मन परे लाइक

Sunday, January 8, 2012

पहिरो पारी

पहिरो पारी

पहिरो पारी धुरुधुरु रुन्छिन् मेरी माया
छट्पटी भो तड्पियो मन् , जल्यो पीरले काया

गुडुडुडु पहिरो जान्छ बग्छ लेदो ढुंगा
पारी जान लहरा हाँगा के को होला डुङ्गा
यतै हेर्दै पारीबाट रुन्छिन् मेरी माया
छट्पटी भो तड्पियो मन् , जल्यो पीरले काया

को होला त्यो पराई हँ उनीतिरै आउँदैछ
बिषालु ती जाली कुरा हरे के के लाउँदैछ
डर मानी थरथरी काँप्छिन् मेरी माया
छट्पटी भो तड्पियो मन् , जल्यो पीरले काया

छानाबाट कालो सर्प झुण्डिएर खस्ला कि
पराई त्यो जाली पापी उनैलाई डस्ला कि
चिच्याउँदै भाग्दै जान्छिन् कठै मेरी माया
छट्पटी भो तड्पियो मन् , जल्यो पीरले काया

यता आउन् पहिरो छ उता छैन गाउँ
कठै दैव रोप्छ छुरी गहिरिन्छ घाउ
पापी दैव पँखेटा दे किन रोक्छस् हाय
छट्पटी भो तड्पियो मन् , जल्यो पीरले काया

डाक्टरको डेरा
कीर्तिपुर १५

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)