मन परे लाइक

Monday, January 23, 2012

तेह्र सुका

तेह्र सुका
क्रुर थिए ती भाइप्रति । ऊ ठूलै हुँदासम्म पनि उसप्रति दाजुको व्यवहार निकै रुखो रह्यो । हलल्ल हाँसो सँगै झस्कियो ऊ । राँको बालेका केही भैले साथीहरु उतिर हेरेर खित्का छोडिछोडि हाँसिरहेका थिए ।

भएछ के भने दाजुले “ए गधा ! उठ् ” भनेर भ्वाक्क लात्ताले हान्दा उसले हड्बडाउँदै भनेछ –“भैलो....”। निधारभरी तिहारमा जाँतोलाई हालेको बसुधाराका छाप बसेर नाकका पोरा हुँदै चिउँडोसम्मै तिल्के भएको रहेछ ऊ । तेलको लर्को लपक्कै बसेको उसको अनुहारलाई छड्के पारी साँध छुट्टयाएजस्तो गरी । झन् उसलाई हेर्दै हिलिल्ल हिलिल्ल हाँस्न थाले अरु । आँखा मिच्दै, डरले काम्दै र अलमल्ल पर्दै थियो गोरे । जिज्ञासापूर्ण आँखाले भैले साथीहरुतिर हे¥यो र दाजुसम्म आँखा दौडायो अनि दाजुका क्रोधयुक्त आँखामा आँखा जुधे, अनि निहुरियो ऊ ।

असाध्यै रहर गरेर भैले खेल्न आएको थियो ऊ । दाजुले घरबाट तल आउँदासम्म पनि पछाडी फर्कंदै लखेट्दै गरेथे । ऊ चिच्याउँदै घरतिर फर्कन्थ्यो र फेरी सय सवासय मिटरको दुरी कायम गर्दै पछि लाग्थ्यो दाजुका । “तेरो के खाइदिन्छ र टोकस्छस् ए !” हप्काउनुभएथ्यो बाले । बाका सामु जवाफ फर्काउने हुति त तिनमा थिएन, बाले नदेख्ने गरी गोरेलाई चिमोटेर भएपनि ती आफ्नो रीस मत्थर पार्थे । अरु भैलेहरुले गोरेप्रति सहानुभूति समेत देखाउँदै भनेका थिए –“नचला भो, सानै भएपनि भैलो भट्ट्याउन पालो दिन्छ ।” उसको गाउँतिर केटाहरुले खेल्ने देउसीलाई भैलो भनिन्थ्यो ।

त्यत्ति त थियो उसको सम्पत्ति । सानू थियो । दौतरी मिल्दा थिएनन् । तर उसले भट्ट्याउन जानेकाले लैजान्थे सँगै भैलो खेल्न । त्यस रात पारीको गाउँमा पुगेका थिए तिनीहरु भैलो खेल्दै । उसले भट्ट्याउँथ्यो मसिनो खिरिलो नारीस्वरमा, “भैलोऽऽऽ” भन्थे रुद्रघण्टी एक इन्चसम्म बाहिर निस्केकाहरु । घरमूलेहरुलाई जिज्ञासाको बिषय हुन्थ्यो, निस्किहाल्थे भैले (वा भैलो ?) हेर्न । “यत्रा बिबिराले कस्तो राम्रो  भट्ट्याएको...”भन्दै दङ्ग पर्थे ती ।

रातको साढे दुई बजिसकेको रहेछ । उसको पालो थिएन  भट्ट्याउने । निदाएछ भुसुक्कै जाँतोको मानीमा टाउको अड्याएर । पारी पुगेछ भैले ग्रुप । ऊ हराएको तब पत्ता लागेछ जब उसको भट्ट्याउने पालो आएछ । खोज्दै आएछन् दाजुसहित अरु केही । ऊ फेला प¥यो जाँतोमा टाउको घोप्टाएर निदाईरहेको । दाजुले लात्ती प्रहार गर्दा ऊ सपनाइरहेको रहेछ । सपनामा उसलाई भैलो भन्न लगाउँदै कसैले चिमोटेछ र उसले जोरले भनेछ “भैलोऽऽऽ” ।

त्यही थियो ऊ नींदबाट जाग्दा सबै हाँस्नाका कारण । ऊ साथीहरुको पछि लागेथ्यो लुरुलुरु । तीन दिन र तीन रात पुरै भैलो खेले उनीहरु । पैसा कति जम्मा भएथ्यो थाहा पाएन उसले । हिउँदमा भैलो खाने बेला हुन्थ्यो । त्यो समूहले दुई चरणमा भैलो खाने निश्चय ग¥यो । अहिले उसको कुनै भूमिका थिएन । केबल अरु जे अह्राउँथे त्यही गरेथ्यो उसले । शाकाहारी थियो ऊ । खसी काटे दुबै पटक । थुप्रै निम्तालु बोलाए र भतेर लाए । टपरीमा खाजा (घ्यू हालेर पकाएको भात) र सोयाबिनको तरकारी लिएर छेउमा एक्लै बसेर खाएथ्यो उसले । गिज्याउँथे सबै उसलाई पण्डितजी भनेर । एक्लो शाकाहारी थियो ऊ त्यत्रो भैले र निम्तालुको बीचमा । आखिर पैसा पुगेन दोश्रो चरणको भैलो खाने खर्चका लागि । प्रत्येक भैलेभाइले तेह्रसुका उठाउनु पर्ने भयो । एक दुईजनाले त भैगो गोरेले मासु पनि खाएन उसलाई माफि गरिदिउँ पनि भनेका हुन् तर धेरैले मानेनन् । उसले पनि तिर्नुपर्ने भयो तेह्रसुका । खै अरुले कहाँबाट ल्याएर तिर्थे तर उसलाई त्यो रकम थियो महाभारत । ऊ भैलेभाईको निर्णयबाट पिलित्त रोयो तर दाजुले नै हकारे उतिबेला कति गरेर पछि लाइथिस् भनेर । हो मा हो थपे अरुले ।

साँच्चै कुनै उपाय थिएन उसँग । आमासँग रोएको पनि हो ऊ । बिचरी आमा पो के गर्न सक्थिन् र ? “मावल जा, आँवै (हजुरआमा) ले टीको लाएर दिनुहुन्छ कि” भनिथिन् उनले । मावलीले पनि कहाँबाट दिन्थे र । मामा थिए एउटा । नौ बहिनी छोरीपछि हरिवंश लाएर जन्मेका रे । उनीभन्दा जेठा भाञ्जाहरु नै थिए आधा दर्जन । कसकसलाई दक्षिणा दिउन् ? कहाँबाट ल्याएर दिउन् ? हरिवंश लाएर जन्मेका मामाको हरिविजोग थियो नालनाताले । गोरे गयो मावल । एक मोहर दिनुभयो आँवैले । त्यही पनि तिर्न पाए ग्यारह सुका मात्र बाँकी रहन्थ्यो भन्ने थियो उसलाई । तर भैलेको टोलीनेता पुण्डरीले मानेन पुरै पैसा नभै । केही दिनमै त्यो एक मोहर पनि हरायो । पुण्डरीले पुरा पैसाका लागि अत्याउँदै जान्थ्यो, गोरेको नींद हराम हुने क्रम बढ्दै जान्थ्यो । केही सीप नलागेपछि पुण्डरीलाई देख्नासाथ लुक्न थालेथ्यो ऊ ।

पढाइमा त जिरेखुर्सानी थियो गोरे । त्यही त उसको आपद्विपद्को समेत साथी हुन्थ्यो उसलाई । सातमा थियो ऊ त्यसबर्ष । सामाजिक शिक्षा भन्ने नयाँ किताब आएको थियो । उसले पनि किनेको थियो त्यो किताब । दाजुकै पुराना किताब हुन्थे उसलाई । त्यो नै एकमात्र नयाँ किताब थियो । किताबको बीचबाट हरर्र एक किसिमको बास्ना आउँथ्यो नयाँमा । ऊ नयाँ किताबको बास्ना लिएर गर्वित हुन्थ्यो बेलाबेलामा । एकदिन पुण्डरी ऊ बसेको कक्षामै आयो र झोलाबाट त्यही नयाँ किताब खोसेर लग्यो पैसा तिरेपछि मात्र फिर्ता दिने शर्तमा, जुन कुरा गोरेका लागि असम्भव थियो । केही दिन रोयो गोरे एकमात्र नयाँ किताब खोसिएको र आफूलाई किताब नभएको पीरले । तर के नै पो गर्नसक्थ्यो र ?

सामाजिक शिक्षा उसलाई अति मन पर्ने बिषय थियो । किताब भएन त के भयो, साथीहरुको किताब पढ्थ्यो दिउसोको हाफ छुट्टीमा । त्यतिबेलै सक्थ्यो गृहकार्य सामाजिकको । ऊ अर्कै स्कूलबाट गएको थियो त्यहाँ , छ कक्षामा भर्ना हुन । रैथानेहरु नयाँ आएका विद्यार्थी पहिला, दोस्रा भएको देखिसहँदैनथे । कक्षामा अगाडी बस्न समेत दिंदैनथे । असाध्यै हेप्थे तिनीहरु अरु स्कूलबाट आएकालाई ।

अर्धवार्षिक परीक्षा आयो । त्यसैबेला रामेको सामाजिक शिक्षाको किताब हरायो । उनीहरुले गोरेमाथि नियतबश शंका गरे । त्यसको कारण थियो गोरेलाई तेजोवध गर्नु । गोरे गरीब थियो त्यसैले उसलाइ आरोप लगाउन पनि सजिलो थियो । परीक्षाको नतिजा निस्क्यो । गोरे सयमा सन्तानब्बे अंक ल्याएर प्रथम भयो सामाजिकमा । अनि त के चाहियो ? गोरेले नै चोरेको हो रामेको किताब भन्ने ब्यापक गरियो । किताब नचोरेको भए बिना किताब कसरी त्यत्रो नम्बर ल्याएर फस्र्ट भयो भन्नेहरु सबै भए । अझ शिक्षकहरुले समेत सही थापे । उसको निर्दोषिता सावित गर्ने भगवान बोल्दैनथ्यो त्यहाँ । यस संसारमा गरीब र निर्धाहरु नै चोर हुने, बिधवा र बुढीहरु नै बोक्सी हुने संस्कार त ज्युँदै थियो नै । ऊ अपमानित हुँदै रुँदै ग¥यो । किताब फर्काउन भन्दै धम्काइयो सबैबाट । कहाँबाट फर्काउँदो हो उसले किताब । आखिर सात रुपैया पच्चिस पैसाको किताबका नाममा उसले स्कूलमा फिस तिर्न लगेको दश रुपैंया खोसे– रामे र उसका साथीहरुले । आफ्नो असहायपनमा गोरे भित्रभित्रै कुँडियो । तर पनि आफ्नै पीरको भुङ्ग्रोमा डढीरहनु बाहेक कुनै उपाय थिएन उससँग ।

त्यो दश रुपैंया अघिल्लो महिनाको फिस बुझाउनु पर्ने थियो । बासँग त्यो रुपियाँ लुटिएको सुनाएर अर्को दश रुपियाँको आशा गर्नु केवल शरीरमा सिस्नोपानीका सुम्ला निम्त्याउनु मात्र हुन्थ्यो । बालाई त्यो दश रुपियाँ जुटाउनु नै कम्ती सास्तीको कुरा थिएन अर्कोतिर । आखिर स्कूलबाट फीस नतिरेको कारणले निकालिनुपर्ने दिन र त्यसको परिणामको भयावह कल्पनामा छट्पटाइरह्यो गोरे ।

अरुण सर थिए कक्षा शिक्षक । साह्रै मायालु पाराले पढाउँथे उनी । बिज्ञानका शिक्षक थिए । उनैले उठाउनु पथ्र्यो त्यो कक्षाका विद्यार्थीको फिस । अरु शिक्षक भए उहिल्यै गोरेको गालामा कति पञ्जाछाप लगाएर उसलाई निकालिसकेका हुनेथिए । कतिपय त आतंकको छायाँ नै थिए खास गरी पढाइमा कमजोरहरुका लागि । तर अरुणसर ती सबैबाट नितान्त भिन्न थिए । आँखामा राखेपनि नबिझाउने ।

अर्को महिनाको सत्ताइस गइसकेको थियो । फिस त चालू महिनामै बुझाउनु पथ्र्यो । तर खै ? कुनै उपाय फेला परेको थिएन गोरेका लागि । ऊ भयभीत भएर केवल भवितव्यको प्रतिक्षा गरिरहेको थियो । प्रत्येक रातहरुमा नीद्रा बिथोलिएको हुन्थ्यो । स्कूल हिंड्ने बेलामा सधैं मुटु ढुक्क फुल्थ्यो आज फिस मागेभने के गर्ने होला ? के गर्ने होलान् सरले ? ओहो ! पढाइमा त्यो बेइज्जतिपूर्ण दिनको कसरी सामना गर्ने होला ? यी चिन्तनले गोरेलाई यसरी डसिरहेथे कि ऊ खुर्लुक्कै दुब्लाइसकेको थियो । कुनै सरले जुनसुकै प्रसंगले उसलाई बोलाएपनि उसको होसहवास उडेको हुन्थ्यो ।

आखिर त्यो दिन आउनु नै थियो । कक्षामा चालू महिनाको फिस चढाउँदै गरेका अरुण सरले उसको नाम बोलाउँदै सोधे –“तिमीले अघिल्लो महिनाको फिस बुझायौ ?” । गोरे कर्कलो गलेझैं लल्याकलुलुक भयो । उसका खुट्टाहरु लुगलुग काम्न थाले । पिसाबले अत्यायो एक्कासी उसलाई । उसको जिभ्रो तालुमै टाँसिएजस्तो भयो । अनुहार पहेंलियो । उसले न त बुझाएँ भन्न सक्यो न त बुझाइन नै भन्न सक्यो । ऊ अलमल्ल परेजस्ता,े हडबडाएजस्तो देखेर अरुण सरले फेरी त्यही प्रश्न दोहो¥याए –“तिमीले अघिल्लो महिनाको फिस बुझायौ भनेको ?”

“ह..हजुर सर”– खोई कुन्नि के को प्रेरणाले हो, झुट बोल्यो गोरे । यसो भनिरहँदा उसको आवाज काँपिरहेको थियो । ऊ घोप्टो परिहाल्यो । अरुण सरले अलिबेर उसको अनुहारमा गौर गरेर हेरे । उसले टाउको उठाउन सकेको थिएन । “यता हेर त”, अरण सरले भने, “यो महिनाको फिस मसान्तसम्ममा ल्याउ है ”। पुलुक्क सरको मुखमा हेर्दै हवस् सर भन्यो गोरेले । ऊ आफ्नो सीटमा थचक्क बस्यो र किताबमा घोप्टिरह्यो । वरीपरी बसेका साथीहरुको अनुहारमा हेर्न पनि उसलाई आँट आएन । “ओहो ! यिनीहरुले थाहा पाएका भए... यिनीहरुले भनिदिए भने...”, यस्ता बिचारहरुले उसलाई दिनभरी चपाइरहे । हाफ छुट्टीमा पनि गोरे खेल्न निस्केन । बिज्ञानको किताब लिएर पढ्ने बहाना गरी बेञ्चमै बसिरह्यो । किताबका जति पाना पल्टाएपनि अरुण सरको मात्र चित्र देख्यो उसले । बेलुकीको स्कूल छुटेपछि पनि आज कुनै साथीसँग हिंड्न मन लागेन उसलाई । घण्टी लाग्ने बित्तिकै बेतोडले एक्लै कुँद्यो घरतिर । घर पनि उसले खानेकुरा मागेन, लुगा फेरेर टपक्क डोको नाम्लो टिपेर दाउरा खोज्न हिंड्यो ऊ । बाआमाले बिष्मित आँखाले हेरे उसलाई । “आज स्कूलबाट भागिस् कि क्या हो ?” शंकालु आँखाले सोधे बाले । “हैन, नपत्याए दाइलाई सोध्नुस् न”, बातिर हेर्दै नहेरी जवाफ फर्कायो र लुसुक्क हिड्यो डोको बोकेर ।

अरुण सरको छायाँले उसलाई पछ्याइरह्यो । आफूले झूटो बोलेकोमा जति ठूलो पश्चाताप, ग्लानी र पीडा थियो त्यति नै आफू सम्भाव्य महासंकट, बेइज्जति र निरीहताबाट उम्केकोमा सन्तोष पनि थियो । तर अरुण सरको अनुहारले उसलाई केही गरे छोडेन । मैले तिरेको छैन भन्ने जान्दा जान्दै पनि किन अरुण सरले यो महिनाको फिस समयमा ल्याउनु है भनेका होलान् ? किन उनले मेरो गल्तीलाई माफी दिएका होलान् ? किन मेरो फिस रजिस्टरमा चढाएर आफ्नो खल्तीबाट ब्यहोरे होलान् ? ओहो ! कहिले दिइस् ? कहाँ दिइस ? भनेर प्रश्न गरेको भए मेरो के हाल हुँदो हो ? यी प्रश्नहरु यसरी खनिइरहे मानौं अरिंगालको गोलै उसमाथि खनिएको हो । उसको मन त्यसै त्यसै उडिरहेको थियो र सँगसँगै दाउरा गिंडीरहेको थियो ऊ । एक्कासी हँसिया चोरऔंलाको जोर्नीमै गडेपछि पो ऐया ! सँगै ध्यान भङ्ग भयो उसको ।

रगत निकै बग्यो तर आज उसलाई दुखेको जस्तै लागेन । मैले ढाँटेको सजाय मिलेको होला भन्ने कल्प्यो उसले । आधा डोका दाउरा सहित घर पुग्दा बाले हकारे । “यत्ति गर्नलाई पो खान पनि नमागि हिडेको रैछ”, फत्फताउँदै थिए उनी । तर अरुलाई के थाहा, गोरेको मष्तिष्कमा कत्रो महाभारतको युद्ध भइरहेछ ।

नबोली नबोली बेलुकीको खाना खायो उसले । कसैले नअह्राइ बाख्रा खोरमा हुल्यो र दियालो चिरेर ठिक्क पा¥यो पढ्नलाई । खानपीन सकियो अरु ओछ्यानतिर लागे, गोरे दियालो सल्काएर पढ्न बस्यो । ऊ मात्रै भएको मौका पारेर आमा आइन् र उसको कपाल मुसार्दै सोधिन् –“के भएको छ बा तँलाई ? आज पनि दाजुले कुट्यो र बाटामा ?” । “होइन आमा, भोली परीक्षा छ त्यसैले”, अर्को झूट बोल्यो उसले । आमा एकछिन उसको अनुहारमा हेरिहिन् र निस्किन् मकै पिस्न । जुनसुकै किताब हेरेपनि अरुणसरको अनुहार नै नाचिरह्यो आज । धेरै दिन भएको थियो राती राम्ररी नसुतेको । ऊ अँगेनाको डिलैमा घुप्लुक्क निदायो ।

सपनामा उसले अरुणसरलाई भेट्यो । ती खोलाको किनारामा उभिएका रहेछन् । खोलो उर्लेर आएको थियो । उसलाई पारी जानुपर्ने थियो । अरुणसर पनि उतै जाँदै थिए । पहिले उनी आफै पसे खोलामा । गहिरो रहेछ । पारी पुगे र फेरी फर्केर वारी आए । उसलाई बोकेर पारी तारे । पारी किनारामा पुगेपछि ऊ क्वाँ क्वाँ रुन लाग्यो । उसलाई आफूले फिस नतिरेको र तिर्न नसकेको कारण अरुणसरलाई भनेर मन हलुङ्गो पार्न मन लाग्यो । अरुणसरले उतिर मायालु आँखाले हेरे । उसले केही भन्न प्रयास गर्दै गर्दा अरुण सर आफैले त्यो कुरा उठाए । “हेर बाबु”, अरुण सरले उसको टाउकोमा हात राख्दै भने, “मलाई थाहा थियो तिमीले अघिल्लो महिनाको फिस तिरेका थिएनौं । तिमीलाई कुनै आपत परेको छ भन्ने तिम्रो चेहराले नै धेरै दिन अघिदेखि देखाइरहेको थियो । तिम्रो खुट्टामा मैले अहिलेसम्म जुत्ताचप्पल देखेको छैन । तिमीले म यो स्कूलमा आएदेखि नै स्कुलड्रेस फेरेका छैनौ । तर पनि तिमी पढाइमा तेज छौ । मलाई थाहा छ तिमीले मसँग बोलेको झूटले तिमीलाई पोलिरहेछ । तर पनि मेरो सानो त्यागले तिम्रो भविश्यको बाटो फराकिलो हुन्छ भन्ने मलाई थाहा छ । मैले दश रुपैंयाको लागि तिम्रो भविश्य बरवाद गर्न चाहिन । मलाई आशा छ तिमीले त्यसको प्रायश्चित त्यसैगरी कुनै दिन अरु तिमीजस्तै संकटमा परेका विद्यार्थीको उद्धार गरेर गर्नेछौ । भैगो नरोऊ”। गोरे अरुणसरको खुट्टा समातेर उनको अनुहारमा हेर्दै रोइरह्यो । अरुणसर उसलाई पाखुरामा समातेर डो¥याउँदै उकालो लागे । पारी डाँडाबाट घाम झुल्केको देखे तिनीहरुले । अरुणसरले भने – “ल त तिमी जाउ है” ।

झल्याँस्स बिउँझिदा उसका टाउको हल्लाउँदै थिइन आमाले । “घामा छक्काल भैसके, हिजो अस्ति त यस्तो सुत्दैनथ्यो यो”, आमा फतफताउँदै थिइन् । ऊ हड्बडाउँदै उठ्यो र मुख धुन गयो । आज उसलाई हलुङ्गो भएको थियो । अरुणसरले मानौं सपनामा होइन बिपनामै उसलाई सम्झाएका थिए । फुर्तिसाथ उसले बिहानको काम सक्यो , खायो र स्कूल गयो । बिज्ञानको कक्षामा अरुणसर आए । गोरेलाई हेरेर उनी मुस्कुराए र अघिल्लो कक्षाटेस्टमा ऊ प्रथम भएको जानकारी दिए । गोरे भित्रैभित्रै शर्मायो र पुलुक्क उनको मुखमा हे¥यो । सरले कालोपाटीमा लेखे – पाठ १३: स्तनधारी जनावरहरु । उसले झर्लक्क सम्झ्यो – तेह्र सुका ... ।


योकोहामा छात्रावास
२०६४ असौज २७
अक्टोवर १४, २००७
बडादशैं, तृतीया

1 comment:

  1. Very nice! reminded me some incidents of childhood.I hope there is more to come.

    ReplyDelete

Popular Posts (लोकप्रिय रचनाहरू)