मन परे लाइक

Monday, January 21, 2013

के लेख्नु कविता?

के लेख्नु कविता?
चेलीहरू आत्मरक्षार्थ चिच्याइरहे
माइतिहरू मन्दिरमा भजन गाइरहे,
भाइहरू भोकले शहीद भए
दाइहरूले तिनका शालिक बनाए
र त्यसमै कमिसन खाइरहे ।

सलाइ खरिद्न नसक्ने खरदार भयो
अख्तियार नै किन्ने उसको दरवार भयो
पियनले थर्काएको हाकिम
डान्सबार उसको घरवार भयो ।

नेता "ए" लाई पिलो आयो
सिंगापुरको भ्रमण भयो
नेता "बी" ला गीलो... आयो
तीस लाख उतै चर्न गयो
पखालाले महान जनता
जहानसँगै मर्न गयो ।

हामी बिहान बिहान भनेर पर्खिरह्यैां
ती चिहानमाथि चिहान थप्दै गए ।
अब त रोगीले खोक्न पनि हुन्न
शान्ति प्रकृया भाँडिन्छ रे
भुइँ न भाँडाको यो शान्ति प्रकृया
पोखिएला कि भनेर
हामीहरू थरथर काँपिरह्यैां
तिनले हाम्रा विश्वास धरधर च्यातिरहे ।

भो लेख्दिन कविता...
फेरि शान्तिप्रकृया भाँडिएला.....।

 
सानसेवाष्टियन, स्पेन
माघ शुक्ल दशमी, ८/१०/२०६९

Popular Posts (लोकप्रिय रचनाहरू)