बोक्सी
''आमा ! तिमीलाई सबैले
बोक्सी भन्छन्
बोक्सी कसरी भइन्छ आमा?''
छोरी !
बोक्सी हुन केही गर्नु पर्दैन बा,
दशा लागे पुग्छ,
जुन दिन तेरा बा खसे,
हाम्रा गाँस छिनिए, बास भत्किए
म रातारात बोक्सी भएँ।
अपशब्द, घृणा र आरोपको बर्षामा
म निरन्तर रूझिरहें
रगत भन्दा घाउहरू धेरै भए
आँशु भन्दा डसाइहरू बढ्दै गए
समाजले मेरो वाणी खोस्यो
र म बरबराएँ बिरहका आलापहरू
अनि मान्छेले भने
ल हेर! बोक्सी मन्त्र फुक्दैछे।
बचनका बाणले आहत भएर
अरूको सामुन्ने नपर्न
जब म आधा रातमा
खोलामा पानी भर्न गएँ
तिनले भने-
"देख्यौ ! त्यसले त मसान
खेलाउँदै छे।"
एकसरो न्यानो लुगाको अभावमा
एउटा बाक्लो सिरकको अभावमा
आधा उध्रेको छानामुनि
शिशिरको सिरेटोको प्रहारले
जब म जाडोले काम्दै थिएँ
तिनले भने-
"ल हेर ! बोक्सी
काम्दै छे।"
रूनुको सीमा पार गरेपछि
जब मेरा आँखा फुस्रा भए
तिनले भने-
"त्यसका आँखा
बोक्सीका जस्तै कैला छन्।"
सुहाग खोसिएको कपाल
बिरहको जंगल बनाएर
नकोरी के छोडेकी थिएँ,
तिनले भने-
ल हेर, बोक्सी झाँक्रो फिंजाएर बसेकी छे।
मदिरा मत्त ड्राइभरले
जब गाडी खोलामा खसाल्यो,
बचनका तीर तिनले मैतिर ताके र भने-
''साइतको बेला
त्यै नकच्चरी राँड मुन्टेकी थिई"
जसको आफ्नै साइत
चौबिसै घण्टा
बिग्रेको छ
कहाँ लुकेर तिनका साइत बनाइरहूँ?
कतै लाग्छ, कोही हुनसक्छ बोक्सी भने
म बनूँ र यिनीहरूलाई छानीछानी बदला लिउँ
तर अपसोच,
साँवा अक्षर नचिनेर त मजदूरकी स्वास्नी भएँ
कसरी जान्दी हुँ र त्यो घातकी विद्या?
मेरो स्वर्गवासी खसम्
भन मलाई,
मलाइ बोक्सी बनाउने
यो समाज हो या हो तिमीले खोसेको सिन्दूर?
तिम्रो सिन्दूर यति महँगो हुन्छ भने
अबका बेहुलीले यसको निषेध गरून्
तिमीले दिएको वैधव्य दान भन्दा महंगो भो खसम
तिम्रा सिन्दुरले छाडेको यो वोक्सीको दानप्रतिष्ठा ।
No comments:
Post a Comment