छ देश हेर बन्धकी, परन्तु लोक चुप्प छन्।
न भ्रष्ट लाज मान्दछन्, ठुलै छ आड ढुक्क छन्।।
मसी सुकेछ काव्यमा, मधूर लाग्छ गन्गन।
न बोल्न कोही सक्दछन्, अनङ्ग झैं छ चिन्तन।।१ ।।
लुटिन्छ अस्मिता यहाँ, छ रक्षकै पतीत छ।
छ सार्वभौम दाउमा, लिलाममा सतीत्व छ।।
म उठ्छु शैल झैं भन्यौ, किनिन्छ बोल्छ जो जन।
कसोरी नष्ट भ्रष्टको, सकिन्छ गर्न लौ भन ।।२ ।।
न साथ जान्छ कुर्सि यो सँगै सँगै मसानमा
न प्रेयसी न बन्धु नै सँगै हुने चिहानमा ।।
न चित्रगुप्त नोटमा भुलेर माफ गर्दछ।
अझै नि लुट्न मस्त पो, छ भ्रष्ट कत्ति गिर्दछ? ।।३।।
अवश्य अन्धयूग यो सकिन्छ हेर एक दिन्
हुदैन राष्ट्र दुष्टको धपक्क बल्छ घाम जून।
दिएर दण्ड कर्मको, थुकेर छाड्छ लोक यो
नबिर्स चेत फर्कँदा, नेपाल जुट्छ जुट्छ यो।।४।।
सान सेबाष्टियन, स्पेन
No comments:
Post a Comment