नदीकिनाराका गीत-Riverside Songs (A Literary Corner of an Economist)
भीष्मकुमार भूसालका कथा, कविता, गीत र नियात्राहरू : (कृपया तल स्क्रोलडाउन गर्नुहोस्)
मन परे लाइक
Friday, January 30, 2015
Tuesday, March 11, 2014
नेपाल जुट्छ जुट्छ यो (पञ्चचामर छन्दमा)
छ देश हेर बन्धकी, परन्तु लोक चुप्प छन्।
न भ्रष्ट लाज मान्दछन्, ठुलै छ आड ढुक्क छन्।।
मसी सुकेछ काव्यमा, मधूर लाग्छ गन्गन।
न बोल्न कोही सक्दछन्, अनङ्ग झैं छ चिन्तन।।१ ।।
लुटिन्छ अस्मिता यहाँ, छ रक्षकै पतीत छ।
छ सार्वभौम दाउमा, लिलाममा सतीत्व छ।।
म उठ्छु शैल झैं भन्यौ, किनिन्छ बोल्छ जो जन।
कसोरी नष्ट भ्रष्टको, सकिन्छ गर्न लौ भन ।।२ ।।
न साथ जान्छ कुर्सि यो सँगै सँगै मसानमा
न प्रेयसी न बन्धु नै सँगै हुने चिहानमा ।।
न चित्रगुप्त नोटमा भुलेर माफ गर्दछ।
अझै नि लुट्न मस्त पो, छ भ्रष्ट कत्ति गिर्दछ? ।।३।।
अवश्य अन्धयूग यो सकिन्छ हेर एक दिन्
हुदैन राष्ट्र दुष्टको धपक्क बल्छ घाम जून।
दिएर दण्ड कर्मको, थुकेर छाड्छ लोक यो
नबिर्स चेत फर्कँदा, नेपाल जुट्छ जुट्छ यो।।४।।
सान सेबाष्टियन, स्पेन
Labels: कविताहरू, कथा, यात्रा संस्मरण, जागरण गीत
कविताहरू
आमा, चिवे चरा र मेपलका पातहरू
("आमा, चिवे चरा र मेपलका पातहरू" शीर्षकको कविताबाट केही अंश)
बचेराहरू छन्
प्रतीक्षामा मुख बाएर अनिकालको
एक फाँको चारा छ
कुन ओढारमा खसाल्ने हो?
ऊ अलमलिन्छे
बचेराहरूका भोकका ओढारहरू
उसको हृयद निल्छन् कप्लक्क।
गलेकी छ ऊ
भोक, थकाई र चिस्यानले
त्यो के हो? जसले फर्काउँछ फेरी
उनै बर्फिला चट्टानी पहाडतिर
जहाँ केही क्रन्दनहरू फुत्किन्छन्
अनि उसको एक फाँक चारामा बदलिन्छन्
फेरी उही तुषारो फोराइमा
उसको सिसिफस प्रयत्नहरू
सन्तानको मोहमा श्रापित हुन्छन्
पश्चिमी क्षितिजमा
कलेजी रङ नपोतिँदै
उसले गुँडमा फर्किनु छ।
.............................
मेपलका पातहरू
हुर्केका सन्तानले आमाको काख छोडे झैं
हाँगाबाट झर्दैछन् फुत्त फुत्त
भुकभुके उज्यालोमा घर छोडेको सन्तान
टुकी बलेको पहिलो प्रहरको कुनै साँझ
फर्केला ढोकाबाट आमा! भन्दै
तर यी पातहरू फर्कन्नन्
तिनको बिदाइमा
अघाउन्जी रून पाउने छैन त्यो रूख
यिनै पातहरूले
सँगै लिएर झरेका झन् आँशुका झरनाहरू
केवल सुकसुकाइ छाडेर बोटमा।
.....................................
ए पथिक !
तिम्रो बाटो अझै कति छ?
नबिर्स है मुस्काउनपछिल्तिर फर्केर
आफ्नै पैतालाका डोबहरू हेरेर
किन भने,
एक दिन
मेपलका पात निख्रने छन्
एक भुल्को अँध्यारो
तिम्रो छाती टेकेर अघि बढ्नेछ।
सान सेबाष्टियन, स्पेन
२३ जनवरी, २०१४
Labels: कविताहरू, कथा, यात्रा संस्मरण, जागरण गीत
कविताहरू
इलाम
सोमरसमा लठ्ठिंदै
उर्वशी नृत्यमा
इन्द्र मदहोस भएको बेला
अमरावती बगैंचाको एक टुक्रा चोरेर
इलाममा टाँसिदिएथ्यो
पहाडको कुनै देवताले।
कुम्भकर्ण नींदमै छ,
पाण्डिम आङ तन्काउँदैछ
श्रीअन्तु
सुत्केरी भएर
गोलकाँक्री सुर्य जन्माउँदा
बुढेशकालमा पहिलो सन्तान-सुखमा
मुस्कुराइरहेकी जीर्णकाया आमा झैं
हाँस्छ कञ्चनजङ्घा,
जिस्काउँछ सगरमाथा
र लजाउँछ मकालु।
यही बाटो माथि लाग्दैछन्
केही अगस्ति भुँडेहरू
भ्रष्टको भाकलमा
नफकिनु है पाथीभरा !
ती चाहन्छन्
देशको भकारीमा दुलो पारेर
आफ्नै पाथी मात्र भरिरहूँ।
अर्का थरी छन्
तेरो मेरोमा अल्मलिन्छन्
यसै भूमिमा
चुच्चा नाकले ख्याली गाएकै हो
चिम्सा आँखाले दुर्गा पुजेकै हो
कालो छालाले खुवाएकै हो
जलेबी, खुर्मा र अनरसाहरू
ए दाइ !
हाम्रो रगतको रङ
कहाँनेर बदलियो?
म त
माइखोलाको किनारै किनार
अलैंची चपाउँदै
अम्रिसो घारीमा पुगेर
ल्याएको छु एउटा कुचो
बढार्नेछु- मनका कसिंगरहरू
सिउरिने छु गुराँस
र बजाउनेछु बिनायो
सन्दकपुरे पखेरामा।
देशबाट के पाएँ र भन्नेहरूले,
इलम नहुनेहरूले
इलामबाट सिक्न
बिलम्ब नगरून्
ओलन बेचे पनि, आलु रोपे पनि
ठिहिराउने हिउँदमा
अदुवा हालेको चिया पिउँला
आलुको झोलमा
अकवरे खुर्सानी निमोठेर
रसिला आँखा पार्दै
बुक्याउँला एक थाल ढींडो
इलाम !
तिम्रा राता गाला हेर्न
म फेरी आउनेछु।
- २३ जनवरी, २०१४
सान सेबाष्टियन, स्पेन
Labels: कविताहरू, कथा, यात्रा संस्मरण, जागरण गीत
कविताहरू
Sunday, September 8, 2013
दुई हाइकू
सन्तान
मधुस् फोरेर
रैयाँ र हमेलबाट
छेडिन्छ नाइटो।।१।।
अँधेरी रात
बुढी औंला त्रासमा
नींद भत्कन्छ।।२।।
पेट उध्रेर
जन्मेको सन्तानबाट
मुटु उध्रिन्छ।।३।।
परदेशी
चिठी हेरेर
सिरानीमा लेखेछ
आँखाले चिट्ठी।।१।।
गिध्द ओर्लिन्छ
करेसा पछाडीको
केरा घारीमा।।२।।
अरबको खाडी
कफनवाला खुशी छ
बेपार बढेर।।३।।
-जूलाइ २, २०१३ राती २ बजे
सान सेबाष्टियन, स्पेन
Labels: कविताहरू, कथा, यात्रा संस्मरण, जागरण गीत
हाइकू
बिडाल-मुषिक मिलाप
बिडाल-मुषिक मिलाप (बिरालो र मूसोको मिलन)
...............................................................
म्याऊँ म्याऊँ गरेका थे, टिठाई घर ल्याइयो।।
आगोको मधुरो राप, दिएरै पनि सेकियो।
उपियाँले घेरेका थे, सफाई पनि पो भयो।।१।।
मार्लान् मूसा भनी तिनै, बिरालाहरू पालियो।
बनढाडे बने उल्टै, चल्लाको त बिनाश भो।।
बच्चाको मुख मारेर दूधभात खुवाइयो।
ओछ्यानैमा गरे बिष्टा, हाम्रै कन्तबिजोग भो।।२।।
कुँडेको तर चोरेर छानामा गइ ढल्किए।
काला-सेता सबै मिले, भन्डारैतिर पल्किए।।
आफू आफू जुधी फेरी, ङ्यार्रङुर्र कराउँछन्।
घरको जगमा मूसा, देख्दा खेरी डराउँछन्।।३।।
मुसेरीमा कुनै मूसा, झुक्किएर पर्यो भने।
यो हो मेरै ठूलै मित्र, भन्दै जाइ छुटाउँछन्।।
साँझ मूसा बिरालाको, देखिन्छ सह-भोजन।
मित्रता दह्रिलो पार्ने, गर्दछन् नित्य चिन्तन।।४।।
साउन २, २०७०
सान सेबाष्टियन, स्पेन
Labels: कविताहरू, कथा, यात्रा संस्मरण, जागरण गीत
कविताहरू
स्मृतिका तरेलीमा आँशुका फूलहरु
स्मृतिका तरेलीमा आँशुका फूलहरु
पहिले पहिले
औंला खुबै भाँचिन्थ्यो
गन्नका लागि केवल
दशैं, तिहार, औंसी, संक्रान्ति
पैंचो र पर्मका हिसाबहरू।
तर अहिले
औंलाको टुप्पो ठोसेर
मोबाइल क्यालकुलेटरका टुटिल्कामा
गन्छन्-
अरब, मलेशिया, साउदी र कतारबाट
हड्डी मक्याएर, शरीर निचोरेर
आगोको भुंग्रोमा पसेर झिकेका
दिराम, रियाल र दिनारहरू
कहिले आउला र किनुँला
शान झार्ने गरी छिमेकको
आइफोन, एलसिडी टिभी
अनि भाले मोटरसाइकलहरू।
चाड आउँथ्यो,
एक हर्पे घ्यू, एक चौंठी तेल
एक कोर्को सिन्की
केही सेल, ठोकने, फिनी र अनरसाहरू
सोली भरेर
छोरीका लागि पाहुर हुन्थे
घर फर्कँदाको साँझ
माइतीको पाहुर गर्वले बाँड्थी छोरी
अहिले ऊ आउँछे
हाम्रा हातगोडा चल्दैनन्
फर्कँदाको दिन
एक कार्टुन चाउचाउ
एक पाकेट किटक्याट
केही लेजका पोकाहरू
प्लाष्टिकमा झुन्डाएर फर्कन्छे।
दिनभर रोपाइँ गरेर
हामीले अर्नि खाने
सेराको चाक्लो ढुङ्गामा
केही हिले गिद्धहरू
गँडेला माछा र गँगटाको शिकार गर्छन्,
जुन खेतका भङ्गाला थुन्न
मैले ढुङ्गा बोक्दा
ढाड सड्काएको थिएँ
खुट्टाको गोलीगाँठा फुटाएर
आफैलाई कुँज्याएको थिएँ
त्यसै खेतको
पाँच मुरे गरोमा
बुकीहरू फुस्रै फुल्दै
मलाइ नै गिज्याउँछन्।
बाटो भाट्टिएको छ
बगरमा बयर लदाबदी छ
अचेल कसैको पछ्यौरी अड्कन्न त्यहाँ
डमराइ, ऐँसेलु र खजुरीहरू
पाक्छन् र फ्यातफ्यात खस्छन्
कसैका छाला चिमोट्न
पाउन्नन् अचेल तिनीहरू।
तीस हाते कटेरोको
एउटा छेउमा
एउटा भैँसी छ, एउटा गोरू छ
भोकले दाम्ला छिनाल्न खोज्छन्
तर घरकी बुहारी
मोबाइलमा भिडियो क्लिप हेर्न
दिउसै ढोका थुनेर बस्छे,
अर्की एक बेत ब्याउने बित्तिकै
पहिली नातिनी
हामीले राम्ररी सुमसुम्याउन नपाउँदै
शहर पसी, नानी च्याँपेर
पढाउन लगेकी रे
मानौं ऊ
आमाको पेटबाट
स्कुल जान दगुर्दै झरेकी होस्
घर बाख्रो व्याएको छ
आँगनमा पाठापाठी उफ्रँदा
तिनैलाई सुम्सुम्याउँदै हामी
नातिनातिनीको अत्यास मेट्छौं।
घर रित्तिएपछि
मुसाहरुको जुलुस
भित्रै आएर तोडफोड गर्छ,
बिरालाहरु तर चोर्छन
अनि छानामा गएर
रापिलो घाममा सुत्छन्
हाम्रो नीद समेत खोसेर।
अस्ति भर्खरै
टाकुरे बुढा खसे
गाउँमा
मुस्किलले पाँच-जोर बूढाबूढी
र दुई बुहारीहरू जुटे
मलामी जाँदा बाटैमा
ठूलाघरे बुढा लोटे
घाटबाट फर्कँदा पनि
हाम्रा काँधले फुर्सद पाएनन्
छोरो अम्रिका छ रे
उसको डलरले थाप्दैन काँध
अस्पत्ताल पु-याउने छैन कोही
कुँजिएका छन् बुढा
छोरो विदेशमा
डलरका पछिपछि
आँधी झैं कुँदिरहेछ।
अघि आसिक दिन्थे-
सन्तानले डाँडाकाँडा ढाकून्
अहिले गाउँमा को नै जन्मन मान्छ र?
गाउँमै बस्ने दुई तीन जोडी छन्
दशैंको टीकामा सबैले आसिक दिन्छन्-
सन्तानले अम्रिका, बेलायत ढाकून्।
फेरी चाडबाड आउँदैछन्
हामी बूढाबूढी
पालीमुनि चकटी ओछ्याएर
बलेनीसम्म खुट्टा पसारेर
पुराना दिनहरू सम्झन्छौं
बुढी औला भाँच्दै के के बरबराउँछे
म त त्यति पनि गर्न सक्दिन
किनकी
जिन्दगीको हिसाबमा
औंला भाँच्दा भाँच्दै
आँख्लामा बाथ पसिसकेछ।
औंला खुबै भाँचिन्थ्यो
गन्नका लागि केवल
दशैं, तिहार, औंसी, संक्रान्ति
पैंचो र पर्मका हिसाबहरू।
तर अहिले
औंलाको टुप्पो ठोसेर
मोबाइल क्यालकुलेटरका टुटिल्कामा
गन्छन्-
अरब, मलेशिया, साउदी र कतारबाट
हड्डी मक्याएर, शरीर निचोरेर
आगोको भुंग्रोमा पसेर झिकेका
दिराम, रियाल र दिनारहरू
कहिले आउला र किनुँला
शान झार्ने गरी छिमेकको
आइफोन, एलसिडी टिभी
अनि भाले मोटरसाइकलहरू।
चाड आउँथ्यो,
एक हर्पे घ्यू, एक चौंठी तेल
एक कोर्को सिन्की
केही सेल, ठोकने, फिनी र अनरसाहरू
सोली भरेर
छोरीका लागि पाहुर हुन्थे
घर फर्कँदाको साँझ
माइतीको पाहुर गर्वले बाँड्थी छोरी
अहिले ऊ आउँछे
हाम्रा हातगोडा चल्दैनन्
फर्कँदाको दिन
एक कार्टुन चाउचाउ
एक पाकेट किटक्याट
केही लेजका पोकाहरू
प्लाष्टिकमा झुन्डाएर फर्कन्छे।
दिनभर रोपाइँ गरेर
हामीले अर्नि खाने
सेराको चाक्लो ढुङ्गामा
केही हिले गिद्धहरू
गँडेला माछा र गँगटाको शिकार गर्छन्,
जुन खेतका भङ्गाला थुन्न
मैले ढुङ्गा बोक्दा
ढाड सड्काएको थिएँ
खुट्टाको गोलीगाँठा फुटाएर
आफैलाई कुँज्याएको थिएँ
त्यसै खेतको
पाँच मुरे गरोमा
बुकीहरू फुस्रै फुल्दै
मलाइ नै गिज्याउँछन्।
बाटो भाट्टिएको छ
बगरमा बयर लदाबदी छ
अचेल कसैको पछ्यौरी अड्कन्न त्यहाँ
डमराइ, ऐँसेलु र खजुरीहरू
पाक्छन् र फ्यातफ्यात खस्छन्
कसैका छाला चिमोट्न
पाउन्नन् अचेल तिनीहरू।
तीस हाते कटेरोको
एउटा छेउमा
एउटा भैँसी छ, एउटा गोरू छ
भोकले दाम्ला छिनाल्न खोज्छन्
तर घरकी बुहारी
मोबाइलमा भिडियो क्लिप हेर्न
दिउसै ढोका थुनेर बस्छे,
अर्की एक बेत ब्याउने बित्तिकै
पहिली नातिनी
हामीले राम्ररी सुमसुम्याउन नपाउँदै
शहर पसी, नानी च्याँपेर
पढाउन लगेकी रे
मानौं ऊ
आमाको पेटबाट
स्कुल जान दगुर्दै झरेकी होस्
घर बाख्रो व्याएको छ
आँगनमा पाठापाठी उफ्रँदा
तिनैलाई सुम्सुम्याउँदै हामी
नातिनातिनीको अत्यास मेट्छौं।
घर रित्तिएपछि
मुसाहरुको जुलुस
भित्रै आएर तोडफोड गर्छ,
बिरालाहरु तर चोर्छन
अनि छानामा गएर
रापिलो घाममा सुत्छन्
हाम्रो नीद समेत खोसेर।
अस्ति भर्खरै
टाकुरे बुढा खसे
गाउँमा
मुस्किलले पाँच-जोर बूढाबूढी
र दुई बुहारीहरू जुटे
मलामी जाँदा बाटैमा
ठूलाघरे बुढा लोटे
घाटबाट फर्कँदा पनि
हाम्रा काँधले फुर्सद पाएनन्
छोरो अम्रिका छ रे
उसको डलरले थाप्दैन काँध
अस्पत्ताल पु-याउने छैन कोही
कुँजिएका छन् बुढा
छोरो विदेशमा
डलरका पछिपछि
आँधी झैं कुँदिरहेछ।
अघि आसिक दिन्थे-
सन्तानले डाँडाकाँडा ढाकून्
अहिले गाउँमा को नै जन्मन मान्छ र?
गाउँमै बस्ने दुई तीन जोडी छन्
दशैंको टीकामा सबैले आसिक दिन्छन्-
सन्तानले अम्रिका, बेलायत ढाकून्।
फेरी चाडबाड आउँदैछन्
हामी बूढाबूढी
पालीमुनि चकटी ओछ्याएर
बलेनीसम्म खुट्टा पसारेर
पुराना दिनहरू सम्झन्छौं
बुढी औला भाँच्दै के के बरबराउँछे
म त त्यति पनि गर्न सक्दिन
किनकी
जिन्दगीको हिसाबमा
औंला भाँच्दा भाँच्दै
आँख्लामा बाथ पसिसकेछ।
-सान-सेवास्टीयन, स्पेन
२५ जुलाई, २०१३
Labels: कविताहरू, कथा, यात्रा संस्मरण, जागरण गीत
कविताहरू
सबै भन्दा विषालु प्राणी
सबै भन्दा विषालु प्राणी
फूलले भन्यो-
"मेरो सुगन्ध
मेरो सौन्दर्य
सुँघ र हेर परैबाट
जीवनको रङ छाम्नेछौ हृदयले"।
मैले भनें- "तिमी मेरै ह्वौ"
र दिएँ एक विषालु चुम्बन
फूल मुर्झायो, झुक्यो र लत्र्यो
सौन्दर्यको हत्या गरेर
रङहरूलाई रूवाएँ
अनि
परपीडक मुस्कान
अनुहारमा बोकेर हिंडे,
मान्छेले मात्र गर्छ
सपना, फूल र रङका
असंख्य हत्याहरू।
पहाडले भन्यो-
आरोह-अवरोहबीचको
अटल आस्था हुँ म
लेऊ , लक्ष्य सार्थक जीवनको
स्वीकार सधैं उतारचढावहरू
अनि भेदन गर लक्ष्य आफ्नो
मैले सोचें-
मैले उकालो ओरालो गर्ने पहाड
मेरा लागि हो, मेरै हो
अनि उखेलें रूखहरू, बेचें ढुङ्गाहरू
ताछेर भित्ता पहाडको
चोक्ट्याएँ कित्ताकित्ताहरूमा
पहाडको आत्मा भत्केपछि
आलो घाउका पाप्राहरू
नदीको मुखमा बिसायो पहाडले
नदी फुट्दाको रात
बस्तीहरू सहित
जलसमाधि भयो गरिबहरूको
गुलाबी जामा पहिरेकी
सुकोमल केटी
जोर्ते ढुङ्गाको चेपमा भेटिई।
नदीले भन्यो-
मेरा तरङ्गहरू
मेरा प्रवाहहरू
आधार हुन् मानव सभ्यताका
आश्रय हुन् जलथलचरका।
मैले भने-
"तिम्रा तरङ्गहरू
मेरै जीवनका तरङ्ग झैं त हुन्
त्यसैले तिमी मेरै दास ह्वौ"
उसले प्राण दिएथ्यो
बदलामा
मैले दिएँ-
मयल, मलमूत्र, बेपारी रसायन
अनि सबै मेरा विकारहरू
नदी शहीद भएपछि
ढलको अवतार लियो
सबैका घाँटीहरू
प्यासले निचोर्दा
मैले बेचिरहें-
मिनरलका ल्याउयुक्त बोत्तलहरू।
जूनले भन्यो-
म मोहनी हुँ रातकी
म प्रेरणा हुँ कविहरूकी
मेरै अनुहार लगेर
प्रेयसीका मुखमा टाँसी माग्छन्
बैशालु जीवनहरू।
मैले भने-
"ए! तिमी त मेरै प्रेयसी ह्वौ
मेरै हक लाग्नुपर्छ तिमीमाथि"
अर्बौं भोकाहरूको पेट काटेर
खर्बौ खर्चेर पठाएँ रोबोट
तिमीमाथि धावा बोल्न
अन्तरिक्ष यानको नङ्ग्राहरूले
तिम्रा गालाहरूमा चिथोर्दै
रक्ताम्य पारेको रात
म हाँसे दाह्रा देखिने गरी
र उफ्रें विजयोन्मादले
अनि आफै पुरस्कार घोषणा गर्दै
आफै लिएँ र अट्टहास गरें
शायद,
ईश्वरको सृष्टिको
सर्वाधिक बिषालु प्राणी
मै हुँ, मान्छे नै हुँ।
"मेरो सुगन्ध
मेरो सौन्दर्य
सुँघ र हेर परैबाट
जीवनको रङ छाम्नेछौ हृदयले"।
मैले भनें- "तिमी मेरै ह्वौ"
र दिएँ एक विषालु चुम्बन
फूल मुर्झायो, झुक्यो र लत्र्यो
सौन्दर्यको हत्या गरेर
रङहरूलाई रूवाएँ
अनि
परपीडक मुस्कान
अनुहारमा बोकेर हिंडे,
मान्छेले मात्र गर्छ
सपना, फूल र रङका
असंख्य हत्याहरू।
पहाडले भन्यो-
आरोह-अवरोहबीचको
अटल आस्था हुँ म
लेऊ , लक्ष्य सार्थक जीवनको
स्वीकार सधैं उतारचढावहरू
अनि भेदन गर लक्ष्य आफ्नो
मैले सोचें-
मैले उकालो ओरालो गर्ने पहाड
मेरा लागि हो, मेरै हो
अनि उखेलें रूखहरू, बेचें ढुङ्गाहरू
ताछेर भित्ता पहाडको
चोक्ट्याएँ कित्ताकित्ताहरूमा
पहाडको आत्मा भत्केपछि
आलो घाउका पाप्राहरू
नदीको मुखमा बिसायो पहाडले
नदी फुट्दाको रात
बस्तीहरू सहित
जलसमाधि भयो गरिबहरूको
गुलाबी जामा पहिरेकी
सुकोमल केटी
जोर्ते ढुङ्गाको चेपमा भेटिई।
नदीले भन्यो-
मेरा तरङ्गहरू
मेरा प्रवाहहरू
आधार हुन् मानव सभ्यताका
आश्रय हुन् जलथलचरका।
मैले भने-
"तिम्रा तरङ्गहरू
मेरै जीवनका तरङ्ग झैं त हुन्
त्यसैले तिमी मेरै दास ह्वौ"
उसले प्राण दिएथ्यो
बदलामा
मैले दिएँ-
मयल, मलमूत्र, बेपारी रसायन
अनि सबै मेरा विकारहरू
नदी शहीद भएपछि
ढलको अवतार लियो
सबैका घाँटीहरू
प्यासले निचोर्दा
मैले बेचिरहें-
मिनरलका ल्याउयुक्त बोत्तलहरू।
जूनले भन्यो-
म मोहनी हुँ रातकी
म प्रेरणा हुँ कविहरूकी
मेरै अनुहार लगेर
प्रेयसीका मुखमा टाँसी माग्छन्
बैशालु जीवनहरू।
मैले भने-
"ए! तिमी त मेरै प्रेयसी ह्वौ
मेरै हक लाग्नुपर्छ तिमीमाथि"
अर्बौं भोकाहरूको पेट काटेर
खर्बौ खर्चेर पठाएँ रोबोट
तिमीमाथि धावा बोल्न
अन्तरिक्ष यानको नङ्ग्राहरूले
तिम्रा गालाहरूमा चिथोर्दै
रक्ताम्य पारेको रात
म हाँसे दाह्रा देखिने गरी
र उफ्रें विजयोन्मादले
अनि आफै पुरस्कार घोषणा गर्दै
आफै लिएँ र अट्टहास गरें
शायद,
ईश्वरको सृष्टिको
सर्वाधिक बिषालु प्राणी
मै हुँ, मान्छे नै हुँ।
२ अगस्ट, २०१३
सान सेबाष्टियन, स्पेन।
Labels: कविताहरू, कथा, यात्रा संस्मरण, जागरण गीत
कविताहरू
बाचा- जागरण गीत
बाचा
बाचा गर्छु कमिशन र घुस खान्न म - २
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म --२
असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्माऽमृतं गमय ।। (कोरस)
कर्णालीका लहरमा भाग्य खोजुँला - २
सुनकोशीको बगरमा सुन खोजुँला -२
दाजुभाइका पसिनाले नुहाउन्न म,
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।१।। बाचा.....
हत्केलामा हिमालको हाँसो पोतुँला-२
तराईमा हाँसीखुसी खेत जोतुँला - २
भाग खोसी निमुखाको अन्न खान्न म,
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।२।। बाचा.....
कर तिर्छु राज्यलाई ग्राहक ठग्दिन -२
पाखुरामा विश्वास गर्छु भीक्षा माग्दिन -२
जनतालाई कंगाल पारी चैन लिन्न म,
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।३।। बाचा.....
नियम पैले आफू मान्छु अनि पढाउँछु-२
चरित्रलाई रोज्छु स्वाभिमान बढाउँछु -२
अरुको बास उठाएर धनी हुन्न म
नेपाल आमा ! नेपालीलाई धोका दिन्न म ।।४।। बाचा.....
सान सेवाष्टियन, स्पेन
Labels: कविताहरू, कथा, यात्रा संस्मरण, जागरण गीत
गीतहरू
भन्छिन नेपाल आमा -जागरण गीत
भन्छिन नेपाल आमा
घर कहाँ घर हुन्छ आफ्नै भाइ फुटेपछि
छिमेकीको गाई चर्छ बारबन्धन टुटेपछि
अब आँखा उघार
भन्छिन नेपाल आमाले -२,
सन्तान हो ! आफ्नो घर आफै सिंगार ।।१।।
घर कहाँ रहन्छ र डाँडाभाटा थुत्यो भने
घरमूलीले लुकिछिपी ढुकुटी नै लुट्यो भने
खै त विवेक विचार ?
भन्छिन नेपाल आमाले -२,
सन्तान हो ! आफ्नो घर आफै सिंगार ।।२।।
घरको जग खोक्रो पारी धूरीमाथि चढेपनि
आफ्नै संस्कृतिलाई मासी विदेशी मात चढेपनि
नेपाली त्यो हुन्छ र?
भन्छिन नेपाल आमाले -२,
सन्तान हो ! आफ्नो घर आफै सिंगार ।।३।।
ठाँटिएरै हिंडेपनि लथालिंग घर हुनेलाई
नेपाली भै ठाडो शिर गरी बोल्न डर हुनेलाई
इज्जत कसले दिन्छ र?
भन्छिन नेपाल आमाले -२,
सन्तान हो ! आफ्नो घर आफै सिंगार ।।४।।
जेठा छोरा इटा बोक, कान्छो खाँवा बोकी आओस्
माहिलोले बार बाँध, साहिंलोले छाना छाओस् ।
छोरी घर सिंगार ।
भन्छिन नेपाल आमाले -२,
सन्तान हो ! आफ्नो घर आफै सिंगार ।।५।।
१ फेब्रुअरी २०१३
सान सेवाष्टियन, स्पेन
Labels: कविताहरू, कथा, यात्रा संस्मरण, जागरण गीत
गीतहरू
Subscribe to:
Posts (Atom)
Popular Posts (लोकप्रिय रचनाहरू)
-
यो तीज, त्यो तीज निधारमा एउटा सप्रेको बखडा जत्रो सेतो कोठी भएका ती बुढा पिढीमा कुम्लो राखेर खुइय्य गर्दै पसिना पुछ्थे ।कालो डोरी आका...
-
हाम्रा नवयूगका कविहरू हाम्रा कविहरु - यी निराशाका पुन्जहरु हाम्रा कविहरु - यी शोकका सुस्केराहरु सधै सधै उच्छ्वासका राग अलाप्छन यी न्या...
-
आमा , औला र वाणीहरू आमा ! म जति वाचाल होऊँ, विद्वान होऊँ एक चित्कार च्याहाँ बाहेक के लिएर आएँथें र? तिमी त हौ, जसले पहिलो ...
-
पाँच मिनेट (कृपया नबुझिएका शब्दावलीको अर्थ कथाको अन्तमा पादटिप्पणीमा हेर्नुहोस्) “नौ बज्न दश मिनटमात्र बाँकी छ । आठ पच्पन्नमा त एक्सप्...
-
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा रातको सवा १० बजे सचिव श्री कृष्णहरि बास्कोटाको पछि पछि लागेर प्रवेश गर्दा त्यहाँ सचिवको ...
-
हामी र उनीहरू ती जुध्थे, पछारिन्थे र खरानीको थुप्रोबाट फेरी बैारिन्थे डार्बिनले भनेझैं साँच्चि ती बाँदरका सन्तान थिए, तिनकहाँ ब...
-
सपना कतिपय “आऊ, हात मिलाऊ”– मैले भने “अहँ, तिमी मेरो पार्टीको हैनौ”– उसले भन्यो “हाम्रो स्कूलका लागि ढुङ्गा बोकौं” “अहँ, हाम्रो नेताले ...
-
मृत्यूदेखि नडराऊ यदि छोराको स्वार्थका लागि छोरीको भविश्य रेटेका छैनौ भने छोरीलाई काँधमा चढाएर बुहारीलाई जुत्ताले कुल्चेका छैनौ भने झ्या...
-
उदास चन्द्रमा जुनेली रातमा म निशासँग लुकामारी खेल्थें, मेरी चाँदनी उसको मादक आभामा मसक्क मस्किएकी हुन्थी, क्षयीकरण होस् वा सघनीकरण ...
-
छायाँ र प्रतिविम्बहरु शुक्रवारे यो साँझ, गिर्जाघरको घन्टाले ६ थप्पड लगाउँछ, उरुम्या नदी किनार १ मा लहरै चम्किन्छन् रंगीन प्रकाशहरु लहर...