मन परे लाइक

Wednesday, February 29, 2012

मृत्यूदेखि नडराउ


मृत्यूदेखि नडराऊ
यदि छोराको स्वार्थका लागि छोरीको भविश्य रेटेका छैनौ भने
छोरीलाई काँधमा चढाएर बुहारीलाई जुत्ताले कुल्चेका छैनौ भने
झ्यालबाट कुहेको आलु छिमेकीका करेसामा फालेका छैनौ भने
गरिबको गास खोसेर आफ्नो भकारी भरेका छैनौ भने ।

मृत्यूदेखि नडराऊ
लिएका छैनौ भने– एक रुपियाँ पनि तिम्रो पसिनाले नसिन्चेको
खाएका छैनौ भने – राज्य ठगेको एक कौडी दाम पनि
खोसेका छैनौ भने– बिना पारिश्रमिक एक मिनेट पनि कसैको
चोरेका छैनौ भने– कसैको खुसी एक पलको पनि ।

मृत्यूदेखि नडराऊ
भोक मेट्ने भाग्य नभएकाहरुलाई एक टुक्रा रोटी  कहिल्यै बाँडेको भए
दुःखमा डुबेकाहरुको दुखमा एकछिन काँध थापेको भए
खुसी खोसिएकाहरुलाई एक पित्को मलहम लगाएको भए
आफ्ना नहुनेहरुको कहिल्यै आफ्नौ बनिदिएको भए ।

मृत्यू त हाम्रो साथी न हो,
बिचरा जन्मदा देखि नै हाम्रो छायाँ बनेर हिडिरहेछ
एक दिन जिन्दगीले जब हामीलाई धोका दिएर भाग्छ
हाम्रो काँध थाप्न उही मृत्यू त सहायक बनेर आउँछ
उससँगको साक्षात्कार अति प्रेमिल बनाउन  सकिन्छ,
नडराउ मृत्यूदेखि – जीवनसँगको साँठगाँठमा कसैलाई ठगेका छैनौ भने ।

फागुन १७, २०६८
सान सेवाष्टियन, स्पेन
२९ फेब्रुअरी, २०१२

Monday, February 27, 2012

छायाँ र प्रतिविम्बहरू

छायाँ र प्रतिविम्बहरु

शुक्रवारे यो साँझ,
गिर्जाघरको घन्टाले ६ थप्पड लगाउँछ,
उरुम्या नदी किनारमा लहरै चम्किन्छन् रंगीन प्रकाशहरु
लहरहरुमा हल्लिन्छ चन्द्रमाको प्रतिविम्व
र खिस्स हाँस्छ एक बादलको चोइटो ।

छायाँ र चराहरुको देशकी ए केटी!
हिमाल जस्तै कञ्चन हाँसो छ तिम्रो
अवसादका धर्साहरुहरुलाई यो जललहरीमा
कोन्चाको खाडीतिर हुत्याइदेउ ।
हिमालको काखबाट एउटा केटो आइरहेछ
भन्छ, उचाइतिर लम्कनु मात्र जीवन हो ।
ए खजुर जस्तो मधुर बाणी भएको केटा!
सम्झ कि उचाइहरु सधै रहँदैनन्
ती कहिले ढल्छन् र कहिले उन्नत हुन्छन् ।
जीवन त यिनी उरुम्याका छालहरुले नै प्रतिबिम्वित गर्छन् ।

खजुर र उँटको देशको एक मोहम्मद भक्त
आँखा चम्काउँदै दारी सुम्सुम्याउँछ र ऐलान गर्छ
धर्मको पालनामा नै छ मानवको पहिचान
ए धर्मका पदयात्री!  किन पादरी पनि छैन लोभमुक्त
मानवधर्म नै सबैभन्दा फराकिलो छैन र ?
भर्खर पादरी निस्केको छ गिर्जाघरबाट
तर चन्द्र पिरामिडको देशकी एक मधुवाणी केटी
पादरी भन्दा कति निश्छल र निश्कलंक छे ।

उरुम्या नदीमा तैरिएका छन् केही पहेंला पातहरु
जीवन एउटा पात न हो
कोन्चा खाडी हुँदै एकदिन मिसिनु छ उत्तर सागरमा
पोतेका छौं हामीले थरिथरिका पहिचान र सिंगार – हाम्रा नाम र अनुहारमा
कोही चाहँदैन आफ्नो नाम झुसिल्किरा, शंखेकीरा वा स्याल राख्न
भीष्म, मार्टिन, मारिया, अहमद, क्रिष्टल.. वाह! कति सुन्दर नामहरु
तर काला पर्दाहरुले साँघुरो पारेका हाम्रा मनहरु
हरेक बिहान एकसाथ गीता, कुरान, बाइबल र धम्मपद गुञ्जाएर पनि
उज्यालो ज्योतिमा हाँस्न भन्दा
पुराना घाउ कोट्याएर दुख्न मात्र किन जान्दछन् ?

एक दिन अनन्तमा बिलाउनु नै छ
उरुम्या नदीमा तैरिएका समुद्रगामी यी पातहरु झैं
ओ बुलबुल र छायाँको देशकी केटी
यो बिषाद किन?
आऊ ! बगौं सबै सँगै
यी छालहरुझैं, यी त्वरित पातहरुझैं
चन्द्रकिरणको प्रकाशमा
उज्याला मनहरुको खोजीमा..निरन्तर.....।

सान–सेवाष्टियन, उरुम्या नदी किनार, स्पेन
२०६८।११।१५
२७ फेब्रुअरी, २०१२

शब्दार्थः
 १. उरूम्या नदीः सान सेवाष्टियन शहरलाइ बेष्टिट गर्दै उत्तरको कोन्चाको खाडीमा मिसिने नदी
२. कोञ्चा खाडीः स्पेनको उत्तर-पूर्वी कुनामा अवस्थित समुद्रसँग जोडिने एक समुद्री चोंसो जुन सान-सेबाष्टियन शहरको श्रृंगार हो ।
३. भीष्मः दृढ प्रतिज्ञा भएको ।
४. मार्टिनः राजा
५. मारियाः येशुकी आमाको नाम (मारियम)
६. अहमदः इस्लामहरूमा अहमदीय मतका प्रवर्तक मिर्जा गुलाम अहमदको नामबाट लिइएको ।
७. क्रिष्टलः स्फटिक
(यी सबै नामहरू प्रचलित र वास्तविक समेत हुन्)

Sunday, February 5, 2012

पाँच मिनेट

पाँच मिनेट
(कृपया नबुझिएका शब्दावलीको अर्थ कथाको अन्तमा पादटिप्पणीमा हेर्नुहोस्)
“नौ बज्न दश मिनटमात्र बाँकी छ । आठ पच्पन्नमा त एक्सप्रेस ट्रेन आउँछ । त्यो छुट्यो भने लोकलबाट जाँदा सात मिनेत ढीला हुन्छ, एक्सप्रेस नै समात्नु पर्छ, ओहो! केबल पाँच मिनट बाँकी छ । मात्र पाँच मिनट...”, हतारहतार दौडँदै थियो युता । बिजुली भ-याङको दाहिनेतिरको लाइनमा एकैपटक दुईदुई खुट्किला चढ्दै थियो ऊ ।

युताले कल्पना पनि गरेको थिएन कि यसरी कुनै दिन युमिकोसँग फेरी भेट होला भन्ने । जीवन न हो, कल्पना नगरेको कुरा पनि त हुन्छ कहिलेकाँही । तर फेरी असम्भव पनि थिएन नि चाहेको भए । तर सोच्ने फुर्सद नै कहाँ पाएको थियो र युताले । हरे ! आज पुरै दश बर्ष बितिसकेछ । उसले युनिभर्सिटीको अन्तिम बर्ष सम्झ्यो झर्लक्क । फेरी त्यो बर्ष पनि हो कि होइन जस्तो भयो उत्तिखेरै । सिन्जुकु रेल्वे स्टेशनको तोकाइदो लाइनको रेल समात्न दगुर्दै गर्दा अकस्मात जम्काभेट भएकी थिई युमिको ।

कालो कोट र टाई । हातमा अफिस ब्याग । गर्मी त थिएन तर युता हतारमा थियो र हल्का पसिना काढेको थियो । टाई घाँटीमा भिरेको मात्र भन्नुपर्थ्यो किनकी गर्मी नहोस् भनेर उसले निकै खुकुलो गरेको थियो । यो त पाडाका घाँटीमा दाम्लोजस्तो प्रतीत हुन्थ्यो । युताले हालखवर सोध्न चाह्यो युमिकोलाई –“सञ्चै छौ हिबिया ?”

“युता ! तिमीले मेरो नाम पनि बिर्सिसक्यौ ? म युमिको ”।

“गोमेनासाई (माफ गर्नुस्) , म त हिबिया जाँदै छु भन्न खोजेको । हेर न अहिले मेरो पोष्टिङ्ग ...जे आर (जापान रेल्वे) मा छ”।

“ए तिमी जे.आर.को जागिरे हौ ?”– गाजलु आँखाका आँखीभौ उचाल्दै भनी युमिकोले ।

“आएम सो सोरी, म.. मेरो मतलब.. म जे.आर. लाइनबाट जाँदैछु”– हडबडायो युता ।

मैले त्यो सोधें र ? अचम्म मान्दै गुनासो गरी युमिकोले । युता त्यो युता थिएन जसलाई दशबर्ष अँघि युमिकोले देखेकी थिई । त्यसबेला उसले कपाल खैरो पारेको हुन्थ्यो । आम जापानी नवयुवकले झैं कपाल कोर्दैनथ्यो र झट्ट काट्दैनथ्यो पनि । कपाल ठाडो पारेर त्यसमा चुच्चा निकाल्थ्यो ऊ । चिम्सा आँखा भएको तर लजालु थियो युता । ऊ ब्याडमिन्टनको राम्रो खेलाडी थियो । ऊ पनि खेल्थी ब्याडमिन्टन युतासँगै बेलाबेलामा । खेल्दै जाँदा उसको कपालको चुच्चो समथर हुँदै आएर निधारतिर ओर्लन्थ्यो कपाल । जब लथपथ पसिनाले उसको कपाल निधारमा टाँसिन्थ्यो युमिकोलाई सारै रमाइलो लाग्थ्यो युताको चेहरा । तर आज त उसले कपाल काटेको थियो, कालो नरङ्गाएको कपाल... । बरु ह्वाइट ग्लास लगाएको , कञ्चटका रौं फुलेको र पाको जस्तो पो देखिन्थ्यो ऊ त । तर यसरी एक प्रश्नको जवाफ अर्को दिइरहेकोले हैरान थिई युमिको ।
“अनि कुन अफिसमा काम गर्दैछौ नि ? बिहे ग-यौ त ?”– एक सासमा दुई प्रश्न फ्याँकी युमिकोले । युता आफ्नो पूर्वस्वभाव बमोजिम लजायो । शायद यही स्वभाव मात्र उसको अतीतको स्वभावको बाँकी चिनो थियो । उसले नियालेर युमिकोलाई हेर्न चाह्यो तर सकेन । एक झल्को शीरदेखि पाउसम्म युमिकोले चालै नपाउने गरी सरर्र आँखा दौडायो । युमिको उस्तै रहिछ, केबल उसको सोधाईमा मात्र गम्भीरता थियो । अरु सबै उस्तै । यसो नाडी घुमाएर हात माथि नउठाईकन घडी हे-यो र झसङ्ग झस्क्यो ऊ । झस्काई एकैसाथ अर्को पनि प-यो जब युमिकोले पुन उही प्रश्न दोहो-याई ।

“सुमिमासेन । मो इचिदो इत्ते कुदासाई (माफ गर्नुस्, फेरी भन्नुस् त के भन्नुभयो ?)”–लाचारी प्रकट गर्दै बोल्यो युता । “मेरो ध्यान पनि...”, बडबडायो युता, “के भएको होला ?”

युमिको साँच्चै आत्तिई । होइन यो मान्छेलाई के भएको हो ? कुनै प्रश्नको जवाफ पनि सही दिंदैन । कतै बिबाहको कुरा सोधेकोले रिसाएको त होइन ? थुप्रै प्रश्न र आशंकाले एकसाथ गाँजे युमिकोलाई । तैपनि तेश्रो पटक उही प्रश्न दोहो-याई उसले उत्साहहीन भएर ।

“ए हो त, म माज्दा कम्पनीमै छु । ब्रान्च अफिस छ हिबियामा । बिहे ? अँ...हँ, तीन मिनेट मात्र बाँकी?? ? एए..कम्यूटर एक्सप्रेशबाट । ”

“युता ! तिमी सञ्चै त छौ ? के भइरहेछ आज तिमीलाई ? यति लामो समयपछि भेट भएको छ , हिंड एकछिन रेस्टुरेन्टमा बसेर एक कप कफी खाउँ अनि जाउला ।”– युताको हात समाउँदै भनी युमिकोले । “हँ कफी... ?” यस्सो घडी हे-यो युताले । “ओहो ! हे भगवान् ! ...” फेरी उसलाई आफ्नो हात कसैले समातेको अनुभूति भयो र त्यहाँ युमिकोको हात पनि देख्यो ।  उसको हृदयमा  एक्कासी एक किसिमको रोमाञ्चाकताको सञ्चार भयो । उसको मन फेरी दश बर्ष अगाडी पुग्यो । क्योतो युनिभर्सिटीमा अध्ययनरत रहँदा भेटेको थियो उसले प्रथम पटक युमिकोलाई । ऊ लज्जालु थियो र कुनै केटीसँग कुरा गर्न सर्माउँथ्यो । युमिकोले आफै बोलाएकी थिई उसलाई र परिचय गरेकी थिई । क्रमशः तिनीहरुबीच मायाप्रितिले बास गरेको थियो र मौलाउँदै, झाङ्गिदै गएको थियो त्यो । उनीहरु सप्ताहान्तमा कियोमिजु मन्दिर जान्थे, प्यागोडा मन्दिरको पेटीमा बसेर घण्टौं प्रेमालाप गर्थे । गोल्डेन पेभिलियन पुगेर मन्दिर हेर्दै टोलाउँथे र त्यहाँको शताब्दियौं पुरानो कलात्मक पोखरीका रंगीन माछाहरु, स्याना खाले कछुवाहरु र अरु जलचरहरु हेर्दै “सुगोई !सुगोई ! (ग्रेट ग्रेट)” भनेर चिच्याउँथे । आरास्सियामाका जङ्गलका भिराला पाखाहरुमा ठडिएका अत्यन्तै बाक्ला रुखहरु देखेर जिल्लिन्थे । दृश्यावलोकनका लागि व्यबस्था गरिएको ट्रामबाट ओर्लेर उदोन (एक प्रकारको मोटो खाले नुडल्स) किन्थे र हासी ( चोपस्टिक) ले पालै पालो घरी यसको मुखमा घरी उसको मुखमा हाल्थे । युमिकोले त्यसबेला पनि युताको हात समाएर भनेकी थिई– “युता ! हामीले कहिले बिहे गर्ने ?” ।

युताले लजाउँदै भनेको थियो –“पख न, भर्खर त हाम्रो कलेज सिद्धिंदैछ । म जागीर खान्छु अनि बिहे गरौंला । तिमीले पनि जागीर खायौ भने अति ब्यस्त भइन्छ के, दुख पाइन्छ । तिमी चाँही जागीर नखाने ल ।”

“होइन, जागीरै नखाई त के बस्नु नि । बरु पार्टटाइम गरौंला नि हुन्न र ?”– युताको काँधमा टाउको अड्याउँदै भनिथी उसले । “ठीकै छ नि बच्चा नहुँदासम्म”– आँखा अर्कैतिर दौड्याएर भनेथ्यो युताले । शर्माएर भुईंमा हेरेकी थिई युमिको ।

“हिंड न, किन अलमल गरेको ? ”– तान्दै थिई युमिको । “हँ ? ए अँ..किन र... मसँग पास१० छँदैछ नि”, बरबरायो युता । उसले वास्तवमा केही सम्झिरहेको थिएन । उसलाई घण्टौंसम्म एउटा पार्कमा बसेर युमिकोसँग आफ्नो जीवन कहानी भन्न मन लागेको थियो । ऊ सँग माफ माग्न मन लागेको थियो । उसले बिहा गरे नगरेको सोध्न मन लागेको थियो । बिहा नगरेकी भए आउने सालको गोल्डेन वीक (जापानीहरुको मई महिनाको पहिलो हप्ता पर्ने पर्वहरुको बिदाको साता) मा शिन्तो स्राइनमा गएर बिहा गर्ने प्रस्ताव राख्न मन लागेको थियो । तर समयले कहाँ साथ दिएको थियो र उसलाई । ग्रेजुएसन (दीक्षान्त समारोह) लगत्तै युनिभर्सिटीमा ओइरिएका बिभिन्न कम्पनीका रिक्रुटमेण्ट प्रोगामबाटै ऊ तानिएको थियो माज्दामा । जुन दिन कम्पनीको ड्रेस सहित ऊ सेवाकालीन तालीममा प्रवेश गरेथ्यो, उसको जीवन पुरै फेरिएको थियो । कहिलेकाहीं त म मानिस हुँ भन्ने पनि बिर्सन्थ्यो युता । आखिर प्रोमोशनको सवाल थियो...। शुरुशुरुमा त युमिकोको खुवै सम्झना आउँथ्यो उसलाई । बेलाबेलामा फोन पनि गर्थ्यो । बिस्तारै कम्पनीको जागीरमा, त्यहाँ हुने प्रोमोसनमा, सहकर्मीबीच हुने प्रतिस्पर्धामा ऊ यसरी हराएको थियो कि बिस्तारै उसले युमिकोलाई बिर्सिसकेको थियो ।

“हे भगवान ! के भएको युतालाई ?”, बिस्मित थिई युमिको । उसलाई आफु कतै झुक्किएको त होइन भन्ने पनि लाग्यो । युताको हात झट्कार्दै भनी उसले –“होइन तिमी युता नै हौ ? तिमीलाई के भइरहेको छ युता ? किन मेरो कुनै प्रश्नको जवाफ पनि राम्रोसँग दिइरहेका छैनौ ?”

युताले फेरी घडी हे-यो । आठ चौवन्न भएको थियो । उसको होस हवास उड्यो । उसको मन युमिकोसँग छुट्टिन होइन टाँस्सिन चाहेको थियो तर उसका गोडाहरु अँगाडी हुत्तिसकेका थिए । “ओहो ! आज त झन् स्टाफ मिटिङमा शुरुमै मेरो प्रिजेन्टेशन छ, प्रोजेक्टर मिलाउनु पर्ने । मेरो आजको प्रिजेन्टेसन पनि राम्रो भयो भने बल्ल प्रोमोसनको सम्भावना पक्का हुन्छ । हेर, कियोताकाको प्रिजेन्टेशन कति राम्रो छ । त्यस्तो प्रिजेन्टेशन गर्न पाए पो... । अँ बिहे ...? ए हासिमोतो ४५ बर्षको भयो र त बिहेको चालमालै छैन । अर्को एक प्रोमोसन नखाई बिहेबारे सोंच्दै नसोच्ने भनेको छ । जसरी पनि आजको प्रिजेन्टेसन..।”– एक्कासी पर हुत्तियो युता । “युमी ! फेरी फुर्सदमा भेटेर ...हँ ? अँ..फेरी पेनड्राइभमा ल्याउँला है त११”, – परबाट हात हल्लायो युताले । यसो गर्दा अर्को मान्छेसँग उ ठोक्किन पुग्यो । उसले हतपत निहुरेर गोमेनासाई भन्यो दुईतीनचोटी, र कुँद्यो भूमीगत बी फाइभ तल्लाको प्लेटफार्मतिर ।

रेलको ढोका बन्द हुँदै गर्दा हतपत सानो चरबाट छिर्न खोज्यो ऊ । रेल्वे सुरक्षा गार्डले परबाट हप्काउँदै थियो । जसरीतसरी छि-यो र अति भीडयुक्त एक्सप्रेस रेलको डन्डा समातेर उभियो र लामो निश्वास लियो। अगाडीपट्टीको सीटमा एक जोडी बिदेशीहरु आफ्नो सानो बच्चालाई पालैपालो म्वाई खाँदै एकअर्काको अनुहारमा हेरेर तृप्त भैरहेको देख्यो उसले । झट्ट युमिकोलाई सम्झ्यो । उसले अहिले बल्ल युमिकोका प्रश्नहरु सम्झन चाह्यो । “हँ ! साँच्ची  के भने मैले उसँग ? ओहो ! उसको इमेल ठेगाना पनि लिइन मैले, न त मोबाइल नम्बर नै मागें । हरे ! के भएको होला मलाई । यत्तिका बर्षपछि आफ्नी प्रेमिका भेटिंदा पनि एक छिन बसेर एक कप कफी...हँ कफी ? ए अँ त, उसैले कफी खान जाउँ भनेकी थिई नि , हरे मेरो भाग्य..? साँच्चै, युमिकोले बिहे गरी कि गरिन होला ? उसको पनि कतै बच्चा पो भइसक्यो कि...? होइन होला...!?”– युता मनमनै फुसफुसाइरह्यो । ती दम्पती उतिर हेरे । उनीहरूलाई लाग्यो -यो युवक मनमनै ॐ मणिपद्मे हुँ जपिरहेछ । तर युताको मनका तरङ्गहरूमा आएको आँधि उसैलाई मात्र थाहा थियो ।

योकोहामा
हिमावारी हाइट, १०२
२०६४ कार्तिक १०


१ युताः एउटा जापानी युवकको नाम
२ युमिकोः एउटी जापानी युवतिको नाम
३ शिन्जुकुः जापानको तोक्यो शहरको एउटा अत्यन्त व्यस्त रेलस्टेशन
४ तोकाइदो लाइनः रेलका बिभिन्न लाइनमध्ये जापानकै पुरानो मध्येको एउटा लाइन ।
५ हिबियाः तोक्यो शहरको अर्को व्यस्त रेल स्टेशन (यहाँ युता हिबिया पुग्नु पर्ने भएकोले युमिको भन्नु पर्दा हडबडमा हिबिया भन्छ ।
६ कम्यूटर एक्सप्रेस ः जापानमा सामान्यतया अफिस जाने आउने समयमा कम स्टेशनमा रोकिने द्रुतगतिको रेलसेवा 
७ कियोमिजू मन्दिरः जापानको क्योतो शहरको उत्तरी भागमा अवस्थित प्राचिन र अति प्रसिध्द बुध्द मन्दिर
८ गोल्डेन पेभेलियनः क्योतो शहरको उत्तर पश्चिम कुनामा रहेको पोखरीको बीचमा बनेको र पुरै सुनले मोडेको मन्दिर
९ आरास्सियामाः क्योतो शहरको एक मनोरम जंगल
१० रेल वा बसबाट नियमित यात्रा गर्दा टिकट काटिरहने झन्झट नहोस र खर्च पनि कम लागोस भनेर अग्रिम रूपमा पैसा तिरी लिइएको विद्युतीय कार्ड
११ (कुरा गर्दागर्दै अफिसमा प्रस्तुत गर्नुपर्ने डकुमेन्टको सम्झनाले क्रमभङ्ग भएको)


Popular Posts (लोकप्रिय रचनाहरू)