मन परे लाइक

Friday, June 21, 2013

मधुशाला

मधुशाला 

पहिले पहिले
जब साँझ ढल्थ्यो,
धर्मराज- मेरो आत्मिय साथी
मलाई फकाई फकाई भट्टी लैजान्थ्यो
भट्टीकी पुतली साहुनी मसक्क मस्किन्थी
म लाजले रातो हुन्थें,
उसको मुस्कानले मेरो हृदयमा भुईचालो जान्थ्यो
साथी मलाई निशुल्क मदिरा पियाउँथ्यो,
मलाई इज्जतको एक पित्को भए पनि डर थियो ।

अहिले,
म धर्मराजलाई भट्टी लैजान्छु
म पुतलीलाई देखेर मसक्क मस्किन्छु
पुतली उपेक्षाभावले घृणापूर्ण दृष्टि फ्याँक्छे
म लाजलाई एक तुर्को मदिरासँग सुलुक्क निल्छु
मेरो स्वभावले मेरा लालाबालाको हृदयमा भुइचालो जान्छ
मेरो साथी मेरो बारी बेचेको पैसाले मदिरा पिउँछ
मलाई स्वास्नीको बुलाकी बेच्न नपाउँलाकि भन्ने डर छ ।

जब एक प्याला पिउँछु
त्यो प्यालामा प्रतिविम्व हेर्छु
हाँडीमुखे भट्टीकी साहुनी चन्द्रमुखी देखिन्छे
(किनकी ऊ सप्रेम पियाउँछे )
चन्द्रमुखी मेरी स्वास्नी ग्रहणकी जून बन्छे
(किनकी ऊ मलाई टोकसिरहन्छे)
म थुक्छु थुइक्क गर्दै घृणाले
फ्यात्त गर्दै त्यो मेरै तिघ्रामा खस्छ।


टेबुल उही छ
पुतलीले नयाँ सुन्दरी ल्याएकी छे,
उसको भट्टीलाई उज्यालो पार्न
लालटीनको मधुरो प्रकाशमा
म एक घुट्को मदिरा र एक घुट्को थुक पालैपालो निल्छु
म प्रति पुतलीको मुस्कानको आयतन शुन्य बिन्दुमा ओर्लेको छ
मेरो बहीखाताको उर्लंदो अंक हेर्दै
ऊ मेरो च्यात्तिएको खल्ती हेर्छे
र मुखमा अमिलो चूक उमार्छे।

मेरो साथी उही छ
केबल उसको परिजीविपनाको क्षेत्रफल बढ्दो छ
ऊ अहिले मलाई नै सिरानी र डसना बनाउँछ
मेरो कमिज फेरिएको छैन, मेरो सुरुवाल फेरिएको छैन
केबल आँखाको रक्तिमता मात्र फेरिएको छ ।

जब रात ढल्दै जान्छ
दुनियाँ मीठो निद्रामा लुटपुटिन्छ
केवल मेरी स्वास्नीको नींदमा खडेरी पर्छ
गल्लीको बाटो कुकुर भुकाउँदै
जब मेरो पुरुषार्थ घरतिर बढ्छ
संसारिक मोहबाट पर भएर
म नालीमा टाउको घुसाउँछु
कुकुर मेरो गन्हाएको इज्जत सुँघेर
एक तुर्को जलसेचन गर्छन् मेरो कपालमाथि
र शायद आफूलाई म पवित्र पार्छु ।

यी रातहरुमा
मेरी स्वास्नी तारा गनेर आँसु बगाउँछे
छोराछोरीहरु
सपनामा पनि बाबु देखेर झस्किन्छन्
नाङ्गो आकाश मुनि म न्यानो मानेर बेहोसी कटाउँछु
स्वास्नीलाई अँगेनाको आगोको रापले कम पोल्छ बरु
तर म भन्छु, मैले कसको के खाएको छु र ?
त्यही एक फकटो पुख्र्यौली खेत न हो,
त्यही एक कान्लो बारी न हो,
त्यही एक जोर ढुङ्ग्री र पाँच लालको बुलाकी  न हो।

आफ्नो पति परमेश्वर बहुलाएको देखेर
ऊ दिनहुँ गणेशस्थान धाउँछे
गणेशजी सुन्दैनन् किनकी
पूजारीले लड्डु कोचिदिएको छ उनको लामा कानमा
चुप लागेर टोलाउँछन् उनी
किनकि हरेक रात
म  भट्टीबाट फर्कंदै गर्दा
एक घुट्को रक्सी
उनको मन्दिरमा चढाउन भुल्दिन
मेरो चाकरीबाट गणेशजी
प्रसन्न छन् वा वेहोस् छन्
 जे होस् उनी
स्वास्नीको पुकारा सुन्दैनन्


फेरी
अर्को रात खस्छ
सँगै खस्छन्–
छोराछोरीका खुसीहरु
स्वास्नीका आँसुहरु
इज्जतका टुक्राहरु

घरका छानाहरु ।

-भीष्म कुमार भूसाल 
योकोहामा, जापान 
२०६४ भाद्र १४ 

Friday, May 10, 2013

यो चाहीं आफ्नैबारेको समाचार

यो चाहीं आफ्नै बारेको समाचार (हेम-सरिता अन्तराष्ट्रिय साहित्य पुरस्कारबारेको)
पढ्न मन लागे यो सँगैको ह्वाइटहिमालटिभि भन्ने लिंकमा थिंच्नुहोला।
http://whitehimal.tv/kabit/

Wednesday, May 8, 2013

आमा , औला र वाणीहरू


आमा , औला र वाणीहरू

आमा !
म जति वाचाल होऊँ, विद्वान होऊँ
एक चित्कार च्याहाँ बाहेक के लिएर आएँथें र?
तिमी त हौ, जसले पहिलो वाणी दिएकी थियौ
मैल जुनसुकै व्यञ्जनको धक्कु दिएपनि
तिमी त हौ, जसले आफ्नै शरीर निचोरेर
जीवनदायी दूग्धामृतसँग
पहिलो स्वादको चिनापर्ची गराएकी थियौ
म आफूलाई जति शक्तिशाली सम्झूँ
तिमी नै त हौ, जसले कमजोर-कोमल कायालाई
पेटमा लुकायौ, काखमा सुतायौ र आँचलमा छुपाएथ्यैा
मेरा कलिला औंला समाएर
तिम्रा थिरीथिरी र तातेतातेको प्रेमिल उर्जाले
हजार माइलको यात्राका लागि गतिशील बनाएथ्यैा।

आमा !
तिमी जति बेला आधा ज्यान नछोप्ने
छोटो ओढनीमा मलाई लुपुक्क पार्दै
जाडोले लुगलुग काम्दै अनिंदा रात छाम्थ्यौ
मेरो पिसाबले भिजेको थाङ्नो आफ्नो शरीरले तताउँथ्यौ
र पेटीकोटको ओभानोमा मलाई लुटपुट्याउँथ्यौ
तिम्रो छातीको न्यानो तापले म मीठो निद्रा सुत्थें
र सपनामै हाँस्थे परीहरूसँगको थैयाथैयामा
त्यो मुस्कानमा सहस्र दुख भुल्ने तिमी त थियौ
शब्दजाल बुन्न आज म जति नै खप्पिस  होउँ
तिम्रो त्याग, समर्पण, स्नेह र श्रद्धाको चर्चा गर्न
मेरा शब्दहरू निरीह-निर्धा भएका छन्।

आमा !
मीठो चोखो पाकेको दिन
थुप्रै मधुरा साँझहरूमा
हामीलाई खुवाउनमा खट्थ्यौ
हाम्रा प्रसन्नचित्त गाँसहरू हेरेरै अघाउथ्यौ
आफ्नो भोकलाई वात्सल्यसँग साट्थ्यौ
रित्तो कराही पछाडी लुकाउँदै भन्थ्यौ-
"मलाइ छ, खाओ, खाओ"
तिमी नै त हौ, जो
सन्तानको हाँसोका लागि दुखमा रून बिर्स्यौ
हाम्रा बिरामीका कहर तिमीले काट्यौ
हाम्रा खुशीसँग साट्यौ- कष्ट, अभाव र मीठा नीदहरू
अपरिमेय त्यागको अतुलनीय प्रतिमूर्ति तिमी त हौ ।

आमा !
जब तनाव, थकाइ र हारहरूले म गलेर आउथें
तिम्रो एक स्पर्श मेरो शिरमाथि पर्दा
ती सबै भाग्थे कता हो कता
र म उर्जाशील हुन्थें- नयाँ यात्राका लागि
तिम्रा ती तिलस्मी हातहरूले
पुष्ट्याइदिएको  देह त हो यो
जसलाई म प्रत्येक बिहान
ऐनामा हेर्छु र गमक्क पर्छु
रक्त र मांशपिण्डमात्र तिम्रा अंश कहाँ हुन् र?
मेरा चालहरू, मेरा वाणीहरू, मेरा स्वादहरू
सबै तिमीले नै त सापटी दिएकी हौ
कहिल्यै फर्काउन नपर्ने गरी
स्नेह, समर्पण, श्रद्धा र सम्पूर्णताका प्रतिमूर्ति
आमा ! सयौं जुनी तिम्रो यो स्नेह पाइरहूँ।



सान सेबाष्टियन, स्पेन
पूर्वसन्ध्या- मातृदिवस
२०७० बैशाख कृष्णचतुर्दशी, राधाष्टमी

Tuesday, April 23, 2013

फूलहरू, शहीदहरू र नेताका गर्धनहरू


फूलहरू, शहीदहरू  र नेताका गर्धनहरू

मालाले तिमी छोपियौ
तिम्रो शीर फूलको थुम्कोबीच पुरियो
क्यामराहरूले आँखा सन्काएः झिमिक्-झिमिक्-झिमिक्
केही बेर पछि नै हामी मालाहरू
सडक छेउका नालीमा मिल्कियौं  ।

जब हामी बगैँचामा थियौं
भ्रमर- नृत्यसँगै हामी हल्लन्थ्यौं
नानी फूलहरू मस्कँदै आउँथे
त्यहाँ जीवन थियो, आकर्षण थियो
माटोको सुवासमा बतास लुटपुटिन्थ्यो,
तर पनि जब हाम्रा घाँटी निमोठिए
त्यो प्राणान्तक वेदनाभित्रका पीडाका  सिर्काहरू
तिम्रा गर्धनमा आएर पोखिए,
हामीले ठान्यौ, हामी धन्य भयौं ।

कापालिकहरूका भिक्षापात्र सरह
उत्सर्गका प्रतिमूर्ति शहीद- खप्परहरू देखाउँदै
तिमीहरूले जनतासँग भिक्षा मागिरह्यौ र भन्यौ-
"हामी मुक्तिदाता हौं
माग्छौं केवल तपाइँका त्याग र समर्पणहरू
जुन हतियारले हामी
यिनका अधुरा सपनाहरू
यसै माटोमा  जिउँदा र मूर्त  बनाउनेछौं ।"

तिनका पनि स-साना फूलबारी थिए
जहाँ हाँस्थ्यो तिनको
भर्खर एउटा दाँत पलाएको छोरो
स्वास्नी सिउँदो कोर्थी  र
त्यही धर्कोले पुरिदिन्थी दुख, अभाव र आला सपनाहरू
गोधूली साँझमा टोपीले पसिना पुछ्दै
 जब ऊ आँगनमा झुल्कन्थ्यो
उसका औंला समात्थी- पुतलीफ्रक लगाएकी सानी छोरी
दैलाबाट चियाउँदै मुसुक्क मुस्काउँथी
अँगेनामा आगो ठोस्दै गरेकी स्वास्नी
हो, तिनका स्याना र मधुरा सपना थिए
कल्पिन्थे- स्वर्गको  एक सानो टुक्रो
तिनले आफ्नै आँगन होस् ।

त्यो दिन,
जब तिमीले यही गर्धन फुलाउँदै भन्यौ-
"जूनकीरीको उज्यालोमा नअल्मलिउ
जाग, उठ र हिंड- आँगनभन्दा बाहिर
अधिकारको, न्यायको र विकासको त्यो राँको
हामीले खोसेर तिम्रो घर उज्यालो पार्नेछौं "
उसले पत्याएको थियो र
स्वास्नीका सुँकसुँक्याइ हत्केलोले छोप्दै
दौराको फेरो समातेकी छोरीको हात छुटाउँदै
तिम्रो पछि लागेको थियो
गोहीका मुखमा पुग्ने बेला तिमीले भन्यौ-
"हार्नका लागि एउटा फ्याङ्ले शरीर न हो
जित्नका लागि पुरै संसार छ,
अघि बढ, झम्ट र खोस।"

जब एउटा गोलीले उसको पातलो छाती छेड्यो,
तिमीले झण्डाको कात्रो ओढायौ
र मकर-पीडाको अनुभूति गर्दै खोक्यौ,-
"तिम्रा सपनाहरू नै हाम्रा शीरका कफन हुनेछन्।"
हो, त्यसै दिन देखि खोसिए
घुर्मैला सपनाहरू ती स्वास्नीमानिसका
भर्खर ताते गर्ने एकदन्ते बच्चाका
दुई  चुल्ठीमा सजिएकी पुतलीका ।
त्यो स्वास्नी मानिस, अब पोइटोकुवा भइ
उसको सिउँदोसँग पखालिए
उसका इज्जत, मान र अस्तित्वहरू,
जव  आँशु सुकेर उसका आँखाहरू
चैतको डढेलो जस्ता देखिन्छन्
यो समाज भन्छ-
"हेर त्यसका आँखा बोक्सीका जस्तै छन्"
त्यही समाज,
त्यो एकदन्ते बच्चोको दाँतलाई
बाबु चपाउने दाह्रा देख्छ
जब स्कूलमा कसैको पेन्सिल हराउँछ
त्यो टुहुरी केटी नै चोर करार गरिन्छे ।

कतै कहिल्यै शुष्क स्वरमा त्यो आइमाई भन्छे
कि ऊ त शहीदकी जहान हो
तब सोधिन्छ-
"तिम्रो लोग्ने कसरी शहीद भएको "?
"गाडी दुर्घटनामा या ग्याङफाइटमा?"
हिजोको स्वर्गको सानो आँगन
आज गाली, हेला र अपमानमा
तैरिंदै डुब्दै गरिरहन्छ,
प्रत्येक गोधूली साँझमा
पारी बाटोको कुइनेटोमा
जब कसैको छायाँ देखिन्छ
छोरी भन्छे- "आमा हेर त हाम्रा बा !"
तर त्यो छायाँ अँध्यारो बाक्लिदैं जाँदा
केवल त्रासको प्रतिविम्ब बनेर
तिनका आँगनको बाटो हिंड्छ ।

बिचरा ! तिनका सपना
तिम्रा गर्धनबाट मिल्किइएका
तर, शहीदको गर्धनसँग साटिएका
हामी फूलहरू झैं
फोहोर नालीमा तबसम्म सुताइन्छन्
जबसम्म अर्को चुनाव आउँदैन,
जब तिमीहरूको कुर्ची धरापमा पर्छ
तब शहीदको बिस्कुन सुकाउन
शब्दका इन्द्रजाली मोहनी अवतारहरू
भाषण बनेर तिम्रा मुखबाट ओर्लिन्छन् ।

हामी बिर्सन्थ्यौं चुँडिनुको पीडा
यदि त्यो विधवा आइमाई
मुहारमा तानेर मुस्कान
द्वितीयाका चाँद जत्ति मात्रै भएपनि
पहिराउँदी हो  तिम्रा गर्धनमा
एउटा माला आस्थाको
ती टुहुरा देख्दा हुन्
तिनका बाबुका प्रतिच्छाया तिम्रा आँखाका नानीमा
हामीलाइ अफसोच छ-
तिम्रा गर्धनका लागि
फूलको शहादत र शहीदको शहादत
उस्तै उस्तै छ, तर पनि
ती शहीदका आँगनको छायालु कुनामा
तिनका आँशुको बरसातमा
हामी केवल रोइरहन्छौं
भरोसाको मृत्यूशोकमा ।
सान सेवाष्टियन, स्पेन
२१ अप्रिल, २०१३

Thursday, April 11, 2013

शुभकामना !!!

शुभकामना नयाँ वर्षको


नयाँ बर्ष !
जसलाई हामीले मुक्तिको ध्रुवतारा ठान्यौं
ती त पुच्छ्रेतारा रहेछन्
चिमिक्क चम्के, खसे, बिलाए ।
भैगो, चाहिएनन् यी ताराहरू,
हामीलाई त सुनौला प्रकाश  चाहिएको हो,
अनिश्चयको बादल फाटेको आकाश चाहिएको हो,
चराहरूको जीवनप्रवोधिनी कलरव
अनि,
यी गहुँका बालामा जस्तै बयेली खेल्ने
 हाम्रा लालाबालाको हाँसो चाहिएको हो ।

नयाँ वर्ष!
भित्तामै टाँसिएर, भित्ताबाटै खस्ने हो भने
तिमी आउनु र जानुमा के को हर्ष, के को बिस्मात?
तिम्रो बर्गाकार कोठाहरूबाट
दिनहरू फुत्त निस्कून् र पोषिलो राप दिउन्
नाङ्गा ढाडहरूमा, भोका पेटहरूमा,
आँखाका कुनामा मुजा पारेर
नेपाल आमा मुस्काइरहून्-
तिमीले ल्याएको खुशीको पोको देखेर
ढँटुवाहरूको वाणी बन्द होस्
लुटुवाहरूको खानी पुरियोस्
देशले विधान पाओस्- रोगले निदान पाओस्
तिम्रा महिनाहरूले
मैना चरीको संगीत बोलून्
अर्को बर्षले ढोका ढक्ढकाउँदा
हामी हाँस्न सकैं एक खित्को हाँसो
२०७० ले छोडेको नासो भनेर।

कञ्चनजङ्घा हिमालको शिरमा
तिमीले सुनगाभा पहिराइदिँदा,
हामी भन्न सकौं-
त्यो हाम्रै शिरमा परेको हो,
उज्यालो भविष्यको एक चोइटो
सबैको भागमा परोस्
नयाँ वर्षको सबैमा शुभकामना।

                                                  -भीष्मकुमार भूसाल
                                                    सान सेबाष्टियन, स्पेन
                                                      २०६९ चैत्र मसान्त

Thursday, March 28, 2013

बासँग बिलैाना


बासँग बिलैाना

(यो कविता केही दिन पछि सार्वजनिक गरिने छ। अहिलेलाइ हटाइएको छ)
सान सेवाष्टियन, स्पेन
२० फाल्गुण, २०६९


Saturday, February 9, 2013

आँट भरेर आउ मनमा

आँट भरेर आउ मनमा

भन्थ्यैा म भत्काउँछु बाधाको पहाड,
भन्थ्यैा, बुकी-फूलहरूमा
भर्छु रजनीगन्धाको सुवास,
भन्थ्यैा अलंघ्य छ आस्थाको मैदान ।

तर,
एक छड्के हेराइ के हेरेकी थिएँ,
भत्केछन् सैार्यका पर्खालहरू गर्ल्यामगुर्लुम
गिडगिडाउन थालेछैा- पुलिसको सामु चोर झैं ।
के आँट गरैाला र?
चुम्न सिरूपाते यी ओंठहरू
तिम्रो देब्रे छातीमा सेतो रगत बग्छ भने
कसरी बुझैाला र प्रणयको प्रवेग?

भैगो, एक हिउँद तापेर पञ्चाग्नि,
एक माना भरेर ताकत- आत्मविश्वासको कन्तुरमा
अर्को बिर्बिरे असिना पर्ने दिनसम्ममा
फर्काएर आउ तिम्रा विश्वासहरू
सुदुरपूर्वको लालीमाले पहाड हाँस्दासम्म
म तिम्रै बाटोमा
भिजेका परेली ओछ्याइरहने छु।

भीष्मकुमार भूसाल
सानसेवाष्टियन, स्पेन

Monday, January 21, 2013

के लेख्नु कविता?

के लेख्नु कविता?
चेलीहरू आत्मरक्षार्थ चिच्याइरहे
माइतिहरू मन्दिरमा भजन गाइरहे,
भाइहरू भोकले शहीद भए
दाइहरूले तिनका शालिक बनाए
र त्यसमै कमिसन खाइरहे ।

सलाइ खरिद्न नसक्ने खरदार भयो
अख्तियार नै किन्ने उसको दरवार भयो
पियनले थर्काएको हाकिम
डान्सबार उसको घरवार भयो ।

नेता "ए" लाई पिलो आयो
सिंगापुरको भ्रमण भयो
नेता "बी" ला गीलो... आयो
तीस लाख उतै चर्न गयो
पखालाले महान जनता
जहानसँगै मर्न गयो ।

हामी बिहान बिहान भनेर पर्खिरह्यैां
ती चिहानमाथि चिहान थप्दै गए ।
अब त रोगीले खोक्न पनि हुन्न
शान्ति प्रकृया भाँडिन्छ रे
भुइँ न भाँडाको यो शान्ति प्रकृया
पोखिएला कि भनेर
हामीहरू थरथर काँपिरह्यैां
तिनले हाम्रा विश्वास धरधर च्यातिरहे ।

भो लेख्दिन कविता...
फेरि शान्तिप्रकृया भाँडिएला.....।

 
सानसेवाष्टियन, स्पेन
माघ शुक्ल दशमी, ८/१०/२०६९

Saturday, December 15, 2012

Free SMS (निशुल्क एस्एम्एस् का लागि)


Steps: 1. Write message first, 2. Put 00+country code+area code. For example, to send a message to Nepal, 00 977 9876543210 3. Most often, you will get it delivered (as per my experience). Put you comment. पहिले म्यासेज बक्समा म्यासेज लेख्नुहोस् । अनि बल्ल मोबाइल नं. लेख्ने ठाउँमा ००+कन्ट्री कोड+ एरिया कोड राख्नुहोस् । जस्तैः काठमाडैांका लागि 00 977 9876543210 (बिचमा स्पेश नराखिकन)। त्यसपछि सेन्डमा थिंच्नुहोस् । ग्यारेन्टी त हुँदैन तर मेरो अनुभवमा प्रायशः जान्छ है ।

Monday, November 19, 2012

Popular Posts (लोकप्रिय रचनाहरू)