मन परे लाइक

Sunday, September 8, 2013

परदेशीको आवाज

परदेशमा

अगणित सुविधा छन् यन्त्र झैँ दिन् चल्याछन् ।
झलमल बिजुलीले रात धप्पै बल्या छन् ।।
सुलुलुलु सलहै झैं मार्ग ढाक्छन् सवारी।
हरपल समयमै हुन्छ सप्पै तयारी।।१।।

बुरुबुरु हिंउ होस् या घाम होस् या  असीना ।
खुरुखुरु गरिराख्छन् काम झार्दै पसीना।।
हरपल गणना भो, आजको काम के भो?
अब अरु कति गर्दा काम फत्ते हुने हो? ।।२।।

चमचम मधुशाला, दीपमा चम्किएका ।
अलि पर मद-होशी , प्रेममा छन् डुबेका ।।
सब सुख धरतीको, प्युनुमै रम्नु मै छ ।
तर पनि अझ फेरी, चाहना शान्तिकै छ ।।३।।

तर म भने
कति कति कति टाढा देश छोडेर आएँ।
पिल पिल गरि रुन्छिन, प्रेमकी मुर्ति जाया।।
अब कति दिन बाँकी फर्कने हो भनेर ।
हरपल जननी ती बस्दछिन् दिन् गनेर।।४।।

अब कति दिन बस्दा लाख होला कमाई?
अनि घर तिर फिर्थे, साहू तिर्थें रमाई ।।
छुनुमुनु गरि हिड्ने प्रेमका ती निशानी ।
पढ पढ पढ भन्थें, बन्दथे कि त ज्ञानी।।५।।
निशि-दिन अझ उस्तै काममा जोतिइन्छु।
भतभत मन पोल्छ, देश सम्झेर रुन्छु ।।
म पनि त कति रम्थें, चाडमा गाउँ जाई।
अब दिनदिन भा'छन् आफनै ती पराई।।६।।

तीजमा 
 घिन घिन घिन ताङ् ताङ् तीजमा बज्छ मादल्।
फुरुफुरु अरु नाच्छन् छङ्ग खुल्या छ बादल्।।
तर पनि बहिनीको दाजूका सम्झनामा।
धरधर मन रून्छ गास रूक्छ गलामा।।७।।

चमचम चमकिँदो, रेशमी छैन सारी ।
मन पनि अमिलो भो, गर्नु के को तयारी ?
भनिकन सल टोकी आँशु मात्रै बगाई ।
दर पनि नपकाई भुल्दछिन् तीजलाई।।८।।

 दशैंमा 
जल छर जमरामा, अक्षता मोल राता ।
अब झिक टपरीमा, माल्पुवा सेल ताता ।।
अलिकति त चढाओ, देवता पितृलाई ।
भनिकन अब आमा, भन्दिहौ, नातिलाई ।।९।।

अनि त मकन  सम्झी बर्र आँशु खसाली ।
हतपत पुछि आँशु फूल राखेर थाली ।।
चुटुचुटु जमराका पात टिप्दै चढाई ।
तनमन म तिरै छ, पुज्दछ्यौ देवलाई ।।१०।।

तिहारमा 
मुसुमुसु अब हाँसे, फूलमा मख्ख साना ।
टलपल गरि टल्के शीतका गोल दाना ।।
मगमग कति मीठो वास घोल्दै तिहार ।
लुकिकन म त रोई, छाम्छु आफ्नै निधार ।।११।।

झिलमिल घर हुँदा, चम्किंदा झ्याल कौशी ।
घरघर कति डुल्थें, भैलिका साथ रौशी ।।
कति मन छ अँध्यारो, देख्न ता हाँसिरा'छु।
भनन भन बहीनी!, नाक पुच्छ्यौ कि आँशु ? ।।१२।।

अपेक्षा 
 म पनि त घर हुन्थें, चुम्दथें आफ्नु माटो ।
तपतप पसिनामा, रम्दथें खन्न बाटो।।
रगत र पसिना यी, हेर चुस्छन् पराइ ।
अझ पनि किन नेता, बस्छ कुर्सी समाइ ।।१३।।

नहर र बिजुली होस्, होस् कुनै रोजगार ।
बरु निशिदिन कामै, गर्न हुन्छौं तयार ।।
सुन सरह भुमीमा, क्यै गरी बाँच्न देऊ ।
अलिकति पुछि आँशू, देशमै हाँस्न देऊ ।।१४।।

सान सेबाष्टियन, स्पेन
२० अगष्ट, २०१३
श्रावण शुक्ल पूर्णिमा, २०७०

No comments:

Post a Comment

Popular Posts (लोकप्रिय रचनाहरू)