मन परे लाइक

Tuesday, April 23, 2013

फूलहरू, शहीदहरू र नेताका गर्धनहरू


फूलहरू, शहीदहरू  र नेताका गर्धनहरू

मालाले तिमी छोपियौ
तिम्रो शीर फूलको थुम्कोबीच पुरियो
क्यामराहरूले आँखा सन्काएः झिमिक्-झिमिक्-झिमिक्
केही बेर पछि नै हामी मालाहरू
सडक छेउका नालीमा मिल्कियौं  ।

जब हामी बगैँचामा थियौं
भ्रमर- नृत्यसँगै हामी हल्लन्थ्यौं
नानी फूलहरू मस्कँदै आउँथे
त्यहाँ जीवन थियो, आकर्षण थियो
माटोको सुवासमा बतास लुटपुटिन्थ्यो,
तर पनि जब हाम्रा घाँटी निमोठिए
त्यो प्राणान्तक वेदनाभित्रका पीडाका  सिर्काहरू
तिम्रा गर्धनमा आएर पोखिए,
हामीले ठान्यौ, हामी धन्य भयौं ।

कापालिकहरूका भिक्षापात्र सरह
उत्सर्गका प्रतिमूर्ति शहीद- खप्परहरू देखाउँदै
तिमीहरूले जनतासँग भिक्षा मागिरह्यौ र भन्यौ-
"हामी मुक्तिदाता हौं
माग्छौं केवल तपाइँका त्याग र समर्पणहरू
जुन हतियारले हामी
यिनका अधुरा सपनाहरू
यसै माटोमा  जिउँदा र मूर्त  बनाउनेछौं ।"

तिनका पनि स-साना फूलबारी थिए
जहाँ हाँस्थ्यो तिनको
भर्खर एउटा दाँत पलाएको छोरो
स्वास्नी सिउँदो कोर्थी  र
त्यही धर्कोले पुरिदिन्थी दुख, अभाव र आला सपनाहरू
गोधूली साँझमा टोपीले पसिना पुछ्दै
 जब ऊ आँगनमा झुल्कन्थ्यो
उसका औंला समात्थी- पुतलीफ्रक लगाएकी सानी छोरी
दैलाबाट चियाउँदै मुसुक्क मुस्काउँथी
अँगेनामा आगो ठोस्दै गरेकी स्वास्नी
हो, तिनका स्याना र मधुरा सपना थिए
कल्पिन्थे- स्वर्गको  एक सानो टुक्रो
तिनले आफ्नै आँगन होस् ।

त्यो दिन,
जब तिमीले यही गर्धन फुलाउँदै भन्यौ-
"जूनकीरीको उज्यालोमा नअल्मलिउ
जाग, उठ र हिंड- आँगनभन्दा बाहिर
अधिकारको, न्यायको र विकासको त्यो राँको
हामीले खोसेर तिम्रो घर उज्यालो पार्नेछौं "
उसले पत्याएको थियो र
स्वास्नीका सुँकसुँक्याइ हत्केलोले छोप्दै
दौराको फेरो समातेकी छोरीको हात छुटाउँदै
तिम्रो पछि लागेको थियो
गोहीका मुखमा पुग्ने बेला तिमीले भन्यौ-
"हार्नका लागि एउटा फ्याङ्ले शरीर न हो
जित्नका लागि पुरै संसार छ,
अघि बढ, झम्ट र खोस।"

जब एउटा गोलीले उसको पातलो छाती छेड्यो,
तिमीले झण्डाको कात्रो ओढायौ
र मकर-पीडाको अनुभूति गर्दै खोक्यौ,-
"तिम्रा सपनाहरू नै हाम्रा शीरका कफन हुनेछन्।"
हो, त्यसै दिन देखि खोसिए
घुर्मैला सपनाहरू ती स्वास्नीमानिसका
भर्खर ताते गर्ने एकदन्ते बच्चाका
दुई  चुल्ठीमा सजिएकी पुतलीका ।
त्यो स्वास्नी मानिस, अब पोइटोकुवा भइ
उसको सिउँदोसँग पखालिए
उसका इज्जत, मान र अस्तित्वहरू,
जव  आँशु सुकेर उसका आँखाहरू
चैतको डढेलो जस्ता देखिन्छन्
यो समाज भन्छ-
"हेर त्यसका आँखा बोक्सीका जस्तै छन्"
त्यही समाज,
त्यो एकदन्ते बच्चोको दाँतलाई
बाबु चपाउने दाह्रा देख्छ
जब स्कूलमा कसैको पेन्सिल हराउँछ
त्यो टुहुरी केटी नै चोर करार गरिन्छे ।

कतै कहिल्यै शुष्क स्वरमा त्यो आइमाई भन्छे
कि ऊ त शहीदकी जहान हो
तब सोधिन्छ-
"तिम्रो लोग्ने कसरी शहीद भएको "?
"गाडी दुर्घटनामा या ग्याङफाइटमा?"
हिजोको स्वर्गको सानो आँगन
आज गाली, हेला र अपमानमा
तैरिंदै डुब्दै गरिरहन्छ,
प्रत्येक गोधूली साँझमा
पारी बाटोको कुइनेटोमा
जब कसैको छायाँ देखिन्छ
छोरी भन्छे- "आमा हेर त हाम्रा बा !"
तर त्यो छायाँ अँध्यारो बाक्लिदैं जाँदा
केवल त्रासको प्रतिविम्ब बनेर
तिनका आँगनको बाटो हिंड्छ ।

बिचरा ! तिनका सपना
तिम्रा गर्धनबाट मिल्किइएका
तर, शहीदको गर्धनसँग साटिएका
हामी फूलहरू झैं
फोहोर नालीमा तबसम्म सुताइन्छन्
जबसम्म अर्को चुनाव आउँदैन,
जब तिमीहरूको कुर्ची धरापमा पर्छ
तब शहीदको बिस्कुन सुकाउन
शब्दका इन्द्रजाली मोहनी अवतारहरू
भाषण बनेर तिम्रा मुखबाट ओर्लिन्छन् ।

हामी बिर्सन्थ्यौं चुँडिनुको पीडा
यदि त्यो विधवा आइमाई
मुहारमा तानेर मुस्कान
द्वितीयाका चाँद जत्ति मात्रै भएपनि
पहिराउँदी हो  तिम्रा गर्धनमा
एउटा माला आस्थाको
ती टुहुरा देख्दा हुन्
तिनका बाबुका प्रतिच्छाया तिम्रा आँखाका नानीमा
हामीलाइ अफसोच छ-
तिम्रा गर्धनका लागि
फूलको शहादत र शहीदको शहादत
उस्तै उस्तै छ, तर पनि
ती शहीदका आँगनको छायालु कुनामा
तिनका आँशुको बरसातमा
हामी केवल रोइरहन्छौं
भरोसाको मृत्यूशोकमा ।
सान सेवाष्टियन, स्पेन
२१ अप्रिल, २०१३

Thursday, April 11, 2013

शुभकामना !!!

शुभकामना नयाँ वर्षको


नयाँ बर्ष !
जसलाई हामीले मुक्तिको ध्रुवतारा ठान्यौं
ती त पुच्छ्रेतारा रहेछन्
चिमिक्क चम्के, खसे, बिलाए ।
भैगो, चाहिएनन् यी ताराहरू,
हामीलाई त सुनौला प्रकाश  चाहिएको हो,
अनिश्चयको बादल फाटेको आकाश चाहिएको हो,
चराहरूको जीवनप्रवोधिनी कलरव
अनि,
यी गहुँका बालामा जस्तै बयेली खेल्ने
 हाम्रा लालाबालाको हाँसो चाहिएको हो ।

नयाँ वर्ष!
भित्तामै टाँसिएर, भित्ताबाटै खस्ने हो भने
तिमी आउनु र जानुमा के को हर्ष, के को बिस्मात?
तिम्रो बर्गाकार कोठाहरूबाट
दिनहरू फुत्त निस्कून् र पोषिलो राप दिउन्
नाङ्गा ढाडहरूमा, भोका पेटहरूमा,
आँखाका कुनामा मुजा पारेर
नेपाल आमा मुस्काइरहून्-
तिमीले ल्याएको खुशीको पोको देखेर
ढँटुवाहरूको वाणी बन्द होस्
लुटुवाहरूको खानी पुरियोस्
देशले विधान पाओस्- रोगले निदान पाओस्
तिम्रा महिनाहरूले
मैना चरीको संगीत बोलून्
अर्को बर्षले ढोका ढक्ढकाउँदा
हामी हाँस्न सकैं एक खित्को हाँसो
२०७० ले छोडेको नासो भनेर।

कञ्चनजङ्घा हिमालको शिरमा
तिमीले सुनगाभा पहिराइदिँदा,
हामी भन्न सकौं-
त्यो हाम्रै शिरमा परेको हो,
उज्यालो भविष्यको एक चोइटो
सबैको भागमा परोस्
नयाँ वर्षको सबैमा शुभकामना।

                                                  -भीष्मकुमार भूसाल
                                                    सान सेबाष्टियन, स्पेन
                                                      २०६९ चैत्र मसान्त

Thursday, March 28, 2013

बासँग बिलैाना


बासँग बिलैाना

(यो कविता केही दिन पछि सार्वजनिक गरिने छ। अहिलेलाइ हटाइएको छ)
सान सेवाष्टियन, स्पेन
२० फाल्गुण, २०६९


Saturday, February 9, 2013

आँट भरेर आउ मनमा

आँट भरेर आउ मनमा

भन्थ्यैा म भत्काउँछु बाधाको पहाड,
भन्थ्यैा, बुकी-फूलहरूमा
भर्छु रजनीगन्धाको सुवास,
भन्थ्यैा अलंघ्य छ आस्थाको मैदान ।

तर,
एक छड्के हेराइ के हेरेकी थिएँ,
भत्केछन् सैार्यका पर्खालहरू गर्ल्यामगुर्लुम
गिडगिडाउन थालेछैा- पुलिसको सामु चोर झैं ।
के आँट गरैाला र?
चुम्न सिरूपाते यी ओंठहरू
तिम्रो देब्रे छातीमा सेतो रगत बग्छ भने
कसरी बुझैाला र प्रणयको प्रवेग?

भैगो, एक हिउँद तापेर पञ्चाग्नि,
एक माना भरेर ताकत- आत्मविश्वासको कन्तुरमा
अर्को बिर्बिरे असिना पर्ने दिनसम्ममा
फर्काएर आउ तिम्रा विश्वासहरू
सुदुरपूर्वको लालीमाले पहाड हाँस्दासम्म
म तिम्रै बाटोमा
भिजेका परेली ओछ्याइरहने छु।

भीष्मकुमार भूसाल
सानसेवाष्टियन, स्पेन

Monday, January 21, 2013

के लेख्नु कविता?

के लेख्नु कविता?
चेलीहरू आत्मरक्षार्थ चिच्याइरहे
माइतिहरू मन्दिरमा भजन गाइरहे,
भाइहरू भोकले शहीद भए
दाइहरूले तिनका शालिक बनाए
र त्यसमै कमिसन खाइरहे ।

सलाइ खरिद्न नसक्ने खरदार भयो
अख्तियार नै किन्ने उसको दरवार भयो
पियनले थर्काएको हाकिम
डान्सबार उसको घरवार भयो ।

नेता "ए" लाई पिलो आयो
सिंगापुरको भ्रमण भयो
नेता "बी" ला गीलो... आयो
तीस लाख उतै चर्न गयो
पखालाले महान जनता
जहानसँगै मर्न गयो ।

हामी बिहान बिहान भनेर पर्खिरह्यैां
ती चिहानमाथि चिहान थप्दै गए ।
अब त रोगीले खोक्न पनि हुन्न
शान्ति प्रकृया भाँडिन्छ रे
भुइँ न भाँडाको यो शान्ति प्रकृया
पोखिएला कि भनेर
हामीहरू थरथर काँपिरह्यैां
तिनले हाम्रा विश्वास धरधर च्यातिरहे ।

भो लेख्दिन कविता...
फेरि शान्तिप्रकृया भाँडिएला.....।

 
सानसेवाष्टियन, स्पेन
माघ शुक्ल दशमी, ८/१०/२०६९

Saturday, December 15, 2012

Free SMS (निशुल्क एस्एम्एस् का लागि)


Steps: 1. Write message first, 2. Put 00+country code+area code. For example, to send a message to Nepal, 00 977 9876543210 3. Most often, you will get it delivered (as per my experience). Put you comment. पहिले म्यासेज बक्समा म्यासेज लेख्नुहोस् । अनि बल्ल मोबाइल नं. लेख्ने ठाउँमा ००+कन्ट्री कोड+ एरिया कोड राख्नुहोस् । जस्तैः काठमाडैांका लागि 00 977 9876543210 (बिचमा स्पेश नराखिकन)। त्यसपछि सेन्डमा थिंच्नुहोस् । ग्यारेन्टी त हुँदैन तर मेरो अनुभवमा प्रायशः जान्छ है ।

Monday, November 19, 2012

Thursday, September 27, 2012

सुन रे...आवाज देउ

सुन रे !

सुन रे नेपाल आमाका सन्तान, नसुने जस्तो नगरिदेउ
पवित्र प्यारो देश नहारोस कति चूप बस्छैा? आवाज देउ ।

निर्धाहरुको नलेउ हुर्मत् भनेथें मैले ता
विधवाहरुको नपिउ आँसु भनेथें मैले ता
तर मान्छे भनिने बलियाहरुले, भने– म हुतिहारा रे
सुन रे नेपाल आमाका सन्तान ...

नचुस पसिना गरीबहरुको त्यो आत्मा रुलाई
नढाँट सोझा निमुखाहरुलाई ललाई फकाई
तर बाठा भनिने धुर्तहरुले , भने– म बेवकुफ रे
सुन रे नेपाल आमाका सन्तान ...
जन्मेको भूमी नेपाल भए के आदिवासी, के को बिदेशी ?
छातिमा यौटै नेपाली भाव को भो पहाडी को भो मधेशी ?
तर नेता भनिने स्वार्थी नजरमा, म – पश्चगामी रे
सुन रे नेपाल आमाका सन्तान ...

कहाँ छ जात, कहाँ छ धर्म, मानव धर्म त एक छ
भनेथें मैले नलडाउ बन्धु दुष्ट्याईंमा त पाप छ
तर धर्मात्मा भनिने ढोंगी नजरमा – म त बिधर्मी रे
सुन रे नेपाल आमाका सन्तान ...

थुपार्छौ सम्पत्ति असत्य अनि अन्यायले, बलले
नबन बाठो झुक्याई सोझा, धुर्त्याइँले, छलले
ती बाठा धनीहरुले भनेथे, म आदर्शको खोल रे
सुन रे नेपाल आमाका सन्तान ....

योकोहामा छात्रावास
बिजयादशमी, २०६४
अक्टोबर २१, २००७

Sunday, September 16, 2012

त्यो तीज - यो तीज



यो तीज, त्यो तीज

निधारमा एउटा सप्रेको बखडा जत्रो सेतो कोठी भएका ती बुढा पिढीमा कुम्लो राखेर खुइय्य गर्दै पसिना पुछ्थे ।कालो डोरी आकारका लाइनले बर्गाकार कोठाहरू बनेको सेतो च्यादरको कुम्लो हुन्थ्यो त्यो । खरानीमा पछारेर सफा राखेको त्यो कुम्लोको कुनामा चिल्लो चुहिएको हुन्थ्यो ।

७५ पुगेका ती बुढा मानिस हाम्रा मावली बा हुनुहुन्थ्यो ।हामी मावलका हजुरबालाइ सधैं बा नै भन्थ्यैां । एउटा एकमाने हर्पेभरी घ्यू, पन्ध्रमुठे चैांठीमा तेल, अलिकति फापरको पीठो, कर्कलाको सिन्की यस्तै यस्तै पोका हुन्थे ती कुम्लामा । साथै हुन्थ्यो बेलुकी आफूले पकाएर खानका लागि एक माना चामल, एउटा ढीको नून, अलिकति सिलमको धुलो...। कुम्लो भित्रको सानो कुटुरोमा राखिएको ती चीज बाले हाम्री आमा (उहाँकी छोरी) लाइ दिनुभएन त्यस बर्षको तीजमा छोरी लिन आउँदा पनि। हामीलाइ त्यसमा के होला भन्ने खुल्दुली साँझ सम्म परिरह्यो ।

बेलुकी गाई बाँधेर बाख्रा खोरमा हुल्ने बेलामा बा हाम्रो आँगनमा आइपुग्दा हाम्रा अनुहार केही मीठो खान पाउने आशाले धिपिक्क बलेका थिए । पिढींमा गुन्द्री ओछ्याएर आमाले त्यसमाथि काम्लो राखिदिनु भो। बाले त्यो काम्लो सरक्क पन्छाएर सिरानीतिर राख्नु भयो र ज्वाइँको खोजीनिती गर्नु भयो । त्यो घुर्मैलो साँझमा राम्ररी मान्छे नचिनिने बेला पिताजी घाँसको मूठो बोकेर आउनु भो खेत गोड्ने मेलाबाट ।
बाले ज्वाइँका गोडामा थपक्क शिर राखेर ढोगिदिनु भो । पिताजीले जवाफमा एकसरो सन्चबिसन्च सोध्नु भो ।
 आमाले भित्र दाउरा ठोंसठास पार्दै पकाउन लाग्नु भो । हामी बाका वरिपरी उहाँको मुखमा पिलपिल हेर्दै बसिरह्यैां । उहाँले हामीलाइ मुसार्नु भो र "भोली म सित मावल जाने हो" भनेर सोध्नु भो ।
भित्र डाडुपन्यू बजे । आमा बेलामा पानी लिएर बाहिर आउनु भो, खान बोलाउन । तर बाले खान मान्नु भएन । उहाँले "चुल्हो खाली भयो भने एउटा सानो ताउली र पानी देउ है बा" भनेर भन्नु भो आमालाई । हामीलाइ अचम्म लाग्यो । बाले मावलमा मीठो मीठो खाने भएकोले हाम्रो घरको खानेकुरा मन नपरेको हो कि भन्ने मेरा कलिला दिमागले सोंच्यो । बाले अघि आमालाई नदिई राखेको कुटुरो खोल्नु भो । त्यसबाट चामल झिकेर तामाको ताउलीमा खन्याउनु भो र आमालाइ त्यो चामल पकाउन लगाउनु भो । भात गुद्रुगुद्रु छड्किंदै गर्दा हामी खाना खाइरहेका थियैां । मेरो ध्यान भने बाको भात पाकिरहेको ताउलीमै थियो ।

पाकेपछि बाले कुटुरोबाट नूनको ढीको र सिलमको धूलो झिक्नु भो । गोरस थिएन ।बाले लसक्क सिलैाटामा त्यो नूनको ढीको पिस्न लगाएर त्यै नून र सिलमको धूलो भातमाथि छर्कनु भो र कपाकप खान थाल्नु भो। मलाई बडो नरमाइलो लाग्यो । पिताजीले "यस्तो चलन ता हटाउन पर्च" भन्नु भो तर बाले मान्नु भएन । "अब मेरो जीउ छन्जनीला अघिदेखीको चलन मैले छोड्दिन" भन्दै घुटुक्क पानी पिउँदै निस्तो भात किक्लिक किक्लिक निलीरहेको देख्दा अनायास मेरा आँखामा आँशु आए । मैले आमाको धोतीको सप्को तानेर जिज्ञासु आँखाले आमालाई हेरें । उहाँले मेरो अँधेरो अनुहार देखेर सम्झाउँदै भन्नु भो - "छोरीचेलीका घर्को अन्न, नून खान हुन्न भनेर बाले हाम्रो घरको अन्न नखानएको हो" ।

छ/छ वटी छोरी लिन बा यसरी नै हरेक तीजमा आफ्ना लागि अलिकति चामल, नून र सिलमको धूलो समेत कुटु-याएर बर्षैां हिड्नु भो । त्यो तीजको खाजा खाने (हाम्रा तिर दर खाने भन्दा खाजा खाने वा एकभक्ते भन्ने चलन चल्तीमा छ । खाजाको मतलब नास्ता हैन, कुहिनाबाट चुहिने गरी खान घ्यूमा पकाएको भात हो ) दिनको अघिल्लो रात बा हाम्रा घर आउनुभएको थियो । खाजा खाने दिन बिहानै ज्वाइँसग बाले बिन्ती बिसाउनु भयो - "ज्वाइँ, यो छोरी तीजमा माइत नगएको धेरै बर्ष भयो, अहिले त पठाउनुस् है" । 

"पठाउन ता हुन्तो कर, हेर्नुस्तो, यत्रा केटा'टी छन् । इनी चिचिभुँडीला' क'ले पकाएर ख्वाउँच र हो... दिदीहुर आउलान्, म बिरामी मान्छे..."। आमा बलेनीको आड लाएर कुरा सुनिरहनु भएको थियो । तरक्क आँसु पुछ्दै करेसा पछाडी जानु भो । बाले अघिल्लो दिनका दिन कुम्लो पारेर ल्याएको च्यादर पट्याएर काँधमा राख्नु भो र "नानी, यो हर्पे र चैांठी केटा'टीका हात पठाइदेस् है" भन्दै बाटो लाग्नु भो । आमाले जवाफ फर्काउन पनि सक्नु भएन । तल तगारोमा पुगेर पछाडी फर्केर पिलिक्क हेर्नुभो बाले । बा गैरहेको हेर्दै आमाले धोतीको सप्कोले आँशु पुछ्नु भयो । परैबाट बाबुछोरीका आँखा चार भए । "दशैंमा त टीको लाउन एक फिटिक जसोरी भए नि आएस् है छोरी, म डाँडा माथिको जून, कति पो बाँचुला र" भन्दै बाले अरूले नदेख्ने गरी आँशु पुछ्नु भो र पछाडी नहेरीकनै लमकलमक बाटो लाग्नु भो ।

खेत गोड्नको माचामाच थियो । गहुँको पीठो भूटेर ठेकीभरी मही राखेर कम्मरमा नाम्लो बाँधेर आमा खेत तिर लाग्नु भो । हातमा एउटा सानो ट्वाँली (हँसिया) लिएर म पनि पछिपछि लागें । "भरे त चाँडै खाजा खान आउन पर्च है आमा । अरूका त आज मेलामा (काममा) जानि रोइन्चन् । हाम्ला मात्रै तीजका दिन पनि मेलाँ जान पर्नि "- म सुस्तसुस्त फतफताएँ । "हुन्च हुन्च, मेला'ट अलि चाँडै आम्ला" भन्दै आमा अघि लाग्नु भयो । पाSSरी महाभारत पहाडको टाकुरामा हाम्रो मावली घर एउटा सानो छायाँ जस्तै देखिन्थ्यो । आमा हिड्दाहिड्दै टक्क अडिनु भो र यो गीत गुनगुनाउनु भो -

बाबाको पछि लागि माइत जाने बेलामा
महीको ठेकी बोकेर रूँदै मेलामा ।।

हाम्रा लागि त आमा मावल नगएकै जाती हुन्थ्यो । आमाको पछि लाग्न पाउने भाग्य काखकी बहिनीको मात्रै हुन्थ्यो आमा माइत गए पनि । तर आमा एकभक्तेका दिन हामीलाई पेटभरी खुवाएर बाहिर निस्कनु भयो र त्यो हाम्रा स्याना आँखाले नठम्याउने उहाँको प्यारो माइति घर हेरेर बरर्र आँशु खसाल्नु भो । अर्को दिन डाँडामा (तीजको गीत गाउन गाउँका सबै जम्मा हुने ठाउँ) मा थुप्रै जम्मा भए । मादल बजाएर तीजको गीत गाउने चलन थिएन । थपडी बजाउँदै गाउँदै नाच्दै गर्ने चलन थियो- बाहुन क्षेत्रीको । दलितहरू भने मादल गम्काएरै नाँच्थे गाउँथे, एउटा छेउमा । ८४ पार गरेकी हजुरआमा कम्मर मर्काइ मर्काइ नाच्नु हुन्थ्यो र स्वाँस्वाँ गर्दै तीजका यी गीत झिक्नुहुन्थ्यो -

कस्ता होलान् पशुपति कस्तो होला नेपाल
झिंगटीले छाएको त्यै हो नेपाल......

......शिरफूल लाउँदा लाउँदै माथि आए घाम
लोग र पनिचले हेर राम..... ।

त्यो तीज तीस बर्ष अघिको थियो । हजुरआमाहरूलाई नेपाल झिंगटीले छाएका घरहरू भएको बजार होला भन्ने लाग्थ्यो होला र त त्यस्तै गीत गाउनु हुन्थ्यो । मेरी आमा आफ्ना ८ सन्तानलाइ घरमा छाडेर तीजमा माइत जाने आँट कहिल्यै गर्नुभएन तर पनि प्रत्येक एकभक्तेका दिन महाभारत पहाडको टाकुरा नेरै रहेको माइति गाउँ हेर्दै उहाँका आँखाबाट गुड्ने ती आँशुका दाना सम्झेर म भावविभोर हुन्छु र अहिले शहरमा तीन महिना पहिले देखी दर खान भन्दै हिड्ने, वाइनका गिलास ठोकाउने र हिन्दी गीतमा नाच्ने तीज सम्झेर रनभुल्ल पर्छु ।

सान सेबाष्टियन, स्पेन
एकभक्ते, २०६९ भदैा ३१

Tuesday, July 17, 2012

हामी र उनीहरू


हामी र उनीहरू

ती जुध्थे, पछारिन्थे र खरानीको थुप्रोबाट फेरी बैारिन्थे
डार्बिनले भनेझैं साँच्चि ती बाँदरका सन्तान थिए,
तिनकहाँ बालुवा र खरानीको अपरिमित थुप्रोमात्र थियो
बारम्बारका चोट, प्रतिघात र मुर्खताका किताबबाट तिनले सिके,
कोसैां टाढाको सागरबाट तिनले पानी बोके,
बालुवाको थुप्रोमा हरेश नखाइ सिंचिरहे
त्यहाँ एउटा बाँस रोपे, त्यो बढ्यो
छहारी भयो- मानिसहरूका लागि, चराहरूका लागि, यात्रीहरूका लागि,
कुनैबेलाका मरूभूमीले स्वर्गलाई माथ दिइरहेछन् अचेल ।

तिनले बालुवा पेले, हावालाइ निचोरे र पानीबाट आगो बाले,
होमो सेपियन्स नामक बाँदरका सन्तान,
ती संसार फैलिए र सर्वत्र रजाइँ गरे ।

भगवानले एकैचोटी मान्छेको रूपमा श्रृष्टि गरेका हामी
उनको अमूल्य बगैंचा उपहार सित्तैमा पाएका हामी
"माथि नहेर, तिम्रो संसारलाइ नै स्वर्ग बनाउ" भन्ने ईश्वरीय आदेश पाएका हामी ।
हरे! हामी त्यस बगैचामा कुद्यैां, उफ्रियैां र बँगैचा फाँड्न थाल्यैां
बाँसघारी फाँडेर धनुष बनायैां र आश्रित चराहरूको शिकार ग-यैां
सुनलाई बालुवा बनायैां, हावालाई असह्य दुर्गन्धमा बदल्यैां
र पानीलाई ढलमा सुतायैां
बिरासतमा पाएका किताबहरू
नयाँ किताब लेख्ने भाषण गर्दै च्यात्यैां
वा ढोगेर बसिरह्यैां ।

अति गैारवमय, महान-प्रतापि लोकतन्त्रवादी, समाजवादी, साम्यवादी
र जातिवादीहरूको कुशलतम नेतृत्वमा !
हाम्रा अगस्त्य कर्मचारी र बिदेशीको कलो चाटेर भाइ लडाउनेका कृपाले
पुर्खैां देखिका मानिस हामीहरू
बाँदरका सन्तान बन्दैछैां
हाम्रा उत्तरआधुनिक, महान क्षमतावान (???)
नेताहरूलाइ सलाम, शासकहरूलाइ सलाम (!)
यिनका असीम निगाहले
हिरा, मोती र जवाहरातका थुप्रोबीच
बाँदरका सन्तानहरूसँग
बटुको थापिरहने सैाभाग्य जो पाएका छैां
तिनका खेती स्याहार्दैमा एकबारको जुनी सिध्याउने
अत्यन्त सहनशील, भोका नांगाहरूलाइ सलाम ।

पहाडको एक कुनाको मान्छे, मलाइ भने,
भगवानले शुरूमै बाँदर नबनाइदिएकोमै पछुतो छ,
शायद, आजसम्म हामी मान्छे भैसक्दा हैां।
सान सेवाष्टियन, स्पने
१७ जुलाइ, २०१२

Popular Posts (लोकप्रिय रचनाहरू)