मन परे लाइक

Monday, January 23, 2012

तेह्र सुका

तेह्र सुका
क्रुर थिए ती भाइप्रति । ऊ ठूलै हुँदासम्म पनि उसप्रति दाजुको व्यवहार निकै रुखो रह्यो । हलल्ल हाँसो सँगै झस्कियो ऊ । राँको बालेका केही भैले साथीहरु उतिर हेरेर खित्का छोडिछोडि हाँसिरहेका थिए ।

भएछ के भने दाजुले “ए गधा ! उठ् ” भनेर भ्वाक्क लात्ताले हान्दा उसले हड्बडाउँदै भनेछ –“भैलो....”। निधारभरी तिहारमा जाँतोलाई हालेको बसुधाराका छाप बसेर नाकका पोरा हुँदै चिउँडोसम्मै तिल्के भएको रहेछ ऊ । तेलको लर्को लपक्कै बसेको उसको अनुहारलाई छड्के पारी साँध छुट्टयाएजस्तो गरी । झन् उसलाई हेर्दै हिलिल्ल हिलिल्ल हाँस्न थाले अरु । आँखा मिच्दै, डरले काम्दै र अलमल्ल पर्दै थियो गोरे । जिज्ञासापूर्ण आँखाले भैले साथीहरुतिर हे¥यो र दाजुसम्म आँखा दौडायो अनि दाजुका क्रोधयुक्त आँखामा आँखा जुधे, अनि निहुरियो ऊ ।

असाध्यै रहर गरेर भैले खेल्न आएको थियो ऊ । दाजुले घरबाट तल आउँदासम्म पनि पछाडी फर्कंदै लखेट्दै गरेथे । ऊ चिच्याउँदै घरतिर फर्कन्थ्यो र फेरी सय सवासय मिटरको दुरी कायम गर्दै पछि लाग्थ्यो दाजुका । “तेरो के खाइदिन्छ र टोकस्छस् ए !” हप्काउनुभएथ्यो बाले । बाका सामु जवाफ फर्काउने हुति त तिनमा थिएन, बाले नदेख्ने गरी गोरेलाई चिमोटेर भएपनि ती आफ्नो रीस मत्थर पार्थे । अरु भैलेहरुले गोरेप्रति सहानुभूति समेत देखाउँदै भनेका थिए –“नचला भो, सानै भएपनि भैलो भट्ट्याउन पालो दिन्छ ।” उसको गाउँतिर केटाहरुले खेल्ने देउसीलाई भैलो भनिन्थ्यो ।

त्यत्ति त थियो उसको सम्पत्ति । सानू थियो । दौतरी मिल्दा थिएनन् । तर उसले भट्ट्याउन जानेकाले लैजान्थे सँगै भैलो खेल्न । त्यस रात पारीको गाउँमा पुगेका थिए तिनीहरु भैलो खेल्दै । उसले भट्ट्याउँथ्यो मसिनो खिरिलो नारीस्वरमा, “भैलोऽऽऽ” भन्थे रुद्रघण्टी एक इन्चसम्म बाहिर निस्केकाहरु । घरमूलेहरुलाई जिज्ञासाको बिषय हुन्थ्यो, निस्किहाल्थे भैले (वा भैलो ?) हेर्न । “यत्रा बिबिराले कस्तो राम्रो  भट्ट्याएको...”भन्दै दङ्ग पर्थे ती ।

रातको साढे दुई बजिसकेको रहेछ । उसको पालो थिएन  भट्ट्याउने । निदाएछ भुसुक्कै जाँतोको मानीमा टाउको अड्याएर । पारी पुगेछ भैले ग्रुप । ऊ हराएको तब पत्ता लागेछ जब उसको भट्ट्याउने पालो आएछ । खोज्दै आएछन् दाजुसहित अरु केही । ऊ फेला प¥यो जाँतोमा टाउको घोप्टाएर निदाईरहेको । दाजुले लात्ती प्रहार गर्दा ऊ सपनाइरहेको रहेछ । सपनामा उसलाई भैलो भन्न लगाउँदै कसैले चिमोटेछ र उसले जोरले भनेछ “भैलोऽऽऽ” ।

त्यही थियो ऊ नींदबाट जाग्दा सबै हाँस्नाका कारण । ऊ साथीहरुको पछि लागेथ्यो लुरुलुरु । तीन दिन र तीन रात पुरै भैलो खेले उनीहरु । पैसा कति जम्मा भएथ्यो थाहा पाएन उसले । हिउँदमा भैलो खाने बेला हुन्थ्यो । त्यो समूहले दुई चरणमा भैलो खाने निश्चय ग¥यो । अहिले उसको कुनै भूमिका थिएन । केबल अरु जे अह्राउँथे त्यही गरेथ्यो उसले । शाकाहारी थियो ऊ । खसी काटे दुबै पटक । थुप्रै निम्तालु बोलाए र भतेर लाए । टपरीमा खाजा (घ्यू हालेर पकाएको भात) र सोयाबिनको तरकारी लिएर छेउमा एक्लै बसेर खाएथ्यो उसले । गिज्याउँथे सबै उसलाई पण्डितजी भनेर । एक्लो शाकाहारी थियो ऊ त्यत्रो भैले र निम्तालुको बीचमा । आखिर पैसा पुगेन दोश्रो चरणको भैलो खाने खर्चका लागि । प्रत्येक भैलेभाइले तेह्रसुका उठाउनु पर्ने भयो । एक दुईजनाले त भैगो गोरेले मासु पनि खाएन उसलाई माफि गरिदिउँ पनि भनेका हुन् तर धेरैले मानेनन् । उसले पनि तिर्नुपर्ने भयो तेह्रसुका । खै अरुले कहाँबाट ल्याएर तिर्थे तर उसलाई त्यो रकम थियो महाभारत । ऊ भैलेभाईको निर्णयबाट पिलित्त रोयो तर दाजुले नै हकारे उतिबेला कति गरेर पछि लाइथिस् भनेर । हो मा हो थपे अरुले ।

साँच्चै कुनै उपाय थिएन उसँग । आमासँग रोएको पनि हो ऊ । बिचरी आमा पो के गर्न सक्थिन् र ? “मावल जा, आँवै (हजुरआमा) ले टीको लाएर दिनुहुन्छ कि” भनिथिन् उनले । मावलीले पनि कहाँबाट दिन्थे र । मामा थिए एउटा । नौ बहिनी छोरीपछि हरिवंश लाएर जन्मेका रे । उनीभन्दा जेठा भाञ्जाहरु नै थिए आधा दर्जन । कसकसलाई दक्षिणा दिउन् ? कहाँबाट ल्याएर दिउन् ? हरिवंश लाएर जन्मेका मामाको हरिविजोग थियो नालनाताले । गोरे गयो मावल । एक मोहर दिनुभयो आँवैले । त्यही पनि तिर्न पाए ग्यारह सुका मात्र बाँकी रहन्थ्यो भन्ने थियो उसलाई । तर भैलेको टोलीनेता पुण्डरीले मानेन पुरै पैसा नभै । केही दिनमै त्यो एक मोहर पनि हरायो । पुण्डरीले पुरा पैसाका लागि अत्याउँदै जान्थ्यो, गोरेको नींद हराम हुने क्रम बढ्दै जान्थ्यो । केही सीप नलागेपछि पुण्डरीलाई देख्नासाथ लुक्न थालेथ्यो ऊ ।

पढाइमा त जिरेखुर्सानी थियो गोरे । त्यही त उसको आपद्विपद्को समेत साथी हुन्थ्यो उसलाई । सातमा थियो ऊ त्यसबर्ष । सामाजिक शिक्षा भन्ने नयाँ किताब आएको थियो । उसले पनि किनेको थियो त्यो किताब । दाजुकै पुराना किताब हुन्थे उसलाई । त्यो नै एकमात्र नयाँ किताब थियो । किताबको बीचबाट हरर्र एक किसिमको बास्ना आउँथ्यो नयाँमा । ऊ नयाँ किताबको बास्ना लिएर गर्वित हुन्थ्यो बेलाबेलामा । एकदिन पुण्डरी ऊ बसेको कक्षामै आयो र झोलाबाट त्यही नयाँ किताब खोसेर लग्यो पैसा तिरेपछि मात्र फिर्ता दिने शर्तमा, जुन कुरा गोरेका लागि असम्भव थियो । केही दिन रोयो गोरे एकमात्र नयाँ किताब खोसिएको र आफूलाई किताब नभएको पीरले । तर के नै पो गर्नसक्थ्यो र ?

सामाजिक शिक्षा उसलाई अति मन पर्ने बिषय थियो । किताब भएन त के भयो, साथीहरुको किताब पढ्थ्यो दिउसोको हाफ छुट्टीमा । त्यतिबेलै सक्थ्यो गृहकार्य सामाजिकको । ऊ अर्कै स्कूलबाट गएको थियो त्यहाँ , छ कक्षामा भर्ना हुन । रैथानेहरु नयाँ आएका विद्यार्थी पहिला, दोस्रा भएको देखिसहँदैनथे । कक्षामा अगाडी बस्न समेत दिंदैनथे । असाध्यै हेप्थे तिनीहरु अरु स्कूलबाट आएकालाई ।

अर्धवार्षिक परीक्षा आयो । त्यसैबेला रामेको सामाजिक शिक्षाको किताब हरायो । उनीहरुले गोरेमाथि नियतबश शंका गरे । त्यसको कारण थियो गोरेलाई तेजोवध गर्नु । गोरे गरीब थियो त्यसैले उसलाइ आरोप लगाउन पनि सजिलो थियो । परीक्षाको नतिजा निस्क्यो । गोरे सयमा सन्तानब्बे अंक ल्याएर प्रथम भयो सामाजिकमा । अनि त के चाहियो ? गोरेले नै चोरेको हो रामेको किताब भन्ने ब्यापक गरियो । किताब नचोरेको भए बिना किताब कसरी त्यत्रो नम्बर ल्याएर फस्र्ट भयो भन्नेहरु सबै भए । अझ शिक्षकहरुले समेत सही थापे । उसको निर्दोषिता सावित गर्ने भगवान बोल्दैनथ्यो त्यहाँ । यस संसारमा गरीब र निर्धाहरु नै चोर हुने, बिधवा र बुढीहरु नै बोक्सी हुने संस्कार त ज्युँदै थियो नै । ऊ अपमानित हुँदै रुँदै ग¥यो । किताब फर्काउन भन्दै धम्काइयो सबैबाट । कहाँबाट फर्काउँदो हो उसले किताब । आखिर सात रुपैया पच्चिस पैसाको किताबका नाममा उसले स्कूलमा फिस तिर्न लगेको दश रुपैंया खोसे– रामे र उसका साथीहरुले । आफ्नो असहायपनमा गोरे भित्रभित्रै कुँडियो । तर पनि आफ्नै पीरको भुङ्ग्रोमा डढीरहनु बाहेक कुनै उपाय थिएन उससँग ।

त्यो दश रुपैंया अघिल्लो महिनाको फिस बुझाउनु पर्ने थियो । बासँग त्यो रुपियाँ लुटिएको सुनाएर अर्को दश रुपियाँको आशा गर्नु केवल शरीरमा सिस्नोपानीका सुम्ला निम्त्याउनु मात्र हुन्थ्यो । बालाई त्यो दश रुपियाँ जुटाउनु नै कम्ती सास्तीको कुरा थिएन अर्कोतिर । आखिर स्कूलबाट फीस नतिरेको कारणले निकालिनुपर्ने दिन र त्यसको परिणामको भयावह कल्पनामा छट्पटाइरह्यो गोरे ।

अरुण सर थिए कक्षा शिक्षक । साह्रै मायालु पाराले पढाउँथे उनी । बिज्ञानका शिक्षक थिए । उनैले उठाउनु पथ्र्यो त्यो कक्षाका विद्यार्थीको फिस । अरु शिक्षक भए उहिल्यै गोरेको गालामा कति पञ्जाछाप लगाएर उसलाई निकालिसकेका हुनेथिए । कतिपय त आतंकको छायाँ नै थिए खास गरी पढाइमा कमजोरहरुका लागि । तर अरुणसर ती सबैबाट नितान्त भिन्न थिए । आँखामा राखेपनि नबिझाउने ।

अर्को महिनाको सत्ताइस गइसकेको थियो । फिस त चालू महिनामै बुझाउनु पथ्र्यो । तर खै ? कुनै उपाय फेला परेको थिएन गोरेका लागि । ऊ भयभीत भएर केवल भवितव्यको प्रतिक्षा गरिरहेको थियो । प्रत्येक रातहरुमा नीद्रा बिथोलिएको हुन्थ्यो । स्कूल हिंड्ने बेलामा सधैं मुटु ढुक्क फुल्थ्यो आज फिस मागेभने के गर्ने होला ? के गर्ने होलान् सरले ? ओहो ! पढाइमा त्यो बेइज्जतिपूर्ण दिनको कसरी सामना गर्ने होला ? यी चिन्तनले गोरेलाई यसरी डसिरहेथे कि ऊ खुर्लुक्कै दुब्लाइसकेको थियो । कुनै सरले जुनसुकै प्रसंगले उसलाई बोलाएपनि उसको होसहवास उडेको हुन्थ्यो ।

आखिर त्यो दिन आउनु नै थियो । कक्षामा चालू महिनाको फिस चढाउँदै गरेका अरुण सरले उसको नाम बोलाउँदै सोधे –“तिमीले अघिल्लो महिनाको फिस बुझायौ ?” । गोरे कर्कलो गलेझैं लल्याकलुलुक भयो । उसका खुट्टाहरु लुगलुग काम्न थाले । पिसाबले अत्यायो एक्कासी उसलाई । उसको जिभ्रो तालुमै टाँसिएजस्तो भयो । अनुहार पहेंलियो । उसले न त बुझाएँ भन्न सक्यो न त बुझाइन नै भन्न सक्यो । ऊ अलमल्ल परेजस्ता,े हडबडाएजस्तो देखेर अरुण सरले फेरी त्यही प्रश्न दोहो¥याए –“तिमीले अघिल्लो महिनाको फिस बुझायौ भनेको ?”

“ह..हजुर सर”– खोई कुन्नि के को प्रेरणाले हो, झुट बोल्यो गोरे । यसो भनिरहँदा उसको आवाज काँपिरहेको थियो । ऊ घोप्टो परिहाल्यो । अरुण सरले अलिबेर उसको अनुहारमा गौर गरेर हेरे । उसले टाउको उठाउन सकेको थिएन । “यता हेर त”, अरण सरले भने, “यो महिनाको फिस मसान्तसम्ममा ल्याउ है ”। पुलुक्क सरको मुखमा हेर्दै हवस् सर भन्यो गोरेले । ऊ आफ्नो सीटमा थचक्क बस्यो र किताबमा घोप्टिरह्यो । वरीपरी बसेका साथीहरुको अनुहारमा हेर्न पनि उसलाई आँट आएन । “ओहो ! यिनीहरुले थाहा पाएका भए... यिनीहरुले भनिदिए भने...”, यस्ता बिचारहरुले उसलाई दिनभरी चपाइरहे । हाफ छुट्टीमा पनि गोरे खेल्न निस्केन । बिज्ञानको किताब लिएर पढ्ने बहाना गरी बेञ्चमै बसिरह्यो । किताबका जति पाना पल्टाएपनि अरुण सरको मात्र चित्र देख्यो उसले । बेलुकीको स्कूल छुटेपछि पनि आज कुनै साथीसँग हिंड्न मन लागेन उसलाई । घण्टी लाग्ने बित्तिकै बेतोडले एक्लै कुँद्यो घरतिर । घर पनि उसले खानेकुरा मागेन, लुगा फेरेर टपक्क डोको नाम्लो टिपेर दाउरा खोज्न हिंड्यो ऊ । बाआमाले बिष्मित आँखाले हेरे उसलाई । “आज स्कूलबाट भागिस् कि क्या हो ?” शंकालु आँखाले सोधे बाले । “हैन, नपत्याए दाइलाई सोध्नुस् न”, बातिर हेर्दै नहेरी जवाफ फर्कायो र लुसुक्क हिड्यो डोको बोकेर ।

अरुण सरको छायाँले उसलाई पछ्याइरह्यो । आफूले झूटो बोलेकोमा जति ठूलो पश्चाताप, ग्लानी र पीडा थियो त्यति नै आफू सम्भाव्य महासंकट, बेइज्जति र निरीहताबाट उम्केकोमा सन्तोष पनि थियो । तर अरुण सरको अनुहारले उसलाई केही गरे छोडेन । मैले तिरेको छैन भन्ने जान्दा जान्दै पनि किन अरुण सरले यो महिनाको फिस समयमा ल्याउनु है भनेका होलान् ? किन उनले मेरो गल्तीलाई माफी दिएका होलान् ? किन मेरो फिस रजिस्टरमा चढाएर आफ्नो खल्तीबाट ब्यहोरे होलान् ? ओहो ! कहिले दिइस् ? कहाँ दिइस ? भनेर प्रश्न गरेको भए मेरो के हाल हुँदो हो ? यी प्रश्नहरु यसरी खनिइरहे मानौं अरिंगालको गोलै उसमाथि खनिएको हो । उसको मन त्यसै त्यसै उडिरहेको थियो र सँगसँगै दाउरा गिंडीरहेको थियो ऊ । एक्कासी हँसिया चोरऔंलाको जोर्नीमै गडेपछि पो ऐया ! सँगै ध्यान भङ्ग भयो उसको ।

रगत निकै बग्यो तर आज उसलाई दुखेको जस्तै लागेन । मैले ढाँटेको सजाय मिलेको होला भन्ने कल्प्यो उसले । आधा डोका दाउरा सहित घर पुग्दा बाले हकारे । “यत्ति गर्नलाई पो खान पनि नमागि हिडेको रैछ”, फत्फताउँदै थिए उनी । तर अरुलाई के थाहा, गोरेको मष्तिष्कमा कत्रो महाभारतको युद्ध भइरहेछ ।

नबोली नबोली बेलुकीको खाना खायो उसले । कसैले नअह्राइ बाख्रा खोरमा हुल्यो र दियालो चिरेर ठिक्क पा¥यो पढ्नलाई । खानपीन सकियो अरु ओछ्यानतिर लागे, गोरे दियालो सल्काएर पढ्न बस्यो । ऊ मात्रै भएको मौका पारेर आमा आइन् र उसको कपाल मुसार्दै सोधिन् –“के भएको छ बा तँलाई ? आज पनि दाजुले कुट्यो र बाटामा ?” । “होइन आमा, भोली परीक्षा छ त्यसैले”, अर्को झूट बोल्यो उसले । आमा एकछिन उसको अनुहारमा हेरिहिन् र निस्किन् मकै पिस्न । जुनसुकै किताब हेरेपनि अरुणसरको अनुहार नै नाचिरह्यो आज । धेरै दिन भएको थियो राती राम्ररी नसुतेको । ऊ अँगेनाको डिलैमा घुप्लुक्क निदायो ।

सपनामा उसले अरुणसरलाई भेट्यो । ती खोलाको किनारामा उभिएका रहेछन् । खोलो उर्लेर आएको थियो । उसलाई पारी जानुपर्ने थियो । अरुणसर पनि उतै जाँदै थिए । पहिले उनी आफै पसे खोलामा । गहिरो रहेछ । पारी पुगे र फेरी फर्केर वारी आए । उसलाई बोकेर पारी तारे । पारी किनारामा पुगेपछि ऊ क्वाँ क्वाँ रुन लाग्यो । उसलाई आफूले फिस नतिरेको र तिर्न नसकेको कारण अरुणसरलाई भनेर मन हलुङ्गो पार्न मन लाग्यो । अरुणसरले उतिर मायालु आँखाले हेरे । उसले केही भन्न प्रयास गर्दै गर्दा अरुण सर आफैले त्यो कुरा उठाए । “हेर बाबु”, अरुण सरले उसको टाउकोमा हात राख्दै भने, “मलाई थाहा थियो तिमीले अघिल्लो महिनाको फिस तिरेका थिएनौं । तिमीलाई कुनै आपत परेको छ भन्ने तिम्रो चेहराले नै धेरै दिन अघिदेखि देखाइरहेको थियो । तिम्रो खुट्टामा मैले अहिलेसम्म जुत्ताचप्पल देखेको छैन । तिमीले म यो स्कूलमा आएदेखि नै स्कुलड्रेस फेरेका छैनौ । तर पनि तिमी पढाइमा तेज छौ । मलाई थाहा छ तिमीले मसँग बोलेको झूटले तिमीलाई पोलिरहेछ । तर पनि मेरो सानो त्यागले तिम्रो भविश्यको बाटो फराकिलो हुन्छ भन्ने मलाई थाहा छ । मैले दश रुपैंयाको लागि तिम्रो भविश्य बरवाद गर्न चाहिन । मलाई आशा छ तिमीले त्यसको प्रायश्चित त्यसैगरी कुनै दिन अरु तिमीजस्तै संकटमा परेका विद्यार्थीको उद्धार गरेर गर्नेछौ । भैगो नरोऊ”। गोरे अरुणसरको खुट्टा समातेर उनको अनुहारमा हेर्दै रोइरह्यो । अरुणसर उसलाई पाखुरामा समातेर डो¥याउँदै उकालो लागे । पारी डाँडाबाट घाम झुल्केको देखे तिनीहरुले । अरुणसरले भने – “ल त तिमी जाउ है” ।

झल्याँस्स बिउँझिदा उसका टाउको हल्लाउँदै थिइन आमाले । “घामा छक्काल भैसके, हिजो अस्ति त यस्तो सुत्दैनथ्यो यो”, आमा फतफताउँदै थिइन् । ऊ हड्बडाउँदै उठ्यो र मुख धुन गयो । आज उसलाई हलुङ्गो भएको थियो । अरुणसरले मानौं सपनामा होइन बिपनामै उसलाई सम्झाएका थिए । फुर्तिसाथ उसले बिहानको काम सक्यो , खायो र स्कूल गयो । बिज्ञानको कक्षामा अरुणसर आए । गोरेलाई हेरेर उनी मुस्कुराए र अघिल्लो कक्षाटेस्टमा ऊ प्रथम भएको जानकारी दिए । गोरे भित्रैभित्रै शर्मायो र पुलुक्क उनको मुखमा हे¥यो । सरले कालोपाटीमा लेखे – पाठ १३: स्तनधारी जनावरहरु । उसले झर्लक्क सम्झ्यो – तेह्र सुका ... ।


योकोहामा छात्रावास
२०६४ असौज २७
अक्टोवर १४, २००७
बडादशैं, तृतीया

Tuesday, January 17, 2012

उदास चन्द्रमा

उदास चन्द्रमा

जुनेली रातमा
म निशासँग लुकामारी खेल्थें,
मेरी चाँदनी उसको मादक आभामा
मसक्क मस्किएकी हुन्थी,
क्षयीकरण होस् वा सघनीकरण —उसको बर्तुलतामा
ऊ शीतल र मोहक हुन्थी,
कहिले सानो हँसिया हुन्थी कहिले बाटुलो सुकारोटी
हाम्रा बाल्यआस्थाहरु उसको आकारमा
निर्दोष कल्पनाका कथाहरु रच्थे,
जबसम्म ऊ मेरो छिँडीमाथिको आकाशमा थिई
ऊ आत्मीय थिई, सुखदुःखकी सहचरी थिई ।

आज,
बिकास र सभ्यताको कथित चुलीमा
सम्पन्नता, स्निग्धता र संभ्रान्तहरुको आकाशमा
प्रकाश प्रदुषणले पीडित
मैली उही चाँदनीलाई देखें,
ऊ मेरो आँगनमाथिकी चाँदनी थिइन,
कान्ति चुसिएकी, शीतलता खोसिएकी
ऊ चुसेको उखुको खोष्टो थिई
मलाई देखेर फिस्स बिधवा हाँसो हाँसी ऊ
बिना चमकको विद्रुप हाँसो
खोसिएको कान्तिमा उसले सेतो सारीको सप्को हाली
मेरो आँखाले ग्लानी पढ्यो
मेरो हृदयले उसको कौमार्य सम्झ्यो
मेरो बिदेशी साथी !
तिम्रो आकाशमा मेरी चाँदनी आज विधवा देखिई ।

तिमीले उसको कौमार्य कहिले देखेनौ
उसका सखा शुभ्र ताराहरु
तिम्रो धुरीमाथि कहिल्यै सल्बलाएनन्
त्यसैले ती तिम्रा साथी कहिल्यै भएनन्
तर ती मेरा जीवन र जगतका साक्षी हुन्
म जन्मेको चिसो अँधेरी रातमा
तिनले मलाई यस लोकमा
स्वागतका सेता रजनीगन्धा खसाएथे
मेरो जीवनका पहिला साथीहरु थिए ती
आज तिम्रो आकाशमा
ती धेरै हराएछन् केही टिलपिल गरिरहेछन्
मेरो भाँचिएको आस्था पिलपिल रोइरहेछ ।

कटुँसको हाँगामा पीङ खेल्दा
मेरो पवन मलाई मायालुले झै सह¥याउँथ्यो
आज उसैले तिम्रो भूमीमा मलाई जब छुन्छ
मेरो मन अमिलिन्छ, चह¥याउँछ ।
तिम्रो अट्टालिकाहरुमा कतिबेला अँध्यारो खस्छ
कतिबेला उज्यालो पस्छ,
कोरीबाटी गर्दै गरेका नवयौवनाहरु
गाजलू आँखाका दशगजामाथि
बाटुलो टिकी लगाउँदैनन् यहाँ
नवपल्लवित प्रेमका पुजारीहरु
तिम्रो आँखीझ्यालबाट कहिल्यै चिहाउँदैनन्
यन्त्र मैथुनको अभ्यस्त भएकाहरू
जीवन र भावनामाथि बलात्कार गर्छन्
तिमी भन्छौ – बिकासको उत्कर्ष हो यो ,
शायद त्यसैले तिम्रो बिकास
कहिल्यै मेरो प्रिय हुन सकेन ।

भैगो साथी !
मलाई मेरो आकाशमा फर्काइदेउ
जहाँ नाङ्गो आकाश ओढेर
तारासँग तेलकासा खेल्ने मेरा रातहरुमा
मेरी चाँदनी, द्यौ शान्तिको अभिषेक गर्छे
त्यसैको पोषले मेरो नयाँ दिन मधुर भएर आउँछ ,
मेरा दाँत कटुँसका काँडे घाँजी फोर्छन्
पर लैजाउ तिम्रा पकवान्नका डिसहरु
मेरी आमाको स्नेहपूर्ण हातले
मस्केको ढीडो पस्कँदैछ
त्यहीं एकाकार छन्
चौरासी  व्यञ्जनका स्वादहरू।

योकोहामा छात्रावास,
श्रावण शुक्ल त्रयोदशी,
भाद्रपद ९, २०६४ बिक्रमी


Sunday, January 15, 2012

१०७ संस्कृत क्रियापद र तिनको नेपाली-अंग्रेजी अर्थ

क्र.सं.
संस्कृत कृयापद
नेपाली अर्थ
अंग्रेजी अर्थ
अजति
अघि बढाउँछ
to drive, to propel, to throw
अत्ति
खान्छ, उपभोग गर्छ
to eat, consume, devour
अपोहति
निको पार्छ, हटाउँछ, अस्वीकार गर्छ
to push away, to heal, avoid, deny, to give up
अस्ति
छ, हो,
to be, to exist, to belong
अस्मि
छु, हुँ
am
इष्
इच्छा वा कामना गर्नु
to wish
उपनिषद्
नजिक बस्नु (ज्ञानका लागि गुरूको नजिक)
to sit down near to,to approach
एति
जान्छ, हिड्छ, पछ्याउँछ, फैलन्छ, अघि बढ्छ, देखिन्छ
to go, walk,   to flow,  to blow,  to advance, spread, get about,to succeed, to appear
cf]षति
जल्छ, दण्डित गर्छ, चोख्याउँछ
कर्षति
तान्छ हलो जोत्छ च्यात्छ
to draw, drag, pull, tear, to plough, to tear out
११
कृ
गर्नु
do, perform, act
१२
क्रुञ्च
बक्ररेखा बनाउनु, टेढिनु, खुम्च्याउनु, सानो पार्नु, नजिकिनु
to curve or make curved, to be crooked, move crookedly,to shrink, to make small, lessen, to go towards, approach
१३
क्षल्
धुनु
१४
क्षेति
गोप्यरूपले बस्छ, शान्त रहन्छ, रोक्छ, सुटुक्क जान्छ
to abide, stay, dwell, reside,  to remain, be quiet,  to inhabit, to go, move
१५
खादति
खान्छ
to chew, bite, eat, devour, feed, prey upon, to hurt, to ruin
१६
गच्छति
जान्छ, रवाना हुन्छ सम्भोग गर्छ, मर्छ
to go, move, go away, set out, to decease, die
१७
गण्
गणना गर्नु
to countto calculate
१८
गुञ्जति
गुञ्जन्छ
to buzz, hum
१९
गृणाति
प्रशंसा गर्छ, ससम्मान सम्बोधन गर्छ
to mention with praise, praise, extol, to pronounce, recite
२०
ग्रसति
निल्छ, ग्रसित गर्छ, दबाउँछ, वेवास्ता गर्छ
to swallow up, cause to disappear,  to eclipse ,  to swallow or slur over words,  to suppress, stop or neglect (a lawsuit),  to consume, swallow
२१
चरति
हिड्छ, भैfतारिन्छ, फैलन्छ हुडल्छ
go, walk, move, stir, roam about, wander, to spread
२२
चुर्
चोर्नु
to steal, to rob, to cause to disappear
२३
जनति
जन्माउँछ सिर्जना गर्छ
२४
जानाति
जान्दछ
२५
जीवति
बाँच्छ जीवित हुन्छ, पोस्छ, हुर्काउँछ
to live, be or remain alive, to nourish, bring up
२६
तक्षति
ताच्छ, काट्छ चिल्लाउँछ
 to form by cutting, plane, chisel, chop,  to cut, split
२७
तनोति
फैलन्छ बिस्तिर्ण हुन्छ
to extend, spread, be diffused, to protract
२८
तन्
फैलनु, बिस्तिर्ण हुनु
to stretch, to spread
२९
तन्यति
गर्जन्छ प्रतिध्वनित हुन्छ
३०
तपति
ताप दिन्छ चम्कन्छ, तातो पार्छ, पीडित हुन्छ
to give out heat, be hot, shine, to suffer pain
३१
तरति
}डन्छ, पार गर्छ, तर्छ, सफलता पाउँछ
 to pass across or over, cross over (a river), sail across ,   to float, swim
३२
तिष्ठति
बस्छ, यथास्थितिमा रहन्छ उपस्थित हुन्छ अस्तित्वमा रहन्छ
to stay, remain, continue in any condition or action, to be, exist, be present
३३
तुद्
धकेल्नु, उद्वेलित गर्नु
to pushto strike
३४
तुष्
सन्तुष्ट हुनु
to like (with inst.), to be pleased
३५
तृष्यति
तिर्खाउँछ, तिर्खा जगाउँछ
to be thirsty, thirst, thirst for
३६
त्विष्
चम्कनु
to shine
३७
ददाति
दिन्छ, प्रदान गर्छ चढाउँछ समर्पण गर्छ
to give, bestow, grant, yield, impart , present , offer to
३८
दधाति
राख्छ प्रदान गर्छ, नियुक्त गर्छ
to put, place, set, lay in or on,  to destine for, bestow on, present or impart to,  to appoint, establish,  to render
३९
दहति
पोल्छ दर्फराउँछ, तनाव/पीडा दिन्छ
४०
दाम्यति
रत्याउँछ, नरम व्यवहारको बनाउँछ
to tame
४१
दिव्
खेल्नु, जुवा खेल्नु, मनोरञ्जन गर्नु
to play, gamble, entertain
४२
दिशति
देखाउँछ आदेश दिन्छ प्रवर्ध्दन गर्छ
to point out, show, exhibit, to order, command, bid
४३
दुष्यति
दुष्ट/भ्रष्ट हुन्छ, बर्बाद हुन्छ, अपवित्र हुन्छ
to become bad or corrupted, to be ruined, perish,
४४
दृश्
देख्नु, हेर्नु
४५
देग्धि
अभिषेक गर्छ बृध्दि/जम्मा गर्छ,
to anoint/ smear/ plaster,    to increase, accumulate
४६
द्यति
आबध्द गर्छ, बाँध्छ
to bind
४७
द्राति
दगुर्छ, छिटो गर्छ
to run, make haste
४८
द्रायति
सुत्छ
to sleep
४९
द्रुह्यति
चोट पुयाउँछ, द्रोह गर्छ, शत्रुता गर्छ
to hurt, seek to harm, be hostile to, to be a foe or rival
५०
द्वेष्टि
घृणा गर्छ/प्रदर्शन गर्छ, प्रतिद्वन्दी बन्छ
to hate, show hatred against, to be a rival
५१
धयति
चुस्छ, चुसाउँछ, पोषित गर्छ
to suck, drink, suck or drink in, to give suck, nourish
५२
धरति
धारण गर्छ, कायम राख्छ, प्रयोगमा ल्याउँछ, उध्दरण गर्छ
५३
धृष्णोति
धृष्टता गर्छ उल्लंघन गर्न खोज्छ
 to be bold or courageous or confident or proud
५४
निन्द्
आरोप लाउनु, निन्दा गर्नु
to blame, accuse
५५
नृत्यति
नाच्छ, प्रतिनिधित्व गर्छ
 dance ,  act on stage, represent
५६
पचति
पकाउँछ, पाक्छ, परिपक्व हुन्छ, पचाउँछ
to cook, bake, roast, boil, to digest, to ripen, mature,
५७
पतति
बत्तिन्छ, खस्छ डुब्छ हुइँकिन्छ
to fly, soar, rush on, fall or sink
५८
पर्दते
पाध्छ अपानवायू छोड्छ
to fart
५९
पाति
ख्याल गर्छ, संरक्षण गर्छ, जोगाउँछ
 to watch, keep, preserve ,  to protect from, defend
६०
पिपर्ति
भर्छ, तृप्त पार्छ, हुर्काउँछ, उध्दार गर्छ, उत्कृष्ट हुन्छ, प्रवर्ध्दन गर्छ
rescue, save, protect, escort, further, promote, excel,
 to sate, cherish, nourish , bring up, to fill
६१
पिवति
पिउँछ
to drink, quaff, suck, sip, swallow, to imbibe
६२
पृच्छति
सोध्छ, जिज्ञासा राख्छ
to ask, question, interrogate, to consult the future
६३
प्रवते
प्रकट हुन्छ एक्कासी देखा पर्छ
to spring up, (causative) to reach to
६४
प्रीणाति
प्रसन्न हुन्छ/पार्छ सन्तुष्ट पार्छ
to please, gladden, delight, cheer, soothe, propitiate
६५
बर्हयति
उप्काउँछ, उखेल्छ, सुदृढ गर्छ
to cause to tear, pluck, root up, to invigorate
६६
बोधति
जान्दछ, बुझ्छ, जगाउँछ
to wake, to know, to understand
६७
भनति
भन्छ, बोलाउँछ, घोषणा गर्छ
to sound, resound, call aloud, speak, declare
६८
भरति
आड दिन्छ, कायम राख्छ सहन्छ
to bear, carry, to support, to maintain
६९
भवति
हुन्छ, घटित हुन्छ
to becometo happen, to constitute
७०
भाति
चम्काउँछ, चम्किलो हुन्छ, देखिन्छ
to shine, be bright or luminous, to be, exist
७१
भुरति
धड्किन्छ, काँप्छ, हलचल हुन्छ
to palpitate, to quiver, to stir
७२
मन्यते
मान्छ, अनुमान गर्छ, टक्र्याउँछ
to think, believe, imagine, suppose, to offer, present
७३
यभति
मैथुन गर्छ, संभोग गर्छ
७४
रम्
रमाउनु, आनन्द लिनु
७५
रूह्
हुर्काउनु, चढ्नु,
to grow, climb उदाहरणः अपि तव बीजानि प्रारोहत्?
७६
रोचते
चम्किन्छ, राम्रो/स्वीकार्य लाग्छ, खुशी मान्छ
७७
लभते
पाउँछ, लैजान्छ, भेट्टाउँछ प्राप्त गर्छ
 to take, seize, catch , to catch sight of, meet with, find
७८
लषति
कामना गर्छ, चाहना राख्छ, नजिक हुन्छ
to wish, desire, to strive after, approach
७९
वच्
भन्नु
to say
८०
वद्
भन्नु, बोल्नु
to speak
८१
वमति
बमन गर्छ, थुक्छ, बाहिर निकाल्छ
to vomit, spit out, eject, to emit, send forth, give out
८२
वयति
बुन्छ
to spin, weave
८३
वर्तते
रहन्छ, घुम्छ
to turn, to roll, to be, to exist
८४
वसति
बस्छ, बासस्थान, गुँड
dwelling, abiding, sojourn, a dwelling-place, a nest
८५
वस्ते
लगाउँछ, लगानी गर्छ, प्रवेश गर्छ
to put on, invest, wear (clothes etc.),to assume (a form etc.), to enter into
८६
वहति
बोक्छ, लैजान्छ, चढाउँछ, अघि बढ्छ, नेतृत्व गर्छ
to carry, transport, convey, to offer (a sacrifice), to lead, to lead towards, to bring, procure, bestow
८७
वह्
बग्नु, लैजानु
to carry
८८
वाति
बग्छ (हावा), चोट पार्छ, गन्ध छोड्छ
to blow (as the wind), to hurt, injure, to emit an odour
८९
विन्द्
पाउनु, प्राप्त गर्नु
to find, to get
९०
वृणोति
वरण गर्छ, छान्छ, रोज्छ, सल्लाह लिन्छ
to choose in marriage, woo, select, choose for one's self,
९१
वेत्ति
जान्दछ, बुझ्छ, सम्झन्छ, ब्याख्या गर्छ
to know, understand, perceive, learn, observe, remember, to teach, explain
९२
श्रद्दधाति
श्रध्दा गर्छ, आश गर्छ, सहमति दिन्छ
to have faith or faithfulness, to consent, assent to, approve, welcome, to expect anything,
९३
श्रयति
भर पर्छ, आड लिन्छ, सम्मान गर्छ
to cause to lean or rest on, to honour, worship
९४
श्रायति
पकाउँछ, मीठो पार्छ, परिपक्व पार्छ
 to cook, boil, seethe, mature, ripen ,   to sweat
९५
श्रीणति
मिसाउँछ, पकाउँछ, आगो लगाउँछ
to mix, mingle, cook, to burn, flame, diffuse light
९६
ष्ठीवति
थुक्छ
to spit, spit out, expectorate, spit upon
९७
सचते
जोडिन्छ, एकाकार हुन्छ, सम्बन्ध राख्छ
to be associated or united with, have to do with,
९८
सीदति
बस्छ, फतक्कै गल्छ, डुब्छ
to sit down, to sink down, sink into distress
९९
सुरति
शासन गर्छ, चम्कन्छ, महामानव बन्छ
to rule, possess supreme or superhuman power, to shine
१००
सुवति
अघि बढ्छ, सजीव पार्छ, हुत्याउँछ
to set in motion, urge, impel, vivify, create, produce ,  to hurl upon
१०१
स्निह्
माया गर्नु
to love
१०२
स्मयते
मुस्काउँछ, हाँस्छ, चम्कन्छ (हिमाल)
to smile, laugh, to blush, to shine
१०३
स्मरति
स्मरण गर्छ, सम्झन्छ
१०४
स्रवति
बग्छ, चुहुन्छ
to flow
१०५
हन्ति
हान्छ, पिट्छ, मार्छ, खत्तम पार्छ
१०६
हरति
खोस्छ, चढाउँछ (देउतालाइ), टुक्राएर लैजान्छ, आघात पार्छ, शरीरको भाग चुँडाल्छ
to take, bear, carry, convey, fetch, bring, to offer, present, to turn away, avert, to shoot or cut or hew off, sever
१०७
ह्वरति
बाङ्गिन्छ, टेढिन्छ, ठोकिन्छ, लोट्छ
to deviate or diverge from the right line ,  to be crooked or curved, to stumble, fall, down
स्रोतः विकिशनरी तथा आफ्नै अनुवाद

Popular Posts (लोकप्रिय रचनाहरू)