मन परे लाइक

Thursday, September 27, 2012

सुन रे...आवाज देउ

सुन रे !

सुन रे नेपाल आमाका सन्तान, नसुने जस्तो नगरिदेउ
पवित्र प्यारो देश नहारोस कति चूप बस्छैा? आवाज देउ ।

निर्धाहरुको नलेउ हुर्मत् भनेथें मैले ता
विधवाहरुको नपिउ आँसु भनेथें मैले ता
तर मान्छे भनिने बलियाहरुले, भने– म हुतिहारा रे
सुन रे नेपाल आमाका सन्तान ...

नचुस पसिना गरीबहरुको त्यो आत्मा रुलाई
नढाँट सोझा निमुखाहरुलाई ललाई फकाई
तर बाठा भनिने धुर्तहरुले , भने– म बेवकुफ रे
सुन रे नेपाल आमाका सन्तान ...
जन्मेको भूमी नेपाल भए के आदिवासी, के को बिदेशी ?
छातिमा यौटै नेपाली भाव को भो पहाडी को भो मधेशी ?
तर नेता भनिने स्वार्थी नजरमा, म – पश्चगामी रे
सुन रे नेपाल आमाका सन्तान ...

कहाँ छ जात, कहाँ छ धर्म, मानव धर्म त एक छ
भनेथें मैले नलडाउ बन्धु दुष्ट्याईंमा त पाप छ
तर धर्मात्मा भनिने ढोंगी नजरमा – म त बिधर्मी रे
सुन रे नेपाल आमाका सन्तान ...

थुपार्छौ सम्पत्ति असत्य अनि अन्यायले, बलले
नबन बाठो झुक्याई सोझा, धुर्त्याइँले, छलले
ती बाठा धनीहरुले भनेथे, म आदर्शको खोल रे
सुन रे नेपाल आमाका सन्तान ....

योकोहामा छात्रावास
बिजयादशमी, २०६४
अक्टोबर २१, २००७

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)