मन परे लाइक

Saturday, December 15, 2012

Free SMS (निशुल्क एस्एम्एस् का लागि)


Steps: 1. Write message first, 2. Put 00+country code+area code. For example, to send a message to Nepal, 00 977 9876543210 3. Most often, you will get it delivered (as per my experience). Put you comment. पहिले म्यासेज बक्समा म्यासेज लेख्नुहोस् । अनि बल्ल मोबाइल नं. लेख्ने ठाउँमा ००+कन्ट्री कोड+ एरिया कोड राख्नुहोस् । जस्तैः काठमाडैांका लागि 00 977 9876543210 (बिचमा स्पेश नराखिकन)। त्यसपछि सेन्डमा थिंच्नुहोस् । ग्यारेन्टी त हुँदैन तर मेरो अनुभवमा प्रायशः जान्छ है ।

Monday, November 19, 2012

Thursday, September 27, 2012

सुन रे...आवाज देउ

सुन रे !

सुन रे नेपाल आमाका सन्तान, नसुने जस्तो नगरिदेउ
पवित्र प्यारो देश नहारोस कति चूप बस्छैा? आवाज देउ ।

निर्धाहरुको नलेउ हुर्मत् भनेथें मैले ता
विधवाहरुको नपिउ आँसु भनेथें मैले ता
तर मान्छे भनिने बलियाहरुले, भने– म हुतिहारा रे
सुन रे नेपाल आमाका सन्तान ...

नचुस पसिना गरीबहरुको त्यो आत्मा रुलाई
नढाँट सोझा निमुखाहरुलाई ललाई फकाई
तर बाठा भनिने धुर्तहरुले , भने– म बेवकुफ रे
सुन रे नेपाल आमाका सन्तान ...
जन्मेको भूमी नेपाल भए के आदिवासी, के को बिदेशी ?
छातिमा यौटै नेपाली भाव को भो पहाडी को भो मधेशी ?
तर नेता भनिने स्वार्थी नजरमा, म – पश्चगामी रे
सुन रे नेपाल आमाका सन्तान ...

कहाँ छ जात, कहाँ छ धर्म, मानव धर्म त एक छ
भनेथें मैले नलडाउ बन्धु दुष्ट्याईंमा त पाप छ
तर धर्मात्मा भनिने ढोंगी नजरमा – म त बिधर्मी रे
सुन रे नेपाल आमाका सन्तान ...

थुपार्छौ सम्पत्ति असत्य अनि अन्यायले, बलले
नबन बाठो झुक्याई सोझा, धुर्त्याइँले, छलले
ती बाठा धनीहरुले भनेथे, म आदर्शको खोल रे
सुन रे नेपाल आमाका सन्तान ....

योकोहामा छात्रावास
बिजयादशमी, २०६४
अक्टोबर २१, २००७

Sunday, September 16, 2012

त्यो तीज - यो तीज



यो तीज, त्यो तीज

निधारमा एउटा सप्रेको बखडा जत्रो सेतो कोठी भएका ती बुढा पिढीमा कुम्लो राखेर खुइय्य गर्दै पसिना पुछ्थे ।कालो डोरी आकारका लाइनले बर्गाकार कोठाहरू बनेको सेतो च्यादरको कुम्लो हुन्थ्यो त्यो । खरानीमा पछारेर सफा राखेको त्यो कुम्लोको कुनामा चिल्लो चुहिएको हुन्थ्यो ।

७५ पुगेका ती बुढा मानिस हाम्रा मावली बा हुनुहुन्थ्यो ।हामी मावलका हजुरबालाइ सधैं बा नै भन्थ्यैां । एउटा एकमाने हर्पेभरी घ्यू, पन्ध्रमुठे चैांठीमा तेल, अलिकति फापरको पीठो, कर्कलाको सिन्की यस्तै यस्तै पोका हुन्थे ती कुम्लामा । साथै हुन्थ्यो बेलुकी आफूले पकाएर खानका लागि एक माना चामल, एउटा ढीको नून, अलिकति सिलमको धुलो...। कुम्लो भित्रको सानो कुटुरोमा राखिएको ती चीज बाले हाम्री आमा (उहाँकी छोरी) लाइ दिनुभएन त्यस बर्षको तीजमा छोरी लिन आउँदा पनि। हामीलाइ त्यसमा के होला भन्ने खुल्दुली साँझ सम्म परिरह्यो ।

बेलुकी गाई बाँधेर बाख्रा खोरमा हुल्ने बेलामा बा हाम्रो आँगनमा आइपुग्दा हाम्रा अनुहार केही मीठो खान पाउने आशाले धिपिक्क बलेका थिए । पिढींमा गुन्द्री ओछ्याएर आमाले त्यसमाथि काम्लो राखिदिनु भो। बाले त्यो काम्लो सरक्क पन्छाएर सिरानीतिर राख्नु भयो र ज्वाइँको खोजीनिती गर्नु भयो । त्यो घुर्मैलो साँझमा राम्ररी मान्छे नचिनिने बेला पिताजी घाँसको मूठो बोकेर आउनु भो खेत गोड्ने मेलाबाट ।
बाले ज्वाइँका गोडामा थपक्क शिर राखेर ढोगिदिनु भो । पिताजीले जवाफमा एकसरो सन्चबिसन्च सोध्नु भो ।
 आमाले भित्र दाउरा ठोंसठास पार्दै पकाउन लाग्नु भो । हामी बाका वरिपरी उहाँको मुखमा पिलपिल हेर्दै बसिरह्यैां । उहाँले हामीलाइ मुसार्नु भो र "भोली म सित मावल जाने हो" भनेर सोध्नु भो ।
भित्र डाडुपन्यू बजे । आमा बेलामा पानी लिएर बाहिर आउनु भो, खान बोलाउन । तर बाले खान मान्नु भएन । उहाँले "चुल्हो खाली भयो भने एउटा सानो ताउली र पानी देउ है बा" भनेर भन्नु भो आमालाई । हामीलाइ अचम्म लाग्यो । बाले मावलमा मीठो मीठो खाने भएकोले हाम्रो घरको खानेकुरा मन नपरेको हो कि भन्ने मेरा कलिला दिमागले सोंच्यो । बाले अघि आमालाई नदिई राखेको कुटुरो खोल्नु भो । त्यसबाट चामल झिकेर तामाको ताउलीमा खन्याउनु भो र आमालाइ त्यो चामल पकाउन लगाउनु भो । भात गुद्रुगुद्रु छड्किंदै गर्दा हामी खाना खाइरहेका थियैां । मेरो ध्यान भने बाको भात पाकिरहेको ताउलीमै थियो ।

पाकेपछि बाले कुटुरोबाट नूनको ढीको र सिलमको धूलो झिक्नु भो । गोरस थिएन ।बाले लसक्क सिलैाटामा त्यो नूनको ढीको पिस्न लगाएर त्यै नून र सिलमको धूलो भातमाथि छर्कनु भो र कपाकप खान थाल्नु भो। मलाई बडो नरमाइलो लाग्यो । पिताजीले "यस्तो चलन ता हटाउन पर्च" भन्नु भो तर बाले मान्नु भएन । "अब मेरो जीउ छन्जनीला अघिदेखीको चलन मैले छोड्दिन" भन्दै घुटुक्क पानी पिउँदै निस्तो भात किक्लिक किक्लिक निलीरहेको देख्दा अनायास मेरा आँखामा आँशु आए । मैले आमाको धोतीको सप्को तानेर जिज्ञासु आँखाले आमालाई हेरें । उहाँले मेरो अँधेरो अनुहार देखेर सम्झाउँदै भन्नु भो - "छोरीचेलीका घर्को अन्न, नून खान हुन्न भनेर बाले हाम्रो घरको अन्न नखानएको हो" ।

छ/छ वटी छोरी लिन बा यसरी नै हरेक तीजमा आफ्ना लागि अलिकति चामल, नून र सिलमको धूलो समेत कुटु-याएर बर्षैां हिड्नु भो । त्यो तीजको खाजा खाने (हाम्रा तिर दर खाने भन्दा खाजा खाने वा एकभक्ते भन्ने चलन चल्तीमा छ । खाजाको मतलब नास्ता हैन, कुहिनाबाट चुहिने गरी खान घ्यूमा पकाएको भात हो ) दिनको अघिल्लो रात बा हाम्रा घर आउनुभएको थियो । खाजा खाने दिन बिहानै ज्वाइँसग बाले बिन्ती बिसाउनु भयो - "ज्वाइँ, यो छोरी तीजमा माइत नगएको धेरै बर्ष भयो, अहिले त पठाउनुस् है" । 

"पठाउन ता हुन्तो कर, हेर्नुस्तो, यत्रा केटा'टी छन् । इनी चिचिभुँडीला' क'ले पकाएर ख्वाउँच र हो... दिदीहुर आउलान्, म बिरामी मान्छे..."। आमा बलेनीको आड लाएर कुरा सुनिरहनु भएको थियो । तरक्क आँसु पुछ्दै करेसा पछाडी जानु भो । बाले अघिल्लो दिनका दिन कुम्लो पारेर ल्याएको च्यादर पट्याएर काँधमा राख्नु भो र "नानी, यो हर्पे र चैांठी केटा'टीका हात पठाइदेस् है" भन्दै बाटो लाग्नु भो । आमाले जवाफ फर्काउन पनि सक्नु भएन । तल तगारोमा पुगेर पछाडी फर्केर पिलिक्क हेर्नुभो बाले । बा गैरहेको हेर्दै आमाले धोतीको सप्कोले आँशु पुछ्नु भयो । परैबाट बाबुछोरीका आँखा चार भए । "दशैंमा त टीको लाउन एक फिटिक जसोरी भए नि आएस् है छोरी, म डाँडा माथिको जून, कति पो बाँचुला र" भन्दै बाले अरूले नदेख्ने गरी आँशु पुछ्नु भो र पछाडी नहेरीकनै लमकलमक बाटो लाग्नु भो ।

खेत गोड्नको माचामाच थियो । गहुँको पीठो भूटेर ठेकीभरी मही राखेर कम्मरमा नाम्लो बाँधेर आमा खेत तिर लाग्नु भो । हातमा एउटा सानो ट्वाँली (हँसिया) लिएर म पनि पछिपछि लागें । "भरे त चाँडै खाजा खान आउन पर्च है आमा । अरूका त आज मेलामा (काममा) जानि रोइन्चन् । हाम्ला मात्रै तीजका दिन पनि मेलाँ जान पर्नि "- म सुस्तसुस्त फतफताएँ । "हुन्च हुन्च, मेला'ट अलि चाँडै आम्ला" भन्दै आमा अघि लाग्नु भयो । पाSSरी महाभारत पहाडको टाकुरामा हाम्रो मावली घर एउटा सानो छायाँ जस्तै देखिन्थ्यो । आमा हिड्दाहिड्दै टक्क अडिनु भो र यो गीत गुनगुनाउनु भो -

बाबाको पछि लागि माइत जाने बेलामा
महीको ठेकी बोकेर रूँदै मेलामा ।।

हाम्रा लागि त आमा मावल नगएकै जाती हुन्थ्यो । आमाको पछि लाग्न पाउने भाग्य काखकी बहिनीको मात्रै हुन्थ्यो आमा माइत गए पनि । तर आमा एकभक्तेका दिन हामीलाई पेटभरी खुवाएर बाहिर निस्कनु भयो र त्यो हाम्रा स्याना आँखाले नठम्याउने उहाँको प्यारो माइति घर हेरेर बरर्र आँशु खसाल्नु भो । अर्को दिन डाँडामा (तीजको गीत गाउन गाउँका सबै जम्मा हुने ठाउँ) मा थुप्रै जम्मा भए । मादल बजाएर तीजको गीत गाउने चलन थिएन । थपडी बजाउँदै गाउँदै नाच्दै गर्ने चलन थियो- बाहुन क्षेत्रीको । दलितहरू भने मादल गम्काएरै नाँच्थे गाउँथे, एउटा छेउमा । ८४ पार गरेकी हजुरआमा कम्मर मर्काइ मर्काइ नाच्नु हुन्थ्यो र स्वाँस्वाँ गर्दै तीजका यी गीत झिक्नुहुन्थ्यो -

कस्ता होलान् पशुपति कस्तो होला नेपाल
झिंगटीले छाएको त्यै हो नेपाल......

......शिरफूल लाउँदा लाउँदै माथि आए घाम
लोग र पनिचले हेर राम..... ।

त्यो तीज तीस बर्ष अघिको थियो । हजुरआमाहरूलाई नेपाल झिंगटीले छाएका घरहरू भएको बजार होला भन्ने लाग्थ्यो होला र त त्यस्तै गीत गाउनु हुन्थ्यो । मेरी आमा आफ्ना ८ सन्तानलाइ घरमा छाडेर तीजमा माइत जाने आँट कहिल्यै गर्नुभएन तर पनि प्रत्येक एकभक्तेका दिन महाभारत पहाडको टाकुरा नेरै रहेको माइति गाउँ हेर्दै उहाँका आँखाबाट गुड्ने ती आँशुका दाना सम्झेर म भावविभोर हुन्छु र अहिले शहरमा तीन महिना पहिले देखी दर खान भन्दै हिड्ने, वाइनका गिलास ठोकाउने र हिन्दी गीतमा नाच्ने तीज सम्झेर रनभुल्ल पर्छु ।

सान सेबाष्टियन, स्पेन
एकभक्ते, २०६९ भदैा ३१

Tuesday, July 17, 2012

हामी र उनीहरू


हामी र उनीहरू

ती जुध्थे, पछारिन्थे र खरानीको थुप्रोबाट फेरी बैारिन्थे
डार्बिनले भनेझैं साँच्चि ती बाँदरका सन्तान थिए,
तिनकहाँ बालुवा र खरानीको अपरिमित थुप्रोमात्र थियो
बारम्बारका चोट, प्रतिघात र मुर्खताका किताबबाट तिनले सिके,
कोसैां टाढाको सागरबाट तिनले पानी बोके,
बालुवाको थुप्रोमा हरेश नखाइ सिंचिरहे
त्यहाँ एउटा बाँस रोपे, त्यो बढ्यो
छहारी भयो- मानिसहरूका लागि, चराहरूका लागि, यात्रीहरूका लागि,
कुनैबेलाका मरूभूमीले स्वर्गलाई माथ दिइरहेछन् अचेल ।

तिनले बालुवा पेले, हावालाइ निचोरे र पानीबाट आगो बाले,
होमो सेपियन्स नामक बाँदरका सन्तान,
ती संसार फैलिए र सर्वत्र रजाइँ गरे ।

भगवानले एकैचोटी मान्छेको रूपमा श्रृष्टि गरेका हामी
उनको अमूल्य बगैंचा उपहार सित्तैमा पाएका हामी
"माथि नहेर, तिम्रो संसारलाइ नै स्वर्ग बनाउ" भन्ने ईश्वरीय आदेश पाएका हामी ।
हरे! हामी त्यस बगैचामा कुद्यैां, उफ्रियैां र बँगैचा फाँड्न थाल्यैां
बाँसघारी फाँडेर धनुष बनायैां र आश्रित चराहरूको शिकार ग-यैां
सुनलाई बालुवा बनायैां, हावालाई असह्य दुर्गन्धमा बदल्यैां
र पानीलाई ढलमा सुतायैां
बिरासतमा पाएका किताबहरू
नयाँ किताब लेख्ने भाषण गर्दै च्यात्यैां
वा ढोगेर बसिरह्यैां ।

अति गैारवमय, महान-प्रतापि लोकतन्त्रवादी, समाजवादी, साम्यवादी
र जातिवादीहरूको कुशलतम नेतृत्वमा !
हाम्रा अगस्त्य कर्मचारी र बिदेशीको कलो चाटेर भाइ लडाउनेका कृपाले
पुर्खैां देखिका मानिस हामीहरू
बाँदरका सन्तान बन्दैछैां
हाम्रा उत्तरआधुनिक, महान क्षमतावान (???)
नेताहरूलाइ सलाम, शासकहरूलाइ सलाम (!)
यिनका असीम निगाहले
हिरा, मोती र जवाहरातका थुप्रोबीच
बाँदरका सन्तानहरूसँग
बटुको थापिरहने सैाभाग्य जो पाएका छैां
तिनका खेती स्याहार्दैमा एकबारको जुनी सिध्याउने
अत्यन्त सहनशील, भोका नांगाहरूलाइ सलाम ।

पहाडको एक कुनाको मान्छे, मलाइ भने,
भगवानले शुरूमै बाँदर नबनाइदिएकोमै पछुतो छ,
शायद, आजसम्म हामी मान्छे भैसक्दा हैां।
सान सेवाष्टियन, स्पने
१७ जुलाइ, २०१२

Sunday, June 10, 2012

हाम्रा नवयूगका कविहरू

हाम्रा नवयूगका कविहरू

हाम्रा कविहरु - यी निराशाका पुन्जहरु
हाम्रा कविहरु - यी शोकका सुस्केराहरु
सधै सधै उच्छ्वासका राग अलाप्छन
यी न्याउलीका विरहमा कुम जोर्छन ।

"तोल्स्तोई"का साहित्यले मोहनदास "गान्धी" बनेथे
हाम्रा राजनीतिका खेलाडीहरु
"गोर्की" को आमा पढ्छन र आफ्नी आमाको पेटमा लात हान्छन
तर,
तर हाम्रा कविहरु चेतनाको गीत गाउन  जान्दैनन्
"रिमाल" को बिरासत ओढेर यी खोक्छन
"एक युगमा एकदिन एक चोटी आउँछ"
यी त शकुनीको पाशामा हारेका जुवाडे हुन्
द्रौपदीको चीर हरणमा घोसे मुन्टो लाउँछन्
र पाण्डवको बनबासमा बिरह पोख्छन ।

यी सिंग फुक्लेका गोरुहरु हुन्
जो भैसी देखेर डुक्रंन्छन 
खोई यिनका शब्दले अन्याय डराएको ?
खोई यिनका प्रहारले लूट घाइते भएको ?
खोई यिनका आलापले भ्रस्टाचार गलेको ?
खोई यिनका गन्थनले झूट चुप लागेको ?

हाम्रा कविहरु,
बिरामीको दबाई  खोज्न होइन,
ब्रह्मनालको शोक गानमा खुल्छन
यी कि त रुन जान्दछन कि त स्तुति गर्न
ज्ञानीहरु भन्छन- कविको कुनै गोत्र र जात हुँदैन
ति "शबरी" होउन या "बाल्मिकी"
आफ्ना आस्थाका बलले "मालिक" लाई गलाउँछन
तर,
हाम्रा कविहरु
यी त नपड्कने बन्दूक हुन्
खोई देशमा शकुनी राज चलेको बेला यिनको गर्जन ?
खोई जनता जंगलमा हराएको बेला यिनको सुसेली ?
खोई लुटेरा मन्केको बेला यिनको खबरदारी ?
यी त आफै पुरस्कार घोषणा गर्न र आफै थाप्दैमा बेफुर्सदी छन् ।

हामीलाई चाहिएको छ "तोल्स्तोइहरु"
हामीलाई चाहिएको छ "ठाकूरहरु"
जसका दुई लाइनले जनता जागोस
चेतना फर्कोस र एकता मौलाओस
लुटेराहरु, जालीहरु र भ्रस्टहरु बेहोस होउन
भोलि उज्यालो होला भनेर "भ्रमर" प्रतिक्षा गर्ने समय छैन
घिसारेर ल्याउनु पर्छ आजै त्यो घामलाई
खोसेर ल्याउनु पर्छ अहिल्यै त्यो उज्यालोलाई
के  तिमीहरुका शब्दमा त्यो दम छ?
होइन भने,
धिक्कार छ तिमी र मा जस्ता भुरे टाकूरे कविहरुलाई
याद रहोस्
हाम्रा ताम्रपत्रहरुमाथि  नातिले  पिसाब नफेरोस
तिख्याउ तिम्रा कलमका नीवहरु।

भीष्मकुमार भूसाल
सान-सेवाष्टियन, स्पेन
१० जुलाई, २०१२

Sunday, April 8, 2012

बालकथा- आमाको माया


आमाको माया
हिजोसम्म रमिलालाई आमाले यसो नगर, उसो नगर भनेको फिटिक्कै मन पर्दैनथ्यो । यो खाउ, त्यो नखाउ भनेको पनि मन पर्दैनथ्यो । "मैले आफूले मन लागेको गर्न पनि नपाउँने? यस्तो आमा त कसैको हुँदैन" - ऊ फत्फताइरहन्थी ।
"आमा ! तपाईंले पनि खाने भएमात्र म हर्लिक्स खान्छु, नत्र खाँदै खान्न । अब जे पनि हामीले सँगै खाने है आमा ! तपाईंले कति माया गरेर खानेकुरा बनाउनु हुन्छ । मीठोमीठो जति मलाई नै दिनुहुन्छ, तर पनि मैले तपाईंलाई कहिल्यै जस दिइन । मलाई माफ गर्नुस है आमा !"- रमिलाले निन्याउरो अनुहार पार्दै आमाको अनुहारमा हेरिरही ।
आमालाई रमिलाको कुरा सुनेर अचम्म लाग्यो । मनमनै आफ्नी छोरीले आफूलाई माया गरेर देखेर मख्ख भइन् । तर किन आज छोरीले यस्तो कुरा गरेकी होली भनेर उनलाई अचम्म लाग्यो । "हैन के भयो छोरी आज तिमीलाई ? हिजोसम्म त यस्ता कुरा गर्दैनथ्यैा त !"
" छ नि आमा, त्यो हाम्रो मूलढोकामाथि गुँड बनाएको गैांथली थियो नि, हो त्यसको माउलाई बिरालाले खायो नि आज ।"- रमिलाले आँसु खसाल्दै भनी । रमिलाका आँखामा आँसुका ठूला ढीक्का भरिए । उसले सम्झी -

गैांथलीले कत्रो मिहिनेत गरेर हिलो बोकेर गुँड बनाए । त्यस गुँडमा तिनले फुल पारे । ५ वटा बच्चा काढे । जब ती बच्चाका पँखेटा पनि उम्रेका थिएनन्, आँखा पनि देख्दैनथे, त्यसबेला माउ चाहींले झरी, बादल नभनी चारो खोजेर ल्याउँथे । चारो लिएर आएकी आमाको चाल पाएर सबै बचेरा आँ आँ गर्थे एक्कै चोटी । सबै बच्चा उस्तै थिए तर आमाले कसरी चिनेकी सबैलाई ? एकपटक ल्याएको चारो एउटा बचेरालाई दिन्थी, फेरी ल्याएको चारो अर्कोलाई दिन्थी । कस्तो बराबर माया गरेकी नि सबैलाई ! दिनभरी बच्चालाई नै चारो खोज्न जान्थी, कतिबेला आफूले खाँदी हो? निकै दुब्लाएकी थिई आमा गैांथली । तर पनि कहिल्यै थाकेजस्तो गरिन उसले ।
 पखेटा राम्ररी पलाएपछि त्यस बिहान बचेराहरू फुत्रुकफुत्रुक गुँडबाट ओर्ले । भुईंमा खस्ने बित्तिकै उड्न खोजे । धेरै जसो उडिहाले । तर एउटा चाहींलाई बिरालोले च्याप्पै समात्यो । माउचाहीं तुरून्तै बिरालो माथि झम्टी र बिरालोलाई ठुङ्न थाली, उसले बचेरालाई छोडिदियो र माउलाई समात्यो । बचेरो अत्तालिँदै उड्यो । बचेरालाई फेरी बिरालाले समाउँला भनेर ऊ निकै पिरोलिएकी थिई । बिरालोले आफूलाई मुखमा हाल्दासम्म पनि  ऊ बचेरो रूखसम्म पुग्न सक्यो कि सकेन भनेर हेर्दै थिई ।
"आमा ! सन्तानका लागि पशुपन्छीका आमाले पनि कति दुख उठाउँछन् हगि ? ज्यानै दिन पछि पर्दैनन् । तर बच्चाबच्चीहरू भने आमाको माया कति छिटो बिर्सन सकेका ?"- रमिलाले सुँकसुकाउँदै भनी ।
"नरोउ छोरी ! तिमी कति समझदार भइछ्यैा ।"- आमाका आँखामा पनि आँसु डबडबाए । उनका आँसु गैांथलीको पीरले पनि आएको थिए र समझदार छोरीको मायाले पनि ।

ईष्टर, ८ अप्रिल, २०१२
चैत्र २६, २०६८
सान सेबाष्टियन, स्पेन

यादहरू

यादहरू                                                                        (छन्दः शिखरिणी)
उदासी यो सन्ध्या, अझ कति उदासी मन छ यो
फगत् देहै याहाँ, तर मन तिमी मै पुगिगयो ।
दिनै बित्दो होला, अलि सहजले दुर्धर निशा
चिथोर्दो सन्ताप्ले, भिजिभिजि हुँदा हुन् गह चिसा ।।१।।

अत्यासै लाग्दो हो, तिरिरि मुरलीको धुन पनि
परेली भिज्दा हुन्, अझ कति छचल्की ति नयनै ।
निकै टाढाटाढा, क्षितिजपरका ती चुलीहरू
अठ्याई राख्दा हुन्, उकुसमुकुसको मन चरी ।।२।।

मुखैमा छ हाँसो, तर मन रूँदो छ धरधरी
चुलोमा छ भोजन् तर मन डढेको चरचरी ।
तिनै लालाबाला, रमझम गरी हुन् खुश भनी
सबै गर्छ्यैा प्यारी !  तर मन पियाको सँग छ नि ।।३।।

बसन्ती आशामा, कठिन शिशिरादि पनि सहू
म पग्लेको मायाँ, अति छ बलियो निर्भय रहू ।
तिमी नै उर्जा हैा, तपजप सबै हैा सुखमयी
म फर्कुँला छिट्टै, नवरवि सुनैाला सँग लिई ।।४।।

ईष्टर, ८ अप्रिल, २०१२
२६ चैत्र, २०६८
सान सेबाष्टियन, स्पेन

Tuesday, March 27, 2012

लघुकथा- सपना कतिपय

सपना कतिपय
“आऊ, हात मिलाऊ”– मैले भने
“अहँ, तिमी मेरो पार्टीको हैनौ”– उसले भन्यो
“हाम्रो स्कूलका लागि ढुङ्गा बोकौं”
“अहँ, हाम्रो नेताले बजेट पार्छ”
“अड्डामा घूसको प्रतिवाद आफै गर”
“हैन, मैले नेतालाई भन्न लगाएको छु”
“हाम्रो स्कूल सुधार गरौं– बच्चाको भविश्य बरबाद हुने भो”
“मेरो साथी हाकिम छ, म उसलाई भन्न लगाएर राम्रो स्कूलमा भर्ना गर्छु”
“टोलको ढल भत्केछ– लौ न मर्मत गर्न जाउँ”
“त्यो नगरपालिकाको काम हो– हामीले गर्ने भए किन चाहियो चुनाव? नेता?”
“विश्वविद्यालय तहसनहस भो, लौ न आवाज उठाउँ”
“मेरो छोरालाई त दूतावासमा भनसून गराएर बिदेश पठाउँदैछु,
उतै पढ्ला ।”
...............................   ..................................
...............................    .....................................
“साला! मलाई त्यत्रो सपना देखाए तिनीहरुले,
अहिले मेरो बिचल्ली भो”– उसले भन्यो
“जसका आफ्ना सपना छैनन्,
सपना हुनेको पनि आफूप्रति विश्वास छैन,
अर्काको सपनाबाट रोमाञ्चित हुनेहरुको गन्तव्य
शून्यवाट शुरु हुन्छ र त्यहीं अन्त्य हुन्छ,
तिम्रा सपना आफै देख र तिनलाई पाउन आफै अघि सर,
हिंड, फ्याँकिदेउ भ्रमको लाठी
हाम्रो उज्यालो सूर्य खोज्न हाम्रै खुट्टामा भर परौं”– मैले भने ।
ऊ टोलाइरह्यो, झसङ्ग झस्क्यो र फेरी जोशिलो भयो
“अब मेरा आफ्नै सपनाहरु हुनेछन्
तिनको खोजीमा म आफैलाई कोलम्बस बनाउने छु
मानिसले नै बनाएको हो– स्वीजरल्यान्ड र स्वाजिल्याण्ड”– उसले भन्यो ।
अब हाम्रो गोरेटो समयमै कोरिने छ....जसमा हिड्दा हामी गौरवान्वित हुनेछौं ।






सान सेवाष्टियन, स्पेन
२७ मार्च, २०१२ (चैत्र १४, २०६८)

Thursday, March 15, 2012

एक टुक्रा गिदी र एक चौथाई चोखो मन


एक टुक्रा गिदी र एक चौथाई चोखो मन

धन्यवाद ईश्वर !
फूलहरूमा भरिदिएको रङका लागि
अदृश्य हावामा भरिदिएको प्राणका लागि
एक टुक्रा रोटीमा राखिदिएको स्वादका लागि
एक घुट्को पानीमा भरिदिएको तृप्तिका लागि
अपरिचितसँगको एकैछिनको भेटमा खुस्किने मुस्कानका लागि
घाम-छायाँ, बसन्त-शिशिर, अँध्यारो-उज्यालोका लागि ।

धन्यवाद ईश्वर!
एउटा नयाँ दिन, उदाउँदो सूर्य दिएकोमा
बर्षौं पर्खन र सहन सक्ने धैर्यता दिएकोमा
अनिश्चित भोलीका लागि आशा दिएकोमा
सानो खुशीसँगै अनन्त दुःख बिर्सने शक्ति दिएकोमा ।

प्रभू !
तिमीले आँट दियौ -धमिलो खोला तर्नका लागि
तिमीले पखेटा दियौ - विचारमा लाखौं कोष टाढा उड्नका लागि
तिमीले इर्श्या दियौ - प्रगतिको प्रयत्नका लागि
तिमीले दृष्टि दियौ - सुन्दरताको परख र रक्षाका लागि ।

अब एउटा मात्र माग छ तिमीसँग
अलिकति पुगेको छैन हामीलाई
थपिदेउ अलिकति प्रत्येक मानिसका मष्तिष्कमा
दया, प्रेम, धैर्यता, आशा, न्याय र सच्चरित्रका लागि
"एक टुक्रा गिदी र एक चौथाई चोखो मन"


सान-सेवाष्टियन, स्पेन
मार्च १४,  २०१२

Monday, March 12, 2012

A Letter to Death


Dear Death!
You accompanied me the very day I came out from mother's womb
Following me as a shadow of mine…everywhere…every time
Parents would leave, family would say goodbye
But you would be always with me
I am proud of you dear death….to befriend you as a reliable one.

Having descended with this selfish body
I have some parsimonious requests to you
I have a few jocose kids
They would learn to ascend an acclivity
They would dare to cross a small blear brook
Their blossoms of dream would start to bloom.

I have a decorous wife
She would see my resemblance in her growing kids
And would be able to forget me
I have some convictions, they would be rooted firmly
Some hopeful eyes are looking toward me
They would be satiated.
The impure scars in my body
They would be swept away.

Once the warm rays of peace twinkle in my land
The people beyond the power center could enjoy it
In the dawn of blooming of prosperity
May the people would believe on toil and sweat for a better tomorrow!
In the time, the city jollying in festival of lights
In the time, the remote village would be thrilled in ancient dance
I would embrace you with a cute smile.

I don't need anything more, death!
During my long march to eternity with you
May some strange eyes would filled with tears in my departure!
In the alma-matar where I learnt the first syllable
Pupils would tell my story
When the golden sun-beams would be descending along the Himalayas
In one beautiful dawn of spring
Sooner or later, I don't care
I would surrender myself in your embrace.

San-Sebastian, Spain
7 March, 2012

Popular Posts (लोकप्रिय रचनाहरू)