मन परे लाइक

Tuesday, March 11, 2014

नेपाल जुट्छ जुट्छ यो (पञ्चचामर छन्दमा)

छ देश हेर बन्धकी, परन्तु लोक चुप्प छन्। 
न भ्रष्ट लाज मान्दछन्, ठुलै छ आड ढुक्क छन्।। 
मसी सुकेछ काव्यमा, मधूर लाग्छ गन्गन।
न बोल्न कोही सक्दछन्, अनङ्ग झैं छ चिन्तन।।१ ।।

लुटिन्छ अस्मिता यहाँ, छ रक्षकै पतीत छ।
छ सार्वभौम दाउमा, लिलाममा सतीत्व छ।।
म उठ्छु शैल झैं भन्यौ, किनिन्छ बोल्छ जो जन।
कसोरी नष्ट भ्रष्टको, सकिन्छ गर्न लौ  भन ।।२ ।।

न साथ जान्छ कुर्सि यो सँगै सँगै मसानमा
न प्रेयसी न बन्धु नै सँगै हुने चिहानमा ।।
न चित्रगुप्त नोटमा भुलेर माफ गर्दछ।
अझै नि लुट्न मस्त पो, छ भ्रष्ट कत्ति गिर्दछ? ।।३।।

अवश्य अन्धयूग यो सकिन्छ हेर एक दिन्
हुदैन राष्ट्र दुष्टको धपक्क बल्छ घाम जून।
दिएर दण्ड कर्मको, थुकेर छाड्छ लोक यो
नबिर्स चेत फर्कँदा, नेपाल जुट्छ जुट्छ यो।।४।।

सान सेबाष्टियन, स्पेन

आमा, चिवे चरा र मेपलका पातहरू

("आमा, चिवे चरा र मेपलका पातहरू" शीर्षकको कविताबाट केही अंश)

बचेराहरू छन्
प्रतीक्षामा मुख बाएर अनिकालको
एक फाँको चारा छ
कुन ओढारमा खसाल्ने हो?
ऊ अलमलिन्छे
बचेराहरूका भोकका ओढारहरू
उसको हृयद निल्छन् कप्लक्क।

गलेकी छ ऊ
भोक, थकाई र चिस्यानले
त्यो के हो? जसले फर्काउँछ फेरी
उनै बर्फिला चट्टानी पहाडतिर
जहाँ केही क्रन्दनहरू फुत्किन्छन्
अनि उसको एक फाँक चारामा बदलिन्छन्
फेरी उही तुषारो फोराइमा
उसको सिसिफस प्रयत्नहरू
सन्तानको मोहमा श्रापित हुन्छन्
पश्चिमी क्षितिजमा
कलेजी रङ नपोतिँदै
उसले गुँडमा फर्किनु छ।
.............................
मेपलका पातहरू
हुर्केका सन्तानले आमाको काख छोडे झैं
हाँगाबाट झर्दैछन् फुत्त फुत्त
भुकभुके उज्यालोमा घर छोडेको सन्तान
टुकी बलेको पहिलो प्रहरको कुनै साँझ
फर्केला ढोकाबाट आमा! भन्दै
तर यी पातहरू फर्कन्नन्
तिनको बिदाइमा
अघाउन्जी रून पाउने छैन त्यो रूख
यिनै पातहरूले
सँगै लिएर झरेका झन् आँशुका झरनाहरू
केवल सुकसुकाइ छाडेर बोटमा।
.....................................
ए पथिक !
तिम्रो बाटो अझै कति छ?
नबिर्स है मुस्काउनपछिल्तिर फर्केर 
आफ्नै पैतालाका डोबहरू हेरेर
किन भने,
एक दिन
मेपलका पात निख्रने छन्
एक भुल्को अँध्यारो
तिम्रो छाती टेकेर अघि बढ्नेछ।

सान सेबाष्टियन, स्पेन
२३ जनवरी, २०१४

इलाम

सोमरसमा लठ्ठिंदै
उर्वशी नृत्यमा
इन्द्र मदहोस भएको बेला
अमरावती बगैंचाको एक टुक्रा चोरेर
इलाममा टाँसिदिएथ्यो
पहाडको कुनै देवताले।

कुम्भकर्ण नींदमै छ,
पाण्डिम आङ तन्काउँदैछ
श्रीअन्तु
सुत्केरी भएर
गोलकाँक्री सुर्य जन्माउँदा
बुढेशकालमा पहिलो सन्तान-सुखमा
मुस्कुराइरहेकी जीर्णकाया आमा झैं
हाँस्छ कञ्चनजङ्घा,
जिस्काउँछ सगरमाथा
र लजाउँछ मकालु।

यही बाटो माथि लाग्दैछन्
केही अगस्ति भुँडेहरू
भ्रष्टको भाकलमा
नफकिनु है पाथीभरा !
ती चाहन्छन्
देशको भकारीमा दुलो पारेर
आफ्नै पाथी मात्र भरिरहूँ।

अर्का थरी छन्
तेरो मेरोमा अल्मलिन्छन्
यसै भूमिमा
चुच्चा नाकले ख्याली गाएकै हो
चिम्सा आँखाले दुर्गा पुजेकै हो
कालो छालाले खुवाएकै हो
जलेबी, खुर्मा र अनरसाहरू
ए दाइ !
हाम्रो रगतको रङ
कहाँनेर बदलियो?

म त
माइखोलाको किनारै किनार
अलैंची चपाउँदै
अम्रिसो घारीमा पुगेर
ल्याएको छु एउटा कुचो
बढार्नेछु- मनका कसिंगरहरू
सिउरिने छु गुराँस
र बजाउनेछु बिनायो
सन्दकपुरे पखेरामा।

देशबाट के पाएँ र भन्नेहरूले,
इलम नहुनेहरूले
इलामबाट सिक्न
बिलम्ब नगरून्
ओलन बेचे पनि, आलु रोपे पनि
ठिहिराउने हिउँदमा
अदुवा हालेको चिया पिउँला
आलुको झोलमा
अकवरे खुर्सानी निमोठेर
रसिला आँखा पार्दै
बुक्याउँला एक थाल ढींडो
इलाम !
तिम्रा राता गाला हेर्न
म फेरी आउनेछु।

-    २३ जनवरी, २०१४
सान सेबाष्टियन, स्पेन

Popular Posts (लोकप्रिय रचनाहरू)