरीर निचोरेर
आगोको भुंग्रोमा पसेर झिकेका
दिराम, रियाल र दिनारहरू
कहिले आउला र किनुँला
शान झार्ने गरी छिमेकको
आइफोन, एलसिडी टिभी
अनि भाले मोटरसाइकलहरू।

चाड आउँथ्यो,
एक हर्पे घ्यू, एक चौंठी तेल
एक कोर्को सिन्की
केही सेल, ठोकने, फिनी र अनरसाहरू
सोली भरेर
छोरीका लागि पाहुर हुन्थे
घर फर्कँदाको साँझ
माइतीको पाहुर गर्वले बाँड्थी छोरी
अहिले ऊ आउँछे
हाम्रा हातगोडा चल्दैनन्
फर्कँदाको दिन
एक कार्टुन चाउचाउ
एक पाकेट किटक्याट
केही लेजका पोकाहरू
प्लाष्टिकमा झुन्डाएर फर्कन्छे।

दिनभर रोपाइँ गरेर
हामीले अर्नि खाने
सेराको चाक्लो ढुङ्गामा
केही हिले गिद्धहरू
गँडेला माछा र गँगटाको शिकार गर्छन्,
जुन खेतका भङ्गाला थुन्न
मैले ढुङ्गा बोक्दा
ढाड सड्काएको थिएँ
खुट्टाको गोलीगाँठा फुटाएर
आफैलाई कुँज्याएको थिएँ
त्यसै खेतको
पाँच मुरे गरोमा
बुकीहरू फुस्रै फुल्दै
मलाइ नै गिज्याउँछन्।

बाटो भाट्टिएको छ
बगरमा बयर लदाबदी छ
अचेल कसैको पछ्यौरी अड्कन्न त्यहाँ
डमराइ, ऐँसेलु र खजुरीहरू
पाक्छन् र फ्यातफ्यात खस्छन्
कसैका छाला चिमोट्न
पाउन्नन् अचेल तिनीहरू।

तीस हाते कटेरोको
एउटा छेउमा
एउटा भैँसी छ, एउटा गोरू छ
भोकले दाम्ला छिनाल्न खोज्छन्
तर घरकी बुहारी
मोबाइलमा भिडियो क्लिप हेर्न
दिउसै ढोका थुनेर बस्छे,
अर्की एक बेत ब्याउने बित्तिकै
पहिली नातिनी
हामीले राम्ररी सुमसुम्याउन नपाउँदै
शहर पसी, नानी च्याँपेर
पढाउन लगेकी रे
मानौं ऊ
आमाको पेटबाट
स्कुल जान दगुर्दै झरेकी होस्
घर बाख्रो व्याएको छ
आँगनमा पाठापाठी उफ्रँदा
तिनैलाई  सुम्सुम्याउँदै हामी
नातिनातिनीको अत्यास मेट्छौं।

घर रित्तिएपछि
मुसाहरुको जुलुस
भित्रै आएर तोडफोड गर्छ,
बिरालाहरु  तर चोर्छन
अनि छानामा गएर
रापिलो घाममा सुत्छन्
हाम्रो नीद समेत खोसेर।

अस्ति भर्खरै
टाकुरे  बुढा खसे
गाउँमा
मुस्किलले पाँच-जोर बूढाबूढी
र दुई बुहारीहरू जुटे
मलामी जाँदा बाटैमा
ठूलाघरे बुढा लोटे
घाटबाट फर्कँदा पनि
हाम्रा काँधले फुर्सद पाएनन्
छोरो अम्रिका छ रे
उसको डलरले थाप्दैन काँध
अस्पत्ताल पु-याउने छैन कोही
कुँजिएका छन् बुढा
छोरो विदेशमा
डलरका पछिपछि
आँधी झैं कुँदिरहेछ।

अघि आसिक दिन्थे-
सन्तानले डाँडाकाँडा ढाकून्
अहिले गाउँमा को नै जन्मन मान्छ र?
गाउँमै बस्ने दुई तीन जोडी छन्
दशैंको टीकामा सबैले आसिक दिन्छन्-
सन्तानले अम्रिका, बेलायत ढाकून्।

फेरी चाडबाड आउँदैछन्
हामी बूढाबूढी
पालीमुनि चकटी ओछ्याएर
बलेनीसम्म खुट्टा पसारेर
पुराना दिनहरू सम्झन्छौं
बुढी औला भाँच्दै के के बरबराउँछे
म त त्यति पनि गर्न सक्दिन
किनकी
जिन्दगीको हिसाबमा
औंला भाँच्दा भाँच्दै
आँख्लामा बाथ पसिसकेछ।

-सान-सेवास्टीयन, स्पेन
२५ जुलाई, २०१३ 

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)