मन परे लाइक

Sunday, January 8, 2012

बासँग प्रश्न

बा !

मेरा साना पैतालाले टेकेको धर्ती
तिने’रुले बुट र बन्दुकले खोस्न खोजे
मेरी बिधवा फूपूको धनमा -याल काढ्दै
तिनले धर्मको उपदेश दिए
मेरी गरीब भाउज्यूलाई तिनले
बोक्सी करार गर्दै गाउँ घुमाए,
यी सबै अत्याचार मैले टुलुटुलु हेर्नु त बा ?

बा !
तिनले दिदी पनि लगे,
दाइजो पनि खोजे
हामीलाई कंगाल पारेर नपुगेर
भिनाजूले दिदीलाई ज्यूँदै पोले
मैले यही कुरीतिको सिरानी हालेर
निसहाय बाँचिरहनु बा ?

बा !
तिनले हाम्रो कुलो थुने
हाम्रो तगाराको बाटो छेके
तिनका गोरु हाम्रा गहुँमा चराए
मैले तिनलाई लाठोले नखेद्नु त बा ?

बा !
मेरी बालसंगिनी उजेलीलाई तिनले बम्बैका कोठीमा बेचे
मेरा दाजूभाइलाई दलको दलदलमा जाकेर
आफूआफूमा लडाउँदै ती हाम्रा नेता बने
मैले औंलो नठड्याउनु त बा ?

बा !
तिनीहरुले हामीले तिरेको कर खाएर
हामीलाई नै दास सम्झे,
नेता र व्यापारीसँग मिलेर
नेपाल आमाको रगत चुसे
हाम्रो कुलोको पैसा खाए, बाटोको पैसाले घर बनाए
कहाँबाट यस्तो आम्दानीको खोलो बग्छ भनेर नसोध्नु त बा ?

बा !
दमाईदाइले तगेको कट्टूले त मेरो इज्जत ढाकेको हो
सार्कीदाइले सि’देको जुत्ताले त मेरो गाडामा काँडा नरोपिएको हो
कामीदाइको आरनमा त हाम्रो पूजाकोठाको दीयो बनेको हो
मगर, गुरुङ, राई, लिम्बु काकाका पूर्खाले त
टिस्टा र काँगडाको किल्ला कसेको हो
मधेशी भाइले त सीमामा खेतका कान्ला जोगाएको हो
शरीरका अंगअंग छुट्याएर नेता बन्न खोज्ने गिदीलाई
मैले नधिक्कार्नु त बा ?

तिमी सधैं भन्छौ,
सहनु पर्छ, सहनु पर्छ,
तिमीले आफ्ना प्यारा सन्तानलाई
आदिमयूगकी अहिल्या बनाउन किन खोज्छौ ?
यो अत्याचार सहनु पाप हैन र बा ?


सान सेबाष्टियन, स्पेन

२५ डिसेम्बर, २०११

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)