मन परे लाइक

Tuesday, January 17, 2012

उदास चन्द्रमा

उदास चन्द्रमा

जुनेली रातमा
म निशासँग लुकामारी खेल्थें,
मेरी चाँदनी उसको मादक आभामा
मसक्क मस्किएकी हुन्थी,
क्षयीकरण होस् वा सघनीकरण —उसको बर्तुलतामा
ऊ शीतल र मोहक हुन्थी,
कहिले सानो हँसिया हुन्थी कहिले बाटुलो सुकारोटी
हाम्रा बाल्यआस्थाहरु उसको आकारमा
निर्दोष कल्पनाका कथाहरु रच्थे,
जबसम्म ऊ मेरो छिँडीमाथिको आकाशमा थिई
ऊ आत्मीय थिई, सुखदुःखकी सहचरी थिई ।

आज,
बिकास र सभ्यताको कथित चुलीमा
सम्पन्नता, स्निग्धता र संभ्रान्तहरुको आकाशमा
प्रकाश प्रदुषणले पीडित
मैली उही चाँदनीलाई देखें,
ऊ मेरो आँगनमाथिकी चाँदनी थिइन,
कान्ति चुसिएकी, शीतलता खोसिएकी
ऊ चुसेको उखुको खोष्टो थिई
मलाई देखेर फिस्स बिधवा हाँसो हाँसी ऊ
बिना चमकको विद्रुप हाँसो
खोसिएको कान्तिमा उसले सेतो सारीको सप्को हाली
मेरो आँखाले ग्लानी पढ्यो
मेरो हृदयले उसको कौमार्य सम्झ्यो
मेरो बिदेशी साथी !
तिम्रो आकाशमा मेरी चाँदनी आज विधवा देखिई ।

तिमीले उसको कौमार्य कहिले देखेनौ
उसका सखा शुभ्र ताराहरु
तिम्रो धुरीमाथि कहिल्यै सल्बलाएनन्
त्यसैले ती तिम्रा साथी कहिल्यै भएनन्
तर ती मेरा जीवन र जगतका साक्षी हुन्
म जन्मेको चिसो अँधेरी रातमा
तिनले मलाई यस लोकमा
स्वागतका सेता रजनीगन्धा खसाएथे
मेरो जीवनका पहिला साथीहरु थिए ती
आज तिम्रो आकाशमा
ती धेरै हराएछन् केही टिलपिल गरिरहेछन्
मेरो भाँचिएको आस्था पिलपिल रोइरहेछ ।

कटुँसको हाँगामा पीङ खेल्दा
मेरो पवन मलाई मायालुले झै सह¥याउँथ्यो
आज उसैले तिम्रो भूमीमा मलाई जब छुन्छ
मेरो मन अमिलिन्छ, चह¥याउँछ ।
तिम्रो अट्टालिकाहरुमा कतिबेला अँध्यारो खस्छ
कतिबेला उज्यालो पस्छ,
कोरीबाटी गर्दै गरेका नवयौवनाहरु
गाजलू आँखाका दशगजामाथि
बाटुलो टिकी लगाउँदैनन् यहाँ
नवपल्लवित प्रेमका पुजारीहरु
तिम्रो आँखीझ्यालबाट कहिल्यै चिहाउँदैनन्
यन्त्र मैथुनको अभ्यस्त भएकाहरू
जीवन र भावनामाथि बलात्कार गर्छन्
तिमी भन्छौ – बिकासको उत्कर्ष हो यो ,
शायद त्यसैले तिम्रो बिकास
कहिल्यै मेरो प्रिय हुन सकेन ।

भैगो साथी !
मलाई मेरो आकाशमा फर्काइदेउ
जहाँ नाङ्गो आकाश ओढेर
तारासँग तेलकासा खेल्ने मेरा रातहरुमा
मेरी चाँदनी, द्यौ शान्तिको अभिषेक गर्छे
त्यसैको पोषले मेरो नयाँ दिन मधुर भएर आउँछ ,
मेरा दाँत कटुँसका काँडे घाँजी फोर्छन्
पर लैजाउ तिम्रा पकवान्नका डिसहरु
मेरी आमाको स्नेहपूर्ण हातले
मस्केको ढीडो पस्कँदैछ
त्यहीं एकाकार छन्
चौरासी  व्यञ्जनका स्वादहरू।

योकोहामा छात्रावास,
श्रावण शुक्ल त्रयोदशी,
भाद्रपद ९, २०६४ बिक्रमी


No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)