मन परे लाइक

Thursday, March 15, 2012

एक टुक्रा गिदी र एक चौथाई चोखो मन


एक टुक्रा गिदी र एक चौथाई चोखो मन

धन्यवाद ईश्वर !
फूलहरूमा भरिदिएको रङका लागि
अदृश्य हावामा भरिदिएको प्राणका लागि
एक टुक्रा रोटीमा राखिदिएको स्वादका लागि
एक घुट्को पानीमा भरिदिएको तृप्तिका लागि
अपरिचितसँगको एकैछिनको भेटमा खुस्किने मुस्कानका लागि
घाम-छायाँ, बसन्त-शिशिर, अँध्यारो-उज्यालोका लागि ।

धन्यवाद ईश्वर!
एउटा नयाँ दिन, उदाउँदो सूर्य दिएकोमा
बर्षौं पर्खन र सहन सक्ने धैर्यता दिएकोमा
अनिश्चित भोलीका लागि आशा दिएकोमा
सानो खुशीसँगै अनन्त दुःख बिर्सने शक्ति दिएकोमा ।

प्रभू !
तिमीले आँट दियौ -धमिलो खोला तर्नका लागि
तिमीले पखेटा दियौ - विचारमा लाखौं कोष टाढा उड्नका लागि
तिमीले इर्श्या दियौ - प्रगतिको प्रयत्नका लागि
तिमीले दृष्टि दियौ - सुन्दरताको परख र रक्षाका लागि ।

अब एउटा मात्र माग छ तिमीसँग
अलिकति पुगेको छैन हामीलाई
थपिदेउ अलिकति प्रत्येक मानिसका मष्तिष्कमा
दया, प्रेम, धैर्यता, आशा, न्याय र सच्चरित्रका लागि
"एक टुक्रा गिदी र एक चौथाई चोखो मन"


सान-सेवाष्टियन, स्पेन
मार्च १४,  २०१२

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)